अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३७ | Colorodo: 16:52

कतार विश्वकप फुटबलमा ३२ टिम मात्रै सहभागी हुने

बिआरटीनेपाल २०७६ जेठ ९ गते ६:५४ मा प्रकाशित

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलमा पुरानै ढाँचा अनुसार ३२ टोलीले मात्रै प्रतिस्पर्धा गर्ने भएका छन् । विश्व फुटबल महासंघ फिफाले विश्वकप २०२२ मा ४८ टोली सहभागी गराउने योजना रद्द गरेसँगै विश्वकपमा ३२ टोली मात्रै हुने निश्चित भएको हो ।

विश्वकपमा ४८ टोली सहभागी गराउने योजना अब २०२६ को विश्वकपबाट मात्रै लागु हुनेछ । कतार विश्वकपमा सहभागि संख्या बढाउँदा खेलस्थल, व्यवस्थापन लगायतको समस्या आउने देखिएपछि तत्कालका लागि योजना होल्ड गरिएको हो ।

विश्वकपमा सहभागि टोली बढाउँदा कतारले अरबका अन्य छिमेकी मुलुकसँग मिलेर प्रतियोगिता आयोजना गर्नुपर्ने बाध्यता थियो । तर कतारमाथि छिमेकी मुलुकहरु साउदी अरबिया, युएई र बहराईनले नाकाबन्दी लगाईरहेकोले विश्वकपमा सहकार्य अस्वभाविक देखिन्थ्यो ।

फिफाले अन्य छिमेकीहरु ओमन र कुवेत तत्काल विश्वकप आयोजना गर्न प्राविधिक हिसाबले असमर्थ देख्यो । यसले ९ वर्षदेखि विश्वकपको तयारी गरिरहेको कतारलाई समस्या आउनसक्ने देखिएपछि फिफाले सहज माहोल बनाएको हो । फिफाको निर्णयको स्वागत गर्दै कतारले आफ्नो देशमा हुने विश्वकप ३२ टोली सहभागि विश्वकपमध्ये अहिलेसम्मकै उत्कृष्ट बनाउने दावी गरेको छ ।

प्रतिक्रिया