अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४६ | Colorodo: 05:01

अमेरिका नेपाल मेडिकल फाउन्डेसनद्वारा नेपालको लागि अक्सिजन प्लान्ट परियोजनाको लागि $८२,००० सङ्कलन

विजय थापा २०७६ वैशाख २९ गते ९:५३ मा प्रकाशित

नेपाल मेड ईभीका जर्मन चिकित्सक आर्न ड्रुले ६० हजार युरो दिने घोषणा

वासिङ्टन डिसी । अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) को २३ औ वार्षिक सम्मेलनमा नेपालको अक्सिजन प्लान्ट (कारखाना) परियोजनाको लागि ८२ हजार डलर सङ्कलन गरेको छ ।

साथै नेपालमा दुई दशक देखि जर्मन बाट स्वास्थ्य क्षेत्रमा काम गरी रहेको नेपाल मेड ईभीका जर्मन चिकित्सक आर्न ड्रुले पृथक् रूपमा ६० हजार युरो दिने घोषणा गरेका छन् । एएनएमएफले विशेष अक्सिजन प्लान्ट परियोजनाको लागि पूर्व सूचना जनाई कोष वृद्धि कार्यक्रमको घोषणा गरे अनुसार मे ११ शनिवार कूल ८२ हजार डलर सङ्कलन गर्न सफल भएको छ । २३ औ सम्मेलनको अलागी प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश पठाउनु भएको थियो भने अध्यक्ष चिकित्सक सन्तोष सापकोटाले पढेर सुनाएका थिए । 

गत वर्ष २०१८ मा महाराजगन्ज स्थित शिक्षण अस्पतालमा एएनएमएफले अक्सिजन प्लान्ट जडान गर्न सफल भएको थियो । संस्थाले नेपालका सबै प्रदेशका लागी परियोजना लग्ने योजना समेत राखेको छ ।

उपत्यका बाहिर अक्सिजनको अभाव नहोस् र यसको समस्याको समाधान होस् भन्ने हेतुले एएनएमएफले यसमा विशेष पहल गर्दै सम्मेलनमा कोष वृद्धि रात्रि भोजन कार्यक्रम (फन्डराईजिङ्ग डिनर ) राखेको थियो । 

यो रकम सङ्कलन गर्नु अगावै करिब २५ हजार डलर सङ्कलन भई सकेको थियो भने मे ११ मा सम्पन्न कोष वृद्धि रात्रि भोजन कार्यक्रम (फन्डराईजिङ्ग डिनर ) मा कूल ८२ हजार डलर सङ्कलन भएको छ । नेपाल, बेलायत तथा अमेरिकाका विभिन्न राज्यहरूमा रहेका चिकित्सकहरूले बोलेको रकम एएनएमएफलाई दिने छन् ।

संस्थामा आजीवन सदस्यको लागि एक हजार डलर रहेकोले उक्त कार्यक्रममा सहभागी भएका स्वयम् चिकित्सकले आजीवन सदस्य बन्नुको साथै आफ्ना जीवन सङ्गिनी तथा आफ्ना छोराछोरीलाई समेत आजीवन सदस्य बनाएका थिए । 

संस्थामा जुन सुकै उमेरका पनि आजीवन सदस्य बन्ने प्रावधान रहेकोले करिब ३ जना बालबालिका किशोर किशोरी सहित ७ महिनाकी बालिका पनि १ हजार डलर तिरेर आजीवन सदस्य भएका छन् । यो भन्दा पहिले ११ महिनाकी बालिका अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)को आजीवन सदस्य बनेकी थिइन् । अमेरिकामा आइतबार आमाको मुख हेर्ने दिन परेकोले यस दिनलाई समर्पित गर्दै आमाको नाममा आजीवन सदस्य बन्ने घोषणा गरेका थिए ।

सम्मेलन मा एएनएमएफका सह-संस्थापक तथा पूर्व अध्यक्ष गौरी अधिकारीलाई जीवनकाल उपलब्धि पदक द्वारा सम्मान गरिएको थियो । गत मे १० देखि १२ सम्म चल्ने उक्त सम्मेलनको पहिलो दिन शुक्रवार नेपाल तथा अमेरिकाका विभिन्न राज्यहरूमा रहेका नेपाली चिकित्सकहरूको जमघटको साथै सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

नेपालबाट आएका स्वास्थ्य मन्त्रालयका सह सचिव चिकित्सक रमेश खरेल,नेपाल मेडिकल काउन्सिलको प्रतिनिधित्व गर्दै उपाध्यक्ष प्रा चिकित्सक नारायण विक्रम थापा लगायतको सहभागिता रहेको थियो । 

सम्मेलनमा चिकित्सकहरूले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की मेरिल्याण्ड राज्यका विधान सभा सदस्य एच पी ह्यारी भण्डारीले समेत मन्तव्य राखेका थिए ।

सम्मेलनमा आसन ग्रहण, मञ्चमा आमन्त्रण, खादा द्वारा सम्मान कार्यक्रम नराखी व्यावसायिक रूपमा चिकित्सकहरू आफ्ना विषयमा वस्तुमा केन्द्रित रहेका थिए ।

सन् १९९७ मा नेपाली मूलका चिकित्सकहरूको प्रयास तथा नेपाललाई माया गर्ने अमेरिकन चिकित्सकहरूको पहलमा स्थापना भएको अमेरिका नेपाल मेडिकल फाउन्डेसन का संस्थापक अध्यक्ष चिकित्सक अर्जुन कार्की हुन् l 

गैर मुनाफा सामाजिक संस्थाको रूपमा न्युयोर्कमा दर्ता भएको संस्था एएनएमएफको मुख्य उद्देश्य नेपालका परियोजनालाई सहयोग गर्नुको साथै स्वास्थ्य सेवा पुर्‍याउनु रहेको छ ।

प्रतिक्रिया