अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 06:50

दुईतिहाइको अहंकार छोडेर जनताको मन जित्न सरकारलाई नेता नेपालको सुझाव

बिआरटीनेपाल २०७६ जेठ १ गते ५:५७ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अंहकार छोडेर जनताको मन जित्ने काम गर्न सरकारलाई सुझाव दिनुभएको छ । युवा संघ नेपालको २९ औँ वार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अंहकारी दृष्टिकोण, गलत चिन्तन र सर्वश्रेष्ठताको भ्रमले पतन तर्फ डोर्याउने भन्दै कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाएर लोकप्रिय बनाउने तर्फ गम्भीर बन्न सुझाव दिनुभएको हो ।

नेता नेपालले बहुमतको अंहकारमा नपर्न पनि सरकारलाई सचेत पनि गराउनुभएको छ । अहिले सम्पूर्ण कम्युनिस्ट नेताको आचरण र व्यवहारमाथि नै परिक्षण भइरहेको भन्दै नेपालले आचरण र व्यवहारका कारण नै विकृति फैलिएको त छैन भन्ने तर्फ विचार पुर्याउन नेतृत्वको ध्यानाकर्षण गराउनुभयो । सिद्धान्तको अध्ययन र विचारलाई ग्रहण गर्दै संस्थागत नियम र विधिको पालना गरी संगठनात्मक जिम्मेवारीसहित अघि बढाउन उहाको आग्रह थियो ।

नेपालले सामाजिक न्याय सहितको सम्मृद्धि मुठ्ठी भरको जमातका लागि नभएको भन्दै शिक्षा, रोजगारी तथा जनतासँग जोडिएको गाँस, बासका विषयलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । समाजवादको कुरा गर्दा सोभियत संघ विघटन भएर पतन भएको, चीन ठुलो संकटमा पुगेर पनि नयाँ गतिका साथ अघि बढेको प्रसंग उल्लेख गर्दै नेता नेपालले कमजोरी खोज्ने र हटाउने बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले चुनावदेखी नै प्रगति गरेको भए पनि यथेष्ट प्रगति नभएको भन्दै दुई तिहाईको दम्भमा बस्ने अवस्था नरहेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू