अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०३ | Colorodo: 05:18

अमेरिकी राजदूतको ‘जनतासँग गफगाफ’प्रति सांसदहरु असन्तुष्ट

बिआरटीनेपाल २०७६ जेठ ८ गते ८:३३ मा प्रकाशित

अमेरिकी राजदुत र्याण्डी बेरीले संचालन गर्न लागेको ‘जनतासँग गफगाफ’ शीर्षकको संवाद कार्यक्रमप्रति सांसद्हरुले आपत्ति जनाएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदुत र्याण्डी बेरीले ‘जनतासँग गफगाफ’ संवाद कार्यक्रम संचालन गर्न लागेकोमा असन्तुष्टि जनाउनुभयो । वरिष्ठ नेता नेपालले अन्तर्राष्ट्रिय ‘प्राक्टिस’ मै नभएको त्यस्ता संवाद कार्यक्रम कूटनीतिक मर्यादा विपरित हुने भएकाले संचालन नगर्न पनि राजदूत बेरीको ध्यानाकर्षण गराउनुभयो । बुधबार संघीय संसद परिसरमा संचारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले कूटनीतिक मर्यादाको पालना ठूला देशले पनि गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

सत्तारुढ नेकपाकै अर्का नेता भीम रावलले कूटनीतिक मर्यादाविपरीत गएर अमेरिकी राजदूत बेरीले नेपाली जनतासँग प्रत्यक्ष रुपमा संवाद गर्ने खालका कुनै पनि गतिविधि गर्न नमिल्ने प्रतिक्रिया दिनुभयो । उहाँले कूटनीतिक क्षेत्रको कानुन, मर्यादा कुनै पनि दृष्टिले राजदूत बेरीलाई सो संवाद कार्यक्रम संचालन गर्ने अनुमति नरहेको दावी गर्नुभएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारको अनुमतिविना अमेरिकी राजदूत बेरीले जनतासँग प्रत्यक्ष रुपमा गएर कुनै पनि कार्यक्रम गर्न नमिल्ने स्पष्ट पार्नुभयो ।

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारसँग अनुमति नलिई राजदूत बेरीलाई सो संवाद कार्यक्रम संचालन गर्ने अधिकार नभएको बताउनुभयो । अमेरिकी राजदूत बेरीले आगामी सोमबारबाट सुरु गर्न लागेको ‘राजदूतसँग गफगाफ’ संवाद कार्यक्रमको सन्देश उहाँकै फेसबुक पेजमार्फत् सार्वजनिक भएपछि त्यसको विरोध हुन थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू