अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४५ | Colorodo: 20:00

न्यु योर्कमा साकेला मे २५ मा

बिआरटीनेपाल २०७६ वैशाख ३० गते १३:४८ मा प्रकाशित

न्यु योर्क । किराँत राई समुदायको महान् चाड साकेला (उभौली) आगामी २५ मेमा क्विन्सब्रिज पार्कमा मनाइने भएको छ ।

किराँत राई सोसाइटी अफ अमेरिका (केआरएसए) न्यु योर्क च्याप्टरले हरेक वर्ष उभौली मनाउँछ । प्रवासमा रहेर राई संस्कृति प्रवर्द्धन गर्ने उदेश्यले एक दशकभन्दा लामो समयदेखि न्यु योर्कमा मनाउँदै आएको केआरएसए न्यु योर्क च्याप्टर अध्यक्ष भारती राईले बताइन । ‘व्यापक तयारी भइरहेको छ,’ उनले भनिन्, ‘कामको बाँडफाँड भइसक्यो ।’

साकेला राई समुदायको चाड भए पनि कार्यक्रममा सबै समुदायको उपस्थिति हुने गरेको छ । कार्यक्रममा कम्तीमा ५ सय मानिस उपस्थित हुने आयोजकको अनुमान छ । उनका अनुसार यस पटक साकेला मनाउन विभिन्न राज्यबाट राई समुदायका अगुवा आउने छन् । केआरएसए न्यु योर्क च्याप्टरले साकेलाको तयारी स्वरूप करिब एक महिनादेखि साकेला नृत्य अभ्यास गरिरहेको छ ।

उभौली र उधौली गरी साकेला वर्षको दुई पटक मनाइन्छ । उभौली गर्मी लाग्दै गर्दा र उधौली जाडो लाग्दै गर्दा मनाइन्छ । मौसम परिवर्तनसँगै गर्मी छल्न पहाडतिर उक्लने र जाडो छल्न तराईतिर झर्ने अभ्याससँग साकेला जोडिएको छ । प्रकृति पुजक किराँत राई समुदायले साकेलामा नाचका माध्यमबाट संसार र आफ्नो उत्पत्ति तथा प्रकृतिसँगको सम्बन्धको कथा भन्छन् । 

प्रतिक्रिया