अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

बुद्धका उपदेश राष्ट्रिय एकताका मार्गदर्शन : राष्ट्रपति भण्डारी

बिआरटीनेपाल २०७६ जेठ ४ गते ७:२३ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश राष्ट्रिय एकताका लागि मार्गदर्शन हुने बताउनुभएको छ ।

गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीका अवसरमा विश्वभरका बौद्धमार्गी समुदायलाई शुभकामना दिदैं राष्ट्रपतिले आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्न मुलुकमा दिगो शान्ति र सुदृढ राष्ट्रिय एकता प्रमुख शर्त भएको बताउनुभएको छ ।

राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा आजको महत्वपूर्ण अवसरमा समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प साकार पार्न आ आफ्ना ठाउँबाट भूमिका निर्वाह गर्न सबैलाई आह्वान गरिएको छ । राष्ट्रपति भण्डारीले पवित्र भूमि लुम्बिनीमा जन्मेका राष्ट्रगौरव बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग परेको आजको दिनमा सबैमा एकापसमा सहिष्णुता, सद्भाव, अहिंसा एवम् विश्व शान्तिको अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

यसैगरी राष्ट्रपति भण्डारीले किराँत समुदायको महान् उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण राई, लिम्बू, याक्खा, सुनुवारलगायत किराँत समुदायमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि शुभकामना समेत दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू