अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१२ | Colorodo: 12:27

जिउँदो मान्छे खोज्दै दरबारमा

किशोर सापकोटा २०७६ जेठ ७ गते ९:५२ मा प्रकाशित

कथा

भरखर भरखर जङगबहादुर राणा प्रधानमन्त्री भएका थिए । उनलाई राजाले भन्दा राणाले जनतालाई धेरै महत्त्व दिन्छन्, जनताको पिर मर्का बुज्छन भन्ने देखाउनु थियो । जनताले कुनै पिर मर्का भए गाउँका अध्यक्ष मार्फत तुरुन्त सरकारलाई खबर गर्नु भन्ने आह्वान गरिएको थियो । नयाँ जोगीले धेरै खरानी घस्छ भने झै भारदारहरुपनि जनताको काममा बढी जोड दिएको जस्तो गर्दथे भने जनता पनि अब पक्कै केही परिवर्तन हुन्छ भन्ने आशामा थिए ।

दौडँदै, हड्बडाँउदै कुलबहादुर राणा दरबार, प्रधानमन्त्री निवासको गेटमा आएर रोकियो । जुत्ताबाट निस्किएको गोडाको औँला हल्लाउँदै, अनुहारको पसिना पुछ्दै गेटपालेलाई सोध्यो प्रधानमन्त्रीको घर यही हो ? गेटमा बसेका सिपाहीले हाँस्दै भने हो, किन केही काम छ ? हो काम छ, म महाराजलाई भेट्न आएको, कताबाट जाने हो, अहिले हुनुहुन्छ की हुनुहुँदैन ? उसले निर्धक्क भए जस्तो गरेर भन्यो । त्यहाँ भएका सबै गलल्ल हाँसे । उसले मन कागती भन्दा पनि अमिलो बनायो ।

पहिलाको लमजुङ, अहिलेको कास्की, नयाँ कास्कीको मादी पारीको गाउँ ताका डाँडा बाट हिडेदेखी लगाएको एउटा फाटेको सर्ट र उध्रिएको पाइन्ट फेर्न पाउने कुरा भएन, एक हप्ता देखी लगाएका मोजा कति गनाएका हुदाहुन । मुख धुने पानी त पाउन मुस्किल भएको उसलाई एक हप्ता सम्म ननुहाउँदा उसको शरीरबाट एक किसिमको गन्ध आइरहेको थियो । उसको लबाइ खबाइ देखेर नै त्यहाँका मान्छेहरूले उसलाई भित्र जान त परै जाओस् त्यहाँ बस्न समेत नदिउंला जस्तो गरेका थिए ।

तिमी त्यहाँबाट पर गइहाल त, अहिले फेरी ठुला मान्छेहरूको सवारी हुन्छ । किन भेट्न पर्‍यो तिमीले महाराजलाई, कतै गएर फोटोमा हेर वा त्यो चिया पसलको टिभीमा हेर भन्दै एउटा सिपाहीले धकेल्ला जस्तो गर्‍यो । सबै गलल्ल हाँसे । उ मलाई भेट्नै पर्ने छ भन्दै जबरजस्ती गर्न लाग्यो । अर्को सिपाहीले बन्दुकको चुच्चोले बाहिर तिर धकेल्दियो । यस्ता बन्दुक देखेर डराउने कुलबहादुर होइन भाइ, भोलि फेरी आउँछु भन्दै जताबाट आएको हो उतैतिर गयो कुलबहादुर ।

यो क्रमले आइतबार गयो, सोमवार सकियो, अनि हप्ता दिन पनि बित्यो । उसले सापटी गरी गरी ल्याएको खर्च सकिन लाग्यो , जीउ सुकेर सुके नाश लागेजस्तो भयो , बास बसेको पुल मुनिको भाग पनि भुस्याहा कुकुरहरूले कब्जा गरे । यो तरिकाले त मैले यो सरकारलाई भेट्न सक्दिन । त्यसै फर्किनुपर्ला जस्तो छ भन्दै विरक्तिन लाग्यो । सुत्न भनेर एस्सो पल्टिएको के थियो एउटा आइडिया फुर्‍यो । भोलि त जसरी पनि भेट्छु मुन्तिरीलाई ।

बिहान सबेरै उठ्यो । बोतलको अलिकति पानी निकालेर मुख धोयो, हिजो खाएर बाँकी रहेको पाउरोटी र एउटा जुस खायो अनि लाग्यो नियमित डिउटी तिर । दरबार पुग्नु भन्दा अलि नजिकको सैलुनमा छिर्‍यो, कपाल कोर्‍यो अनि हानियो सिधै श्री ३ महाराज जङगबहादुरकोे निवासको गेट तिर । 

म प्रधानमन्त्रीको भारदारको गाउँको मान्छे हु , मेरो बुवा र प्रधानमन्त्री केटाकेटीका साथी हुन । मलाई बाले नै भेट्न पठाएका हुन । अहिले घरमा हुनुहुन्छ की हुनुहुन्न ? मलाई भेट्न दिनु होस । उसले साँच्चै हो की जस्तो गरेर भन्यो । तर उसले ढाँटेको हो भन्ने हुरा उसको अनुहारबाट प्रस्ट देखिन्थ्यो ।

तर उसको यो प्रयास पनि सफल हुन सकेन । त्यहाँ मध्यको एउटा गार्ड पहिले कै थियो । उ परै भए पनि दौडँदै त्यहाँ आइपुग्यो अनि उसलाई हेर्दै नहेरी तलाई अझ बढी कुरा गर्छस् ? हैन है केटा हो , यो खाते एक हप्ता देखी आइरहेको छ, कहिले के भन्छ कहिले के भन्छ । यसलाई लखेटी देऊ । तँ हाम्रो महाराजलाई झिस्काउछस ? तँलाई माथि जान मन छ क्या हो ? कुले रिसले चुर हुँदै फर्कियो । ढाँटेको कुरा र फाटेको लुगा कहाँ लुकाउन सकिन्छ र? मेरो यो आइडिया पनि काम लागेन । म अब त्यतिकै फर्किनु पर्छ जस्तो छ । पहिलेको जस्तै फेरी आज पनि सुत्नु भन्दा अगाडी घोत्लिएर सोच्न थाल्यो । एउटा आइडिया निकाल्यो , हेरौँ , अब यो आइडिया ले काम गर्छ की गर्दैन । जे भए पनि यो हप्ता यतै बस्छु , अर्को हप्ता फर्किनै पर्छ ।

यसै प्रकारले यो हप्ता पनि बित्न लागेको थियो । तर एक दिन उ भित्र छिर्न पायो । संयोगवश त्यो दिन त्यहाँ पहिलाको कोही पनि गार्ड थिएनन् । म प्रधानमन्त्रीको भारदारको मान्छे हुन् , मेरो बाबा प्रधानमन्त्रीको केटाकेटीको साथी हो भने पछि एउटा गार्डले आफैँले लगेर प्रधानमन्त्रीको भेटघाट कोठा अगाडी लगेर राखिदियो । एउटा कागजको टुक्रामा कुलबहादुर भन्ने नाम लेखेर भित्र दियो अनि ल तपाइलाई बोलाए पछि मात्र जानुहोला भनेर त्यो गार्ड बेपत्ता भयो ।

एक घण्टा बित्यो, दुइघन्टा बित्यो , तीन घण्टा बित्यो भित्रबाट कसैले बोलाउदैनन । खानदानी ठाँटबात सहित बसेका त्यहाँका सबै मान्छे प्रधानमन्त्रीलाई भेटेर फर्किसके , के मलाई बिर्सिएका त होइनन् ? उसको मनमा चिसो पस्यो । उ नबोलाए पनि जान्छु, यहाँ सम्म त आइपुगेँ भने अब कसले पो रोक्ला र भन्दै भित्र छिर्‍यो । साँच्चै समय नलिइकन आएको उसलाई बोलाउन बिर्सिएका नै रहेछन् । उ फुत्त भित्र छिरी हाल्यो । ए ल कुलबहादुर भन किन आएको ? के समस्या पर्‍यो ? सरकार हाम्रो गाउँमा कोइ पनि जीउदो मान्छे छैनन् । म जीउदो मान्छै खोज्न आएको । के भनेको त्यस्तो, के भयो र तिम्रो गाउँमा त्यस्तो विपदको समाचार त केही आएको छैन त । कुन हो तिम्रो गाउँ भन त जङगबहादुर कड्कियो । यो गेटमा बस्ने मान्छेले पनि कस्ता कस्ता मान्छे पठाउँदा रैछन । को छ आज गेट पाले, तलाई पख्लास् ।

नयाँ कास्की ताका डाँडा भन्ने गाउँ हो मेरो । त्यहाँ कोही पनि जीउदो मानिस छैनन् अहिले । बिपतै पर्‍यो महाराज । के बिपत पर्‍यो त्यस्तो । फिर्के बहादुर, त्यहाँको अध्यक्ष त हाम्रै भारदारका मान्छे हुन । अस्ति मात्र आवामा कुरा भएको थियो ।

हे सरकार, हाम्रो गाउँमा कोही पनि जीउदो मान्छे छैनन्, छन् त थुप्रै छन् खानका कालहरु, कोही दानव छन् त कोही जीउदै मरेका लासहरू मात्रै छन्, जीउदो मान्छे कोही छैनन् । त्यो फिर्केको त कुरै नगर्नुहोस महाराज । त्यो त दानव हो दानव । तल्लो टोलकी ऐसेलुलाइ त्यही फिर्केको छोराले बलात्कार गर्दो रहेछ । मङिसरमा बिचरी दुई जीउ की भइछ, त्यही फिर्केले गुन्डा लगाएर मारेछ । अझ दुखको कुरा त कर्तव्य मुद्दा लगाएर माथिका मान्छेको भनसुन गरेर बिचरा बिरे दमाईलाई पो जेल कोचेछ । बिहे गरेको पाँच वर्ष सम्म आफ्नी श्रीमतीलाई त पेट बोकाउन नसकेको त्यो बिरेले के त्यस्तो गथ्र्यो र ? अनि बिहान खाए बेलुका के खाँ उ भन्ने अवस्थाको त्यो बिरेको बाउले कसरी बनाउन सक्यो अर्को महिनामा तिन तिन तलाको बडेमानको घर ? त्यही फिर्केले पैसा दिएर किनेको रे । पैसा भयो भन्दैमा जे पनि किन्न पाइन्छ ? अनि त्यो सबै जानी जानी चुप्प लाएर बस्ने सारा गाउँका मान् छेलाइ कसरी जीउदो मान्छे भन्ने महाराज ? ती सबै जीउदा लासहरू हुन । खानका कालहरु । अझ मलाई त त्यो फिर्केले सिधै पागल रे , फेरी यो कुरा उठाइस् भने सिधै माथि पुर्‍याइदिन्छु पो भन्छ गाँठे ।

त्यो माझखोलाको पुल मर्मत गर्ने भन्दै वर्षैपिच्छे पैसा लगेर खाँदा रहेछन् सरकार चार पाँच जना मिलेर । त्यो पुल नै नभएको ठाउँमा के को मर्मत गर्नु पर्‍यो ? मेरो बाबा माझखोलामा पुल नभएर वर्षामा सारा गाउँलेलाई दुख भयो, पुल बनाइदिनु पर्‍यो भनेर भन्न अड्डा जानुभएको त पुल त पहिले नै छ पो भने । फेरी करिब सबै गाउँलेलाई थाहा रहेछ तर चुप लागेर बसेका छन् , त्यस्ता मान्छे पनि जीउदा मान्छे हुन सक्छन् ? ती सबै जिउँदा लासहरू हुन सरकार । गाउँको विकास गर्ने भनेर थुप्रै पैसा जान्छ रे महाराज, तर चार पाँच जना मिलेर त्यो सबै पैसा खान्छन् , त्यस्ता कसरी जीउदा मान्छे भए हजुर । यो कुराले चाहिँ साँच्चै नै जङगबहादुरको मन छोयो । खोइत जीउदो मान्छे ? उसले यता उता नजर लगायो कोही पनि जीउदो मान्छे देखेन । कुलबहादुर भने झैँ उसले आफ्नो वरिपरि जो कोहीलाई हेर्दथ्यो कि त दानवहरू देख्थ्यो कि मरेका लासहरू । उ आफै जिउँदो मान्छे हो की मरेको लास हो की दानव हो कन्फ्यूज भयो ।

अस्ति भरखर इस्ट इन्डिया कम्पनीको डाइरेक्टरले नेपालको बोर्डर नजिकका सबै इन्डियनहरुलाई नागरिकता दे नत्र तँलाई हटाएर अर्को प्रधानमन्त्री बनाइदिन्छु भन्दा मैले त्यो व्यवस्था मिलाइदिएँ । अझ उसले त इन्डिया मा नै कार्यालय खोलेर सबैलाई बाँडिदे भनेको थियो , मैले त्यस्तो गर्दा मलाइ यहाँका भारदारले राम्रो मान्दैनन् भनेर नेपालकै बोर्डरमा कार्यालय खोलेर इन्डियनहरुलाई नागरिकता दिलाएको थिएँ । यस्तो राष्ट्र घाती काम गर्ने म कसरी जीउदो मान्छे भएँ ? उसले थुप्रै अरू कामहरू सम्झियो । आफ्ना भाइ भतिजा, छोरा छोरी, साला साली ले गरेका दिन दिनैका अपराधहरू सम्झियो जसलाई देखेपनि उ नदेखेको जस्तो गर्दथ्यो मानौँ उ केही पनि नदेख्ने अन्धो मान्छे हो । उसले आफ्नो फाइदाको लागी गरेका अनगिन्ती कामहरू सम्झियो जसले सारा देशलाई, जनतालाई घात गरी रहेका थिए । उसले थुप्रै घटनाहरू सम्झियो जसमा उसले राक्षसी स्वभावका मानिसहरूलाई नै सहयोग गरी रहेको थियो । यस्तै यस्तै कुराहरू सोचेर उ आफैँलाई पनि जीउदो मान्छे मान्न सकेन । कुल बहादुरको कुराले उसलाई नयाँ तरिका बाट सोच्न बाध्य तुल्यायो । अनि निराश अनुहार बनाउँदै कुलबहादुर तिर हेरेर भन्यो , तिमीले भने जस्तो हो भने त तिम्रो गाउँमा मात्र होइन सारा देशमा पनि जिउँदो मान्छे पाउन गाह्रो छ बालक । ल तिमी जाऊ, म तिम्रो गाउँमा जिउँदो मान्छे खोज्न पहल गर्ने छु भन्दै केही सिक्का कुलबहादुरलाई बक्सिस दिएर जङगबहादुर आफ्नो कोठामा छिर्‍यो , कुलबहादुर खुसी हुँदै घरतिर लाग्यो ।

कुलबहादुर गाउँको खबर महाराजलाई जानकारी गराउन नेपाल गएको खबर फिर्केले पहिले नै थाहा पाइसकेको थियो । उसका गुन्डाहरू त्यसै दिन देखी मादीको पुल नेर जाल थापेर बसेका थिए । बिचरा कुलबहादुरले आँफुले महाराजलाई भेटेर गाउँको पिर मर्का पोखेर आएको कुरा कसैलाई भन्न समेत नपाइ माछाको खाना भयो । फिर्केले अर्को एउटा टोली लाई कुलबहादुर हराएकोले खोजी दीन भनी सरकार समक्ष निवेदन दिन पठाएको रहेछ । श्री ३ महाराजलाई लेखिएको पत्रमा भनिएको थियो फिर्केको दाहिने हात, असाध्य नजिकको, सहयोगी कुलबहादुरलाई खोजी दिन फिर्के विनम्र अनुरोध गर्दछ ।

प्रतिक्रिया