अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४१ | Colorodo: 23:56

बेइजिङ एक्स्पो, नेपाल मण्डपमा एक लाख दर्शक

बिआरटीनेपाल २०७६ जेठ २ गते ६:५४ मा प्रकाशित

चीनको राजधानी बेइजिङमा प्रारम्भ भएको एक्स्पो २०१९ मा प्रदर्शित नेपाली मण्डप अवलोकनकर्ताको सहभागिता बढेको छ । चीन भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत वैशाख १५ गतेदेखि नेपाली मण्डप हालसम्म एक लाख दर्शकहरुले अवलोकन गरिसकेको आयोजक इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपका राष्ट्रिय संयोजक विनायक शाहले जानकारी दिनुभयो ।

‘हरित जीवन – उत्तम जीवन’ मूल विषयवस्तुमा केन्द्रित रहेर आयोजित सो विश्व प्रदर्शनीमा ‘लुम्बिनी शान्ति बगैचा’ निर्माण गरी बुद्ध जन्मिएको देश नेपालमा प्रकृति र जीवनबीच रहेको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरिएको आयोजक संस्थाका अध्यक्ष तथा डेपुटी कमिश्नर जनरल (टेक्निकल) अमृत शाक्यले बताउनुभयो । १५ फिट अग्लो ध्यानमग्न बुद्धको विशाल भूर्ति बीचमा राखेर नेपालको अथाह कृषि, वन वनस्पति सम्पत्तिको शोधखोज एवं आर्थिक तथा व्यापारिक विकासका ठूला योजनाहरु भित्राउन चिनियाँ तथा अन्तर्राष्ट्रिय प्रविधि र लगानी आकर्षण गर्न प्रयास भएको राष्ट्रिय संयोजक शाहको भनाई छ ।

एक सय दश राष्ट्र तथा २४ अन्तर्राष्ट्रिय संस्थाहरु सहभागी सो विश्व प्रदर्शनी पाँच सय हेक्टर क्षेत्रफलमाझ फैलिएको छ । आउँदो कात्तिकसम्म चल्ने सो एक्स्पो १६ करोडले प्रत्यक्ष तथा विश्वव्यापी रुपमा एक अर्बभन्दा बढीले विभिन्न सञ्चार तथा प्रविधिका माध्यमबाट अप्रत्यक्ष रुपमा अवलोकन गर्ने बताइएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयोजनमा आधिकारिक आयोजक नियुक्त भएको इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपबाट सो विश्व प्रदर्शनीमा नेपालको सहभागिता एवं व्यवस्थापन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू