अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२५ | Colorodo: 01:40

बहुदलीय जनवाद र नयाँ जनवादको संश्लेषण आवश्यकः नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ जेठ ३ गते ५:२३ मा प्रकाशित

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ संश्लेषण गरी पार्टी समाजवादतर्फ उन्मुख हुनुपर्ने बताउनुभएको छ । २६ औं मदन आश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्ष पुगेको अवसरमा शुक्रबार मदननगर बल्खुमा आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकास भएका घटनाक्रम तथा अनुभवका आधारमा कम्युनिष्ट आन्दोलनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय रुपमा माक्र्सवाद संकटमा परेको अवस्थामा मदन भण्डारीले तत्कालीन समाजमा वर्ग संघर्षलाई अन्त्य गर्न नयाँ विचारको प्रयोग गरेका कारण लोकप्रिय भएको अध्यक्ष प्रचण्डको भनाई थियो । पुराना सिद्धान्तलाई समयसापेक्ष विकास गरी कम्युनिष्ट आन्दोलनमा स्व.भण्डारीले वैचारिक दृष्टिकोण प्रदान गरेको स्मरण गर्दै प्रचण्डले नयाँ परिस्थिति अनुसार समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्ने राजनीतिक रणनीति विकास पार्टीले सक्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा सामाजिक न्याय, सामाजकि सुरक्षा, स्थायित्व र देश विकासको उद्देश्यले फरक परिवेशमा रहेका दुई पार्टी तत्कालीन एमाले र माओवादीबीच एकता भएको बताउँदै प्रचण्डले एकता भाड्नका लागि विभिन्न शक्ति केन्द्रबाट प्रयत्न भइरहेको र जनताको चाहना तथा नेतृत्वको सही दृष्टिकोणका कारण कसैको केही नलागेको दावी गर्नुभयो ।

एक वर्ष अगाडि दुई पार्टी एकीकरण गर्दा तीन महीनाभित्र एकता गरिने भनिए पनि प्राविधिक कारणले ढिलाई भएको उहाँको भनाई थियो । प्रचण्डले हालैमात्र जनवर्गीय संगठनको एकता गरिएकाले अब केही दिनमा जिल्ला अधिवेशन सहित केही महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने योजना रहेको उल्लेख गर्नुभयो । संंगठनको तल्लो तहसम्म जनतालाई जोड्ने र उत्पदनशील क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्ने, उनीहरुलाई विकास र समृद्धिको यात्रामा सहभागी गराउने पार्टीको योजना रहेको अध्यक्ष प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू