अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२१ | Colorodo: 07:36

कविताले ज्यानकै खतरा भयो – कृसु क्षेत्री, कवि

बिआरटीनेपाल २०७६ वैशाख २९ गते ११:०५ मा प्रकाशित

कृसु क्षेत्री विलयनवादका एक जना प्रवर्तक हुन् । उनी विलयनवादलाई अग्यार्निक दर्शन भन्छन् । गत वर्ष मात्र उनको ‘चराको गीत’ साझा प्रकाशनले प्रकाशित गरेको छ । यो विलयनवादमा आधारित कृत त होइन तर, यसमा भएको ‘आमा’ कविता विलयनवादबाट प्रभावित छ । चराको गीत र विलयनवादको सेरोफेरोमा बिराटी नेपाल सम्पादक लोकमणि राईले गरेको कुराकानीको सम्पादित अंशः

प्रश्नः विलयनवाद कसरी सुरु भयो ?
उत्तरः लेखनाथ पौडेलले परिष्कारवादी धारणा सुरु गर्नुभएपछि नेपाली लेखन बिचबिचमा परिवर्तन हुँदै आएको छ । लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठ लगायतकाले स्वच्छन्दतावादी धारणामा लेख्नुभयो । त्यसपछि, मोहन कोइरालाले पश्चात् साहित्यलाई नेपाली साहित्यमा प्रयोगवादी धारणामा ल्याउनु भयो । बिचमा पारिजातको शून्यवाद आयो । यता इन्द्रबहादुर राई, वैरागी काइँला, ईश्वर वल्लवले तेस्रो आयाम सुरु गर्नुभयो । सँगसँगै इन्द्रबहादुर राईले लीला लेखन ल्याउनुभयो । हाम्रै भन्दा अघिल्लो पुस्ताका दाइ विनय रावल, फणिन्द्र नेपाल, वियोग बुढाथोकीले तरलवाद ल्याउनुभयो ।

समसामयिक नेपाली साहित्यको लामो श्रंखला छँदा छँदै पनि के भयो भने सबैका रचना उस्तै प्रकृतिका जस्ता लाग्ने । नाम छोप्यो भने कविताहरू उस्तै उस्तै देखिने । शैली त्यही, विषय त्यही, शिल्प विधान त्यही हुन थालेपछि नयाँ चीज केही दिऊँ भन्ने सोच अन्तर्गत म, मनोज न्यौपाने र चेतनाथ धमलाले २००५ जनवरी १ मा विलयन लेखन सुरु ग¥र्यौँ ।

प्रश्नः विलयनवाद कस्तो दर्शन हो ?
उत्तरः तत्कालीन राजनीतिक अवस्थाले पनि हामीलाई विलयनवादको धारणा र लेखनतर्फ आकर्षित ग¥यो । हामीले लेख्दै गरेको समयमा नेपालको राजनीतिमा २ वटा घटनाहरू एक्कासि आए । एउटा, तत्कालीन जनयुद्ध र दोस्रो, शाही शासन । स्वतन्त्रताको गीत गाइरहने र परिवर्तनको मार्गमा अग्रसर भइरहेन लेखकहरू उन्मुक्तिका लागि छटपटाउन थाले । निकास खोज्न थाले । हामीले चाहिँ लेखनमार्फत क्रान्तिको उद्घोष गर्न सकियोस्, परिवर्तनको पक्षमा आपूmलाई उभ्याउन सकियोस् र स्वतन्त्रता र उन्मुक्तिको चाहलाई स्पष्ट रूपमा पाठकको बिचमामा लैजान सकियोस् विलयन लेखनको सुरुवात ग¥यौं ।

हामीले शाही शासनको विरुद्धमा यो कन्सेप्ट ल्यायौँ । यसबारे अलिकति बताउँछु । तपाईँ देखेको जानेको र बुझेको संसार भन्दा मैले देखेको, जानेको बुझेको संसार फरक हुनसक्छ । मैले देखेको, जानेको, बुझेको भन्दा तपाईँले देखेको, जानेको, बुझेको संसार फरक हुनसक्छ । एउटै व्यक्तिले यो संसारको हरेक कुरा जान्न सक्दैन । व्यक्ति पिच्छे ज्ञान कुरा फरक फरक छ । बुझाइ फरक छ । अनुभूति फरक छ । तपाइ, म र अर्कोले बुझेको संसारका राम्रा राम्रा पक्षहरूलाई एकै ठाउँमा हालियो, नराम्रा चीज त्यागेर राम्रा राम्रा चीजलाई एकै ठाउँमा मेल्टिङ गरियो भने एउटा नयाँ चीज, अझ भनौँ नयाँ संस्कृति, नयाँ सभ्यता, नयाँ सिर्जनाकोको, अझ असल सभ्यता, अझ असल संस्कृति र अझ असल सिर्जनाको निर्माण हुन सक्छ । यही भन्ने धारणाबाट हामीले विलयनवाद र विलयन लेखन सुरु गरेको हो ।

हामी जहिले पनि सीमाका प्रश्नहरू गर्छौँ । हामी कुनै एउटा रङको, कुनै एउटा जातिको, एउटा वर्गको वर्णको सीमाभित्र रहेका छौँ । सीमाहीनताको खोजी गर्ने हो भने मै मात्र जान्ने, मै मात्र बुझ्ने भन्ने अहम त्याग्नुपर्छ । ‘हामी’ भन्ने धारणाको विकास गरियो भने यो संसार कति रमाइलो हुन्थ्यो होला भन्ने सोच अन्तर्गत विलयनवादलाई साहित्यमा ल्याउने प्रयास गरेको हो ।

हामीले भनेका छौँ, परिवर्तन नै सबैभन्दा उत्कृष्ट रहेछ, परिवर्तन नै अन्तिम सत्य रहेछ । हिजो हामी देखेको र आज हामीले देखेको भन्दा धेरै फरक कुरा दुनियाँमा भइरहेका छन् । त्यो परिवर्तनलाई आत्मसात् गरौँ । लेखकले जुन परिवर्तन, उन्मुक्तिको चाहना गरेको छ त्यो परिवर्तन नै अन्तिम सत्य रहेछ भन्ने कुरालाई सहज रूपमा स्विकार्न सकियो र अहमको त्याग गर्न सकियो भने एउटा लेखक, एउटा लेखन, समग्र साहित्य र साहित्यमार्फत समाज र समाजमार्फत समग्र राष्ट्र र विश्वकै परिवर्तन हुनसक्छ भन्ने धारणा अन्तर्गत हामीले यो विलयनवादको अवधारणा सुरु गरेको हो ।

विलयनवादको सैद्धान्तिक आधार भनेको संसारका राम्रा राम्रा कुरा एक ठाउँमा ल्याउने हो भने समाजमा रुपमान्तरण हुन्छ भन्ने हो । म, मनोज न्यौपाने र चेतनाथ धमला ले २००५ जनवरी १ मा ‘आगोको मुच्र्छना’ मार्फत यो दर्शनको घोषणा गरेका थियौँ । आगोको मुच्र्छना त्यो बेला कति चर्चित भयो भने तत्कालीन शाही शासकले त्यो किताबलाई प्रतिबन्ध लगाउन आदेश नै जारी गरेको थियो । त्यो किताबमा हामीले एउटा लामो विलयन काव्य लेखेका छौँ । जसमा कसले लेखेको भन्ने देखिँदैन । लेखक देखिँदैन । कृति मात्र देखिन्छ ।

प्रश्नः तपाईँको कुरा सुन्दा विलयनवाद साहित्यमा ‘हलिज्म थ्योरी’ को नक्कल जस्तो देखिन्छ । लेखक नदेखिने वा लेखकको मृत्यु भन्ने पनि पुरानै अवधारणा भयो । यो मौलिक साहित्यिक अभियान होइन रहेछ ।
उत्तरः विलयनवाद कतैबाट प्रभावित दर्शन होइन । यो अग्र्यानिक दर्शन नै हो । कुरा के मात्र हो भने पहिला वेद र उपनिषदकालमा पनि रचना हुन्थे । लेखक मर्थे । कसले लेख्यो लेख्यो । दसौँ जना लेखकले लेखेको हो की एकजनाले ? हामीलाई थाह भएन । किनभने लेखक अज्ञात छन् । अहिले आधुनिक साहित्यमा लेखक चाहिँ बाँचेकै छ । लेखकले मै हुँ लेखक भन्ने अहम गरेकै छ । पूर्वीय दर्शनमा ज्ञानको भण्डार छन् । त्यहीँ पूर्वीय दर्शनका सिद्धान्तलाई वर्तमान अवस्थामा समसामयिक र समकालीक बनाएर नियालेका पनि छौँ । त्यो चाहिँ हो ।

प्रश्नः दर्शन एउटा कुरा भयो । विलयनवाद लेखनको निरन्तरता त भएन नि ?
उत्तरः हामीले आगोको मुच्र्छना भन्ने पुस्तकको धेरै चर्चा भयो । समालोचकहरुले गाली पनि गर्नुभयो । नाम हटाइ हटाइ लेखकले किन लेख्नु पर्‍यो ? नलेखे भइहाल्यो नि भन्नुभयो ।

पहिला पहिला लोक दोहोरी बज्थे । को छ लेखक ? छैन नि । गाउँमा हाम्रा आमाहरूले घाँस काट्दा खेरी गाउनुहुन्थ्यो । त्यसको सर्जक को ? छैन नि । उहाँहरूले सर्जक मरेर पनि कहीँ हुन्छ ? भन्नुभयो । त्यति हुँदाहुँदै पनि त्यसले पाठकमा निकै राम्रो प्रभाव पा¥यो । त्यो आगोको मुच्र्छना निकालेको झन्डै झन्डै एक वर्ष पछि दुबईमा ५ जना साहित्यकारहरूले आरोहण भन्ने गजल सङ्ग्रह निकाल्नुभयो । त्यो गजल पनि कसले लेखेको भन्ने थाहै छैन । बाहिर ५ जनाको नाम छ । भित्र कसैको नाम नै छैन । त्यसको एक वर्ष पछाडि रामेछापका युवा साहित्यकारहरूले मुटुको चिनो भन्ने मुक्तक सङ्ग्रह विलयन धारणामै निकाल्नुभयो ।

विलयनवादको चर्चा हुँदा हुँदै म चाहिँ सरकारी सेवामा विदेश आएँ । साथीहरू आफ्नो आफ्नो व्यस्ततामा रहनुभयो । विलयनवादको प्रचारप्रसार नपुगेजस्तो भइरहेको थियो । पछि फेरी जागिरकै क्रममा नेपाल फर्केँ । त्यो बेला फेरी ‘रगतको दरबार’ कविता सङ्ग्रह निकाल्यौँ विलयन लेखनको रूपमा । त्यसमा पनि कसैको नाम छैन । त्यो पनि अत्यन्त चर्चित भयो ।

त्यसपछि हामीले मात्र गरेर केही हँुदैन भन्ने सोच्यौँ । आफ्नो दर्शनलाई अलि व्याख्यात्मक रूपमा पाठकमा लैजाने भनेर समालोचक समीक्षकहरूलाई विलयन लेखनबारे लेख्न लगायौँ । उहाँहरूले लेख्नु पनि भयो । झन्डै एक डेढ सय पृष्ठको समालोचनात्मक कृति तयार भइरहेको छ । त्यो कृति यो वर्ष बजारमा आउने उद्घोष गर्न चाहन्छु । त्यसमा कृष्णचन्द्र सिंह प्रधान र इन्द्रबहादुर राईले समेत लेख्नुभएको छ । अभि सुवेदी लगायतका नेपालका धेरै प्रसिद्ध समालोचकहरुले विलयनवादसम्बन्धी लेख्नुभएको छ । कुनै एउटा लेखन स्थापित हुन, दर्शन स्थापित हुन, सफल असफल हुन लामो समय लाग्छ । हामी पनि लागि परेका छौँ ।

प्रश्नः लेखक मर्दा र बाँच्दा चाहिँ कस्तो अनुभूति हुँदो रहेछ ?
उत्तरः  एउटा मूर्ती देख्दा हामी त्यसलाई भगवान् भनेर ढोग्छौँ । मूर्ती एउटा ढुङ्गाबाट बनेको हो । हामीले बाटो हिँड्दा कहिलेकाहीँ ढुङ्गालाई लात्ताले हान्दै हिँडेका हुन्छौँ । फोहोर दलेर फालेका हुन्छौँ । त्यही ढुङ्गालाई भगवान् बनाउने मान्छे चाहिँ कलाकार हो । कलाकारले त्यो ढुङ्गालाई कुँद्छ र भगवान् बनाउँछ । हामी हिजो लात्ताले हानेर हिँडेको, फोहोर दलेर हिँडेको त्यही ढुङ्गालाई फेरी भगवानका रूपमा ढोग्छौँ । त्यो काम कसले गरेको त्यो ? भगवानले त होइन नि । सिर्जना पनि त्यस्तो हुँदो रहेछ । महाभारत लेखियो । रामायण लेखियो । तपाईँ कल्पना गर्न सक्नुहुन्छ १० टाउका भएका मान्छे हुन्थे भनेर ? तपाईँ कल्पना गर्न सक्नुहुन्छ जनावरले युद्ध लड्थे भनेर ? तर, लेखकले त्यस्तो गराइदियो ? रावण भन्ने बित्तिकै हाहाहुहु गर्ने १० टाउको भएको, मार्ने, अपहरण गर्ने राक्षस हो भन्ने कसले बनाएको ? मर्यादा पुरुष श्रीराम भनेर ढोग्ने भन्ने कसले बनाएको ? तर, तिनीहरू पात्र मात्र हुन् । भगवान् त होइनन् नि । एउटा लेखकको कल्पनाशिलताले भगवान् बनाएको न हो ? तर, के हुँदो रहेछ भने लेखक मर्दो रहेछ । पात्र बाँच्दो रहेछ ।

चाहिँ समस्या पर्‍यो की हे राम भनिहाल्यो । गाली गर्नु प¥यो कि रावणजस्तो भन्यो । एउटा सर्जकले आपूm मरेर कसरी बचाउन सक्दो रहेछ भन्ने उदाहरण हो यो । महाभारतमा कृष्ण बाँचेका छन्, हरेक घटना बाँचेको छ, गीता बाँचेको छ, लेखक छैन । सर्जक मर्दो रहेछ । हराउँदो रहेछ ।

तर, कहिलेकाहीँ सर्जक मात्र बाँचेर सिर्जना पनि मर्दो रहेछ । वर्तमान अवस्थामा सर्जक भन्ने जुन अहम छ नि म कृषु क्षेत्री, मजतिको जाने बुझेको केही छैन । म राजाबाट पुरस्कृत भएँ । यति किताब लेखेको भन्ने । जहाँ जाँदा पनि म चाहिँ कृषु क्षेत्री भनिहाल्ने । ‘मेरो किताब हेर्नुभयो चराको गीत ?’ भनेर सोधिहाल्ने । त्यो एउटा धारणा चाहिँ रहिरहेको छ सर्जक चाहिँ बाँच्नुपर्ने । यो अहम त्यागेर समाजलाई एउटा सुन्दर गतिशील मार्गतर्फ अग्रसर गराउन सकिन्छ भन्ने विलयन लेखनको धारणा हो ।

वेदकालीन समयमा हजारौँ मूर्ती बने । मूर्तीको मुनि फलाना मूर्तीकार भनेर लेख्दैन थिए नि त । दसौँ हजार बुद्धका मूर्ती बनेको छन् । कसले बनाएको भनेर कसैले लेखेको छैन । सर्जक म¥यो । सर्जकलाई बचाउन जरुरी छ । किनभने त्यो मूर्ती त सर्जकले बनाएको हो नि त । सर्जकले भगवान् बनाएको हो । त्यही भएर सर्जक पनि बाँचोस्, सर्जक मारेर त हुँदैन भन्ने पनि कहिलेकाहीँ लाग्छ । त्यही भएर कहिलेकाहीँ आफ्ना कृतिहरू पनि निकाल्छु । कहिलेकाहीँ आफैँले आफैँलाई यो अहमंको चाहिँ त्याग गरौँ, सुन्दर संसारको निर्माण गरौँ । रिस राग द्वेष अहम स्वार्थ परित्याग गरेर, एउटा मेल्टिङ पटमा संसारका राम्रा पक्षहरू घोलेर नयाँ सिर्जनाको निर्माण गरौँ । नाम साम हटाइदिउन्, छोडिदिऊँ लोभ लालच भन्ने पनि लाग्छ । जीवनमा दुवै पक्षहरू हँुदा रहेछन् ।

प्रश्नः तपाईँको नाम भएको चराको गीत चाहिँ के हो, विलयन लेखन की अहमद ?
उत्तरः चराको गीत मेरा समसामयिक कविताहरूको सङ्ग्रह हो । यसमा एउटा ‘आमा’ भन्ने कविता चाहिँ विलयन लेखनबाट प्रभावित छ । यसमा एउटा सानो बच्चाले भगवानसँग, सूर्यसँग, हावासँग धर्तीसँग नदीसँग, रुखसँग बताससँग ७ वटा चीज माग्छ । र ती ७ वटै चीजलाई एउटा भाँडोमा हाल्दिन्छ र आमा बनाइदिन्छ । पानी हावा जुन घाम आकाश धर्ती र भगवानलाई एकै ठाउँमा विलयन गर्छ यो कविताले । विलयन भएर फुत्त निस्कँदा आमा निस्कन्छिन् । यो विलयनवादबाट प्रभावित भएर लेखेको कविता हो । तर, यसमा मैले मेरो अहम त्यागेको छैन नि । यो कविताको पूर्ण जिम्मेवारी मेलै लिएको छु । त्यसबाट हुने लाभ हानी मैले आफैँसँग राखेको छु । मै हो लेखक भनेको छु । म बाँचेको छु । नामै मेटेर यो आमा लेखेको होइन ।

प्रश्नः आमा कवितामा एक खालको स्ट्रक्चरको पनि प्रयोग भएको छ । त्यसको कुनै अर्थ छ ?
उत्तरः त्यो मैले सप्त रङ्गी इन्द्रेणी देखाउन खोजेको हो । इन्द्रेणी धर्का धर्का हुँदै जाने भएर त्यस्तो स्ट्रक्चर बनाएको हो । के के विलयन भएर इन्द्रेणी भयो भन्ने देखाउन । अरू कुनै प्रयोग होइन ।

यो कविता विलयन लेखनको धारणा अन्तर्गत लेखिएको कविता हो । एउटा रङ एकातिर, अर्को अर्कैतिर भएको भए इन्द्रेणी कहाँ त्यति सुन्दर हुन्दर हुन्थ्यो ? सातै रङ एकै ठाउँमा राखिएकाले इन्द्रेणीको सुन्दरता झल्किएको हो ।

प्रश्नः तपाइको हरेक कविता पेजको बिचबाट सुरु हुन्छ, आधा पेज खाली हुन्छ । त्यसको कुनै अर्थ छ ? जस्तो, केही कविले कविता शान्त दिमागले पढ्नुपर्छ, त्यसका लागि पाठकको दिमागमा भएको कुरा हटाउनुपर्छ, खाली बनाउनु पर्छ भनेर आधा पेजसम्म खाली राखेको अर्थ बनी लगाउँछन् ।
उत्तरः पाठकलाई पढ्न सजिलो होस र हेर्दा आकर्षक देखियोस् भनेर मात्र त्यसो गरिएको हो । यो कुनै प्रयोग वा अरू केही होइन ।

प्रश्नः लेखक मर्दा दुःख लाग्ने वा बाँच्दा खुसी लाग्ने हो ?
उत्तरः व्यक्तिगत धारणाबाट भन्दा लेखक मर्यो कृति मात्र बाँच्यो वा पात्र मात्र बाँच्यो भने लेखकलाई दुःख लागिहाल्छ नि । लेखकले उसको पात्र बाँचोस्, पात्रले र कृतिले उसलाई चिनाओस् आफु चाहिँ चिनिनुपर्छ भन्ने नै चाहन्छ । अहिलेको लेखक ऋग्वेदकालीन मूर्तीकार चाहिँ होइन ।

प्रश्नः यो विलयन लेखन कति व्यवहारिक दर्शन हो ?
उत्तरः यो अव्यबहारिक दर्शन हो । सुन्दर सपना अर्थात्, यो युटोपिया हो । यसलाई सिर्जना प्रयोग गर्न सकिन्छ । समाजमा प्रयोग गर्न सकिँदैन । समाजमा व्यक्ति अहमले बाँचेको हुन्छ ।

प्रश्नः तपाईँ आङ सान सुकीबाट ज्यादै प्रभावित देखिनुहुन्छ । तपाईँले उहाँलाई भेट्नु पनि भो । र, आङ साङ सुकीसँग जे लिएर आउनु भयो त्यसलाई भविष्यसम्म बचाइरहनु पर्छ भनेर छोराहरूलाई दिनुभयो । पछिल्लो समय सुकीको देशमा उनकै सत्ताबाट नरसंहार भएको छ । अहिले सुकीको लिगेसी बोकेकोमा कस्तो अनुभूति हुन्छ ?
उत्तरः सुकीको बारेमा मैले २०१० मा कविता लेखेको हो । र, त्यो कविता आज पनि उत्तिकै सान्दर्भिक छ । मैले त्यति बेला भेटमा आङ सान सुकीलाई तपाईँले जेलमा बसेर बचाइरहेको मानवअधिकार प्रजातन्त्र र शान्ति नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भनेको थिएँ । आज त्यही मानवअधिकार र प्रजातन्त्रको विषयमा आङ सान सुकी माथि विश्वबाट प्रश्न चिन्ह उब्जिएको छ । मैले त्यो कवितामा प्रस्ट भनेको छु, नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ, तिमीले पनि बचाउन सक्दिनौ कि भनेर । म पनि बुढो भएँ तिमी पनि बुढी भयौ भनेर त्यसको प्रस्ट सङ्केत गरेको छु । संसारले मानेको, प्रजातन्त्रका लागि २४ वर्ष जेल बसेको र नोबेल शान्ति पुरस्कार प्राप्त गरेको व्यक्तिले जोगाउने कुरा चाहिँ नयाँ पुस्तालाई हस्तान्तरण गरिहाल्नु प¥यो भनेको हो । मेरा छोराहरू प्रतिनिधि पात्र मात्र हुन् । युवा पिँढीलाई हस्तान्तरण गर है भनेर २०१० जनवरी ७ मै लेखेको । यसबाट कविले त्यो बेला नै भविष्यद्रष्टाको रूपमा काम गरेको रहेछ है भन्ने अर्थ लाग्छ ।

प्रश्नः आफ्नै दाई माथि तपाईँले २ वटा कविता लेख्नु भएको छ ‘पहिचानको खोजी’ र ‘दुबसु क्षेत्री’ । एउटामा चाहिँ दाईलाई थ्रेट गर्नुभएको छ अर्कोमा भगवान् जस्तो उभ्याउनु भएको छ । किन ?
उत्तरः कविता विम्वात्मक भएर पाठकलाई त्यस्तो लेख्नु स्वाभाविक हो । दुवै कवितामा मेरो दाजुलाई भगवानका रूपमा उभ्याएको छु । जुन थ्रेट दिएको भन्ने कविता हो त्योभन्दा ठुलो भगवानका कविता त मैले आजसम्म लेखेकै छैन । जन्मिदा म मेरो बाउआमाको छोरो होइन, दुबसुको भाइ भनेर चिनिएँ । स्कुलमा दुबसुको भाइ, कलेजमा दुबसुको भाइ । कविता लेखेँ दुबसुको भाइ भनेर चिनिएँ । राजनीति गरेँ, भाइ भनेर चिनिएँ । जागिर खान राष्ट्र ब्याक पुगेँ दुबसुको भाइ, परराष्ट्र आएँ दुबसुको भाइ । जहाँ जहाँ गएँ मेरो अघि अघि दुबसु । त्यो एउटा यस्तो प्रभाव छ दुबसु क्षेत्रीको मेरा जीवनमा त्यसबाट म मुक्त हुन सकेको छैन भन्ने धारणा अन्तर्गत नै मेरो जे छ म जे छु त्यो दाजुसँगै निसृत छ भन्ने देखाउन लेखेको कविता हो त्यो ।

तर, जतिसुकै जे भए पनि मान्छेले आफ्नो पहिचानको खोजी त गर्दो रहेछ । म विलयन लेखनमा आएँ । अब दाजुलाई जितेर जान चाहन्छु, म दाजुको नाम मेटाएर मेरो नाम स्थापित गर्न चाहन्छु भन्ने धारणामा लेखिएको त्यो एउटा कविता बिम्बमा उतार्दा हत्या गर्ने भन्ने भयो । त्यो भनेको मान्छे मार्ने भनेको होइन । जहिले पनि बाउले मेरो छोरोले मलाई जितोस्, मेरो छोरोले मलाई अगाडि बढाओस्, छोरोको नामबाट चिनिनु पाउँ भन्छ र त्यसैमा खुसी हुन्छ । मैले मेरो दाजुलाई त्यस्तै भनेको हो । मेरो बाउ, मेरो भगवान् मेरो, आस्था जे भनेपनि मेरो दाजु हो अब तपाईँको हत्या हुँदैछ । तपाईँको नामोनिशान हराउँदछ तपाईँलाई मेरो नामबाट चिनाउँछु भन्ने आशयको हो । आफ्नै दाजु मार्न खोज्ने कूटनीतिज्ञ भन्ने शीर्षक समीक्षा पनि आयो ।

अर्को कविता त मेरो गाउँको बारेमा लेखिएको हो । त्यो गाउँमा मेरो दाजुले क ख पढ्दा क ख पढ्ने मान्छे थिएनन् । मेरो दाजु गाउँमा पहिलो एसएलसी पास हो । मेरो दाजुले मास्टर्स डिग्री गर्दा सिङ्गो गाउँमै मास्टर्स डिग्री कोही थिएनन् । मेरो गाउँलाई उज्यालो पनि, शान्तिको सन्देश पनि दियो हामीलाई सिकायो पनि भन्ने कविता हो । दुवै कविता समदूरीमा हिँडेको छ । सर्सर्ती हेर्दा एउटामा भगवान् बनाउने अर्कोमा छप्काउने भन्ने देखिन्छ । त्यो होइन ।

प्रश्नः कतिपय कविले आफ्नो बाबु अथवा प्रेमीका बारेमा लेखेका निजी टाइपका कविताहरू युनिभर्सल कविता बनेका छन् समाज र मानिसका लागि कुनै न कुनै अर्थ राखिदिएर । तपाईँका कवितामा पनि तपाईँकै आमा तपाईँकै बुबा तपाईँकै दाइ आदि पात्र छन् । तपाईँका यी पात्रहरूले समाज र मानव जातिसँग के सरोकार राख्छ ?
उत्तरः लेखक अलग्गै संसारको प्राणी चाहिँ होइन । अलग्गै धु्रबको पनि होइन । लेखक त्यही समाजको प्राणी हो जसले जसले बिहान उठेदेखि निदाउँदासम्म अरूजस्तै गतिविधि गर्दछ । खानपान यौन मनोरञ्जन जन्मेदेखि मृत्युसम्मका सबै कुरा गर्दछ । ऊ पृथक् हुन सक्दैन । हो, मेरा अत्यन्त निकट, मेरा परिवारका घटनाहरू पनि यो कृतिमा छन् । केही नामहरू पनि छन् । ती युनिभर्सल हुन सक्दैनन् भन्ने धारणा गलत हो । त्यही पात्रबाट युनिभर्सल बनाउने हो । मैले भोगेका घटना युनिभर्सल हुन सकेपछि मात्र त्यसलाई सिर्जनामा ल्याउने हो । केही कवितामा यहाँले भन्नुभएजस्तै जीवनको अत्यन्त निजी घटना छन् । तर, तीमार्फत पनि समाजलाई यस्तो हुन सक्छ है भनेर बताउन सकिन्छ । जस्तो, मेरो मृत्युको साक्षात्कार भन्ने कविता जसमा मेरो जीवनको एक दिन हराएको छ । म एक दिन वुहोश भएँ अर्को दिन ब्युँझिएँ । त्यो दिन नै हरायो । किन यो घटना आयो भन्दा मैले त्यहाँ केही प्रसङ्ग ल्याएको छु । मृत्युसँग साक्षात्कार गर्दा पनि जीवनको नयाँ आयामलाई कसरी पाठकको बिचमा लैजान सकिन्छ भन्ने धारणा राख्न । मसँग नजिको सरोकार राख्ने जब किताबमा आउँछ, त्यो सार्वजनिक सरोकारको विषय हुन्छ । समाजसँग सम्बन्ध राख्छ ।

प्रश्नः साहित्यले समाजलाई अगाडि बढाउँछ । त्यही भएर साहित्यकारले जीवनमा ठुला ठुला कठिनाइ भोगेका छन् । तपाईँले पनि भोग्नु भएको छ ?
उत्तरः छ । जस्तो, २०५८ मा चितवनको भण्डारामा तत्कालीन आन्दोलनकाले बस जलाउँदा ८ वर्षकी काजोल खातुन जिउँदै जलेर मरिन । त्यसले मलाई यसरी छोयो कि आफैँ काजोल खातुन बनेर घटनामा समावेश भएको अनुभूति गर्दै कविता लेखेँ । कान्तिपुरमा छापियो । त्यही साँझ कविताको विषयमा माफी नमागे भौतिक कारबाही गरिने भन्दै घरमा फोन आयो । मेरो बिहे पनि भएको थिएन । सुकुमार सपनाहरू थिएँ । डर लाग्यो । म जीवनमा कहिल्यै सम्झौता नगरेको, नडराइन, नधकाएको मान्छे कति डराएछु भने लिखित माफी कान्तिपुरमा बुझाउन गएँ । तर, घटना जोबाट भए पनि गलत हो भन्ने विज्ञप्ति आन्दोलनकारीबाटै त्यहाँ आइपुग्यो । र मैले माफी माग्नु परेन ।

अर्को, शासन थियो । धेरै मान्छे चुप थिए । बोल्न डराइरहेका थिए । त्यसमाथि हामी त झन् सरकारी कर्मचारी । त्यही ताका डोल्पाको दुनैमा ठुलो आक्रमण भयो । धेरै सरकारी कार्यालय ध्वस्त भए । धेरै घर जले । टिभीमा काला जलेका ठुटा र मरेका मान्छे देखिए । त्यसको केही दिनमै तत्कालीन राजा डोल्पाको दुनैमा अभिनन्दनका लागि जानुभयो । त्यो देखेपछि मलाई असह्य भयो । भित्रभित्रै जलेजस्तो, निसास्एिजस्तो छटपटी भयो । मैले ‘निरो र अभिनन्दन’ कविता लेखेँ जुन चराको गीतमा पनि छ । कविता फेरी कान्तिपुरमा छापियो । त्यसको केही दिनमै तत्कालीन शाही आयोगले ‘सरकारी कर्मचारी भएर तपार्इँले राजाको विरुद्ध कविता लेख्नुभएकाले तपाईँलाई किन कारबाही नगर्ने ?’ भनेर स्पष्टीकरण सोध्यो । भर्खर बिहे भएको थियो । ठुलो छोरो ८ महिनाको थियो । घरमा रुवाबासी चल्यो । कहिले के कारणले यसले सताउँछ, कहिले के कारणले भन्ने भयो । आमा रुनुभयो । श्रीमती रोइन् । दाजुहरूले गाली गर्नुभयो । घरलाई सुख नदिने भयो भन्ने भयो । कविताको आशय यस्तो हो, भनेर घरमा माफी माग्ने पारिवारिक निर्णय पनि भयो । तर, त्यसको १५ दिनपछि माननीय अनुपराज शर्माले शाही आयोग अवैधानिक भनेर खारेज गरिदिनुभयो । म फेरी जोगिएँ ।

अर्को घटना सुनाउँछु । ०६२/६३ को आन्दोलन भइरहेको थियो । म कृतिपुरमा पीएचडीको फारम बुझाउन गएको थिएँ । त्यति बेलै कृतिपुर कब्जाको घोषणा भयो । बाहिर निस्कन पाइएन । सबै मान्छे सडकमा बसे ७२ घण्टा । मैले त्यही रात कविता लेखे ‘म बुढो कृतिपुर नाक माग्दैछु’ भन्ने । त्यो कविता त्यहाँ जनआन्दोलन कारीलाई सुनाएँ । वाह वाह भयो । त्यो पृथ्वीनारायण शाह विरुद्ध होइन तत्कालीन शाही शासन विरुद्ध लेखिएको कविता हो । कवितामा ‘वर्तमान संविधानको बाधा अड्काऊ फुकाउने हे देवेन्द्र कि मेरो नाक फिर्ता गर होइन भने तिम्रो नाक काट्छु’ भनेको थिएँ । त्यो कविता रेकर्ड गरेर तत्कालीन प्रतिबन्धित जना देश पत्रिकाले छापिदियो । सरकारी कर्मचारीको राजा विरुद्ध लेखेको कविता प्रतिबन्धित विद्रोही माओवादीको पत्रिमा छापिँदा के होला ? कसैलाई सुनाइन । सोध्नेलाई त्यो कविता मैले लेखेको होइन भनेँ । मेरो नाम झुक्किएको होला वा टाइप इरर होला भने । कतिलाई त कहाँ म जनदेशलाई कविता दिन्छु सम्म भन्दै हिँडे ।

त्यो कविता पछि जनदेशबाट सभार गरेर समावेशी भन्ने पत्रिकाले छापिदियो । धेरै पछि न्यु योर्क आएँ । पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको पक्षमा बोलेँ । हिजो पृथ्वीनारायण शाहको नाक काट्नुपर्छ भनेर कविता लेख्ने आज उसैको बखान गर्ने भन्दै त्यो कविता समावेशी पत्रिकाबाट साभार गरेर न्यु योर्कका पत्रपत्रिका र सामाजिक सञ्जालमा छापिए । त्यसले यहाँसमेत ठुलो विवाद ल्यायो । क्षेत्री बाहुनले भेट्दा पृथ्वीनारायण शाहको नाक काट्न पर्छ भन्ने ? भने । जनजातिकोमा गयो पृथ्वीनारायण शाहको विरुद्ध लेखेर उसकै गुणगान गाउने भनेर खेद प्रस्ताव गर्ने सम्म भयो ।

कविता लेखिने मात्र होइन रहेछ । कविताले समाजलाई मार्ग निर्देश पनि गर्दो रहेछ । धेरै मान्छेले कविता रहरले लेख्दा रहेछन् ? बाटोमा हिँड्दा हिँड्ने पूmल देख्यो पूmलको कविता, सुन्दर युवती देख्यो युवतीको कविता । म चाहिँ ज्यालामा नमिलेको जस्तो अप्ठ्यारामा फलेको जस्तो भएँ । जीवनमा हुँदै गरेको घटनाले साह्रै छोयो, लेखेँ । लेखेपछि आफैँलाई आइलाग्यो । ज्यानको सुरक्षाको कुरा आयो । जागिरको सुरक्षाको कुरा आयो । परिवारको सुरक्षाका कुरा आयो । भौतिक कारबाही हुने भन्ने सम्म भयो । कविता लेख्दा बडो अप्ठ्यारो भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू