अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०७ | Colorodo: 04:22

अध्यक्षका प्रत्यासी सुनिल शाहसँग बहस कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७६ वैशाख ३१ गते २२:०० मा प्रकाशित

अमेरिकामा एनआरएनए निर्वाचन अध्यक्षका प्रत्यासी सुनिल शाहसँग विशेष बहस कार्यक्रम हिजो मे १३ सोमबार याक एण्ड एती रेस्टुरेन्ट डेनभरमा सम्पन्न भएको छ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति अमेरिकाको आसन्न निर्वाचनलाई लक्षित गरी कोलोराडोमा एनआरएन कोलोराडो च्याप्टरद्वारा आयोजनामा अध्यक्ष  उम्मेदवारको बहस कार्यक्रम सम्पन्न भएको हो ।

वर्तमान एनआरएन एन कोलोराडो च्याप्टर अध्यक्ष राज ढुङ्गानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा च्याप्टर सचिव आर सी पन्तले स्वागत मन्तव्य गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष सुनिल शाहले संस्थालाई गर्व गर्ने लायकको बनाउनु मेरो पहिलो प्राथमिकता हो भनेर भने ।

शाहलाई सहभागी सरोकारवालाहरूले विभिन्न प्रश्न सोधेका थिए । कार्यक्रममा प्रश्नहरूको प्रत्यक्ष जवाफ उनले दिएका थिए । सरभर डाउन सम्बन्धी प्रश्नको उत्तरमा उनले भने, “वास्तवमा त्यो घटना कोही व्यक्ति विशेषको त्रुटिले नभई धेरै सदस्यहरूले एकै पटक सदस्य बन्न खोज्ने बेला सर्भिस प्रोभाइडर गो ड्याडीकै प्राविधिक समस्याले त्यो भएको देखियो । मलाई आशा छ आगामी दिनमा यस्तो हुने छैन ।”

शाहले भने, “लामो समयदेखि उठाउँदै आएको नागरिकता निरन्तरतालाई पूर्णता दिन अन्तिमसम्म लाग्ने छु । एनआरएनएमा विद्यार्थीहरूको सहभागिता बढी गराउने योजना रहेको छ । त्यसै गरी संस्थालाई बलियो बनाउनको लागि एनआरएनएलाई अमेरिकी कानुन अनुसार थप मजबुत बनाउनका साथै अमेरिकामा रहेका अन्य संघसस्थाहरु पनि समन्वय गर्दै अबको एनआरएनए समय सापेक्षित रूपमा प्रविधि मैत्री बनाउने योजना मेरो छ । त्यस्तै प्रवासमा नेपाली भाषा संस्कृति प्रवर्द्धन मुखी कार्यक्रमलाई अघि बढाउने, मूलधारको सामाजिक कार्यक्रम जस्तै आगामी अमेरिकी जनगणनालाई पनि सहभागिता जनाउने योजना बनाउनुका साथै अहिलेको कार्यसमितिले गरेको राम्रा कार्यहरूलाई निरन्तरता दिनका लागि नेतृत्वमा मेरो दावेदारी हो । तपाइहरू सबै सदस्य बन्नु भएकाहरूले मतदानमा भाग लिनु होस । मेरो एजेन्डा पुरा गर्न तपाईँको सहयोगको खाँचो छ । ”

उक्त कार्यक्रममा नेपाल जनसम्पर्क समिति उपाध्यक्ष धर्म श्रेष्ठ, साहित्यकार ज्ञानेन्द्र गदाल, एनआरएन कोलोराडो च्याप्टर सल्लाहकार जगन्नाथ गौतमले आ-आफ्नो मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन च्याप्टर वर्तमान उपाध्यक्ष कुमार जङ कार्कीले गरेका थिए । कार्यक्रमको बिआरटी नेपाल डट कमको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू