अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१५ | Colorodo: 04:30

मेरो उम्मेदवारी अमेरिकाकै नेपालीको पक्षमा: अमृतबाबु कट्टेल

बिआरटीनेपाल २०७६ वैशाख ३० गते १३:५६ मा प्रकाशित

अमेरिका– गैर आवासीय नेपाली सङ्घ (एनआरएन) अमेरिकाको सन्निकट निर्वाचनमा सचिव पदमा उम्मेदवारी दिएका अमृतबाबु कट्टेलले आफ्नो उम्मेदवारी अमेरिकामा रहेका नव आगन्तुक, रोजगारीको खोजीमा रहेकाहरूको हितमा र आर्थिक सम्पन्नताका लागि आवाज उठाउनका लागि भएको स्पष्ट पारेका छन् ।

‘म दोहोरो कर, दोहोरो नागरिकताका कुरा गर्दिन, यो विषय हाम्रो छाता सङ्गठन एनआरएन आइसिसीको हो । आइ सिसी यही मुद्दामा अघि बढिरहेको छ । मेरो प्राथमिकता भनेको जसरी म अमेरिका आउँदा रनभुल्ल थिएँ, अब आउनेले त्यो अवस्था भोग्नु नपरोस् भन्नका खातिर हो,’ उनले यो प्रतिनिधिसँगको बताए ।

उनका अनुसार यतिखेर अमेरिकामा रहेका नव आगन्तुक नेपालीलाई कहाँ कस्तो प्रकारको रोजगारी प्राप्त हुन्छ, व्यवसाय गर्नका लागि कुन ठाउँमा के कस्तो कानुनी तथा नीतिगत व्यवस्था, सहुलियत छ भन्ने बारेमा जानकारी गराउने गरी डाटा बैङ्कको व्यवस्था गर्न जरुरी छ । जानकारीका अभावका नवआगन्तुकमात्र नभै पुराना नेपालीहरू समेत पीडित भइरहेको अवस्थामा एनआरएन अमेरिकाको ध्यान त्यतातिर जानुपर्ने मेरो ठहर हो ।
‘म ठुला एजेन्डा बोकेर हिँडेको छैन । ठुला एजेन्डा मेरो बलबुताको कुरो पनि होइन । म दुई वर्षे कार्यकालमा जे गर्न सक्छु, मेरो पदीय हैसियतले जे जस्तो अधिकार दिन्छ, मैले बोल्ने त्यो मात्र हो,’ उनले भने ।

उनका अनुसार यहाँका नेपालीहरूको हित कसरी हुन्छ ? के कस्तो सिप, शिक्षा, परामर्शको आवश्यकता छ भन्ने बारेमा बुझ्दै नबुझी कतिपय साथीहरू सस्ता एजेन्डा बोकेर हिँडेकोमा उनी आश्चर्य व्यक्त गर्छन् । ‘कतिपय साथीहरू सस्तो लोकप्रियताका लागि उता (नेपाल) को स्थानीय निकाय र यताको निकायबिच पुलको काम गर्ने भन्दै हिँडेका छन् । यो कुरा हाम्रो विधानले निर्देशित विषय हो जस्तो मलाई लाग्दैन,’ उनले भने ।

सन् २०१० मा अमेरिका आएका कट्टेल ओक्लाहोमामा सफल व्यवसायीका रूपमा परिचित छन् । मोटल, ग्याँस स्टेसन व्यवसायमा उनले हात हालेका छन् । उनको व्यवसाय टेक्ससमा समेत विस्तार छ ।

ओक्लाहोमाका विभिन्न युनिभर्सिटीहरूमा सयौँ नेपाली विद्यार्थीहरू अध्ययनरत छन् । ती विद्यार्थीहरूलाई आवश्यक पर्दा रोजगारी लगायत क्षेत्रमा उनले सहयोग गर्दै आएका छन् । व्यवसायका लागि ओक्लाहोमा भर्जिन राज्य नै मानिन्छ । त्यही भएर अमेरिकाका अन्य राज्यबाट व्यवसायको खोजीमा आउने नेपालीहरूलाई उनले सहयोग गर्दै आएका छन् ।

‘ठुलो र गर्न नसक्ने कुरा बोलेर फाइदा छैन । गर्न नसक्ने कुरा बोलेर मलाई ढाँट्नु पनि छैन । हामीले जे जति गर्नुपर्ने यही अमेरिकाका रहेका तीन लाख नेपालीका लागि हो । उहाँहरूको हित हुने काममा एनआरएनले के गर्नुपर्छ मेरो एजेन्डा त्यही र त्यतै हुनेछ,’ उनले भने ।

दुई वर्ष अघि बोर्ड अफ डाइरेक्टरमा अत्यधिक मतले विजयी भएपछि उनले अमेरिकामा रहेका नेपालीहरूको हितका लागि एजेण्डाहरु उठाए । ‘हामीले एनआरएन अमेरिकाको परिचयपत्र त दिन थाल्यौँ, तर त्यसबाट कुनै डिस्काउन्ट, सुविधा दिँदा मात्र प्रभावकारी हुने कुरा मैले पटक पटक बैठकमा उठाएँ । तर धेरै समय दोहोरो कर, दोहोरो नागरिकता लेनै लिने रहेछ,’ उनले भने । यस पटक निर्वाचन हुने मौका मिलेमा अमेरिकामा नेपाली समुदायको आर्थिक, सामाजिक हितका लागि रोजगारी, बिमा, डिस्काउन्ट लगायत थुप्रै एजेण्डाहरु उठाउने बताए ।

चितवनको व्यवसायीकरण परिवारमा जन्मेका कट्टेलले जीवनको दुई दशक विदेशमा बिताइसकेका छन् । जापान, बेलायत जस्ता देशमा बसेर पनि व्यवसायको अनुभव हासिल गरिसकेका छन् । उनको अनुभवमा अमेरिकामा एनआरएन जस्तो संस्थामा सबैको साथ र सहयोग भएमा तीन लाख नेपालीका लागि धेरै कामहरू गर्न सकिन्छ ।

‘म भाषणमा भन्दा काममा ज्यादा विश्वास गर्छु, त्यसो हुँदा अनावश्यक रूपमा समय खर्च नगरी नेपाली समुदायको हितका लागि मैले काम गर्नेछु,’ उनले भने । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू