अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२३ | Colorodo: 12:38

पाँचथरमा ९ जनाको विभत्स हत्या, अनुसन्धान जारी

बिआरटीनेपाल २०७६ जेठ ७ गते ९:१३ मा प्रकाशित

पाँचथरमा ९ जनाको विभत्स हत्या भएको छ । स्थानिय मिक्लाजुङ गाउँपालिका–३, आरुबोटे भन्ने स्थानमा धनराज शेर्मा र बम बहादुर फियाकका दुई परिवारका ९ जनाको हत्या भएको हो । सोमवार मध्यराति घटना भएको पाँचथर प्रहरीले जनाएको छ ।

हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या रहेका छन् ।

पाँचथर सदरमुकामबाट करिब ३ घण्टाको दूरीमा पर्ने उक्त स्थानमा कसले र किन हत्या गर्यो भन्ने हालसम्म केहीपनि खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनाका प्रत्यक्षदर्शी १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारी अनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।

यसैवीच, मिक्लाजुङमा ससुरा र साढुदाई सहित नौजनाको विभत्स हत्या प्रकरणमा बमबहादुर फियाकका ज्वाँई तथा धनराज शेर्माका साढुभाई मान बं माखिम संलग्न रहेको प्रहरीले आशंका गरेको छ । ससुरा बमबहादुर फ्याक र साढुदाइ धनराज शेर्मासहित नौजनाको हत्यामा मिक्लाजुङ–७ का मानबहादुर माखिमको संलग्नता रहेको प्रहरी र स्थानीय जनप्रतिनिधिले आशंका गरेका छन् ।
घटनालगत्तै मानबहादुर आफ्नै गाउँ मिक्लाजुङ–७ लिम्बाको बुधबारेमा झुण्डिएको अवस्थामा भेटिएका थिए । बमबहादुरकी कान्छी छोरी मनकुमारीसँग बिहे गरेका मानबहादुर केही समयदेखि तनावमा रहेको प्रहरीको सुरुवाती अनुसन्धानले खुलाएको छ ।

मान बहादुरको शव रहेको स्थान नजिकै रगत लत्पतिएका कपडा र खुकुरी भेटिएकाले घटनामा उनको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको हो । यसअघि, मानबहादुर र उनका साढुदाइ धनराजबीच झगडा परेको गाउँलेहरुले बताएका छन् । माइतमा बसेकी पत्नी मनकुमारीसँग सम्बन्धविच्छेद गराउन खोजेको कुरामा मानबहादुरले साढुदाई धनराज र ससुरा बम बहादुरलाई दोषी ठानेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू