अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

अस्ट्रेलियामा लिवरल पार्टीले चुनाव जिते नेपाली सामुदायलाई ८ करोड रूपैयाँ दिने मन्त्रीको घोषणा

बिआरटीनेपाल २०७६ वैशाख २८ गते ८:३८ मा प्रकाशित

कोम खत्री (सिड्नी, अस्ट्रेलिया)

अस्ट्रेलियाका अध्यागमन, नागरिकता तथा बहुसांस्कृतिक मन्त्री तथा लिवरल पार्टीका नेता डेभिड कोलम्यानले आफ्नो पार्टीले पुनः जित हासिल गरेमा नेपाली सामुदायिक भवन निर्माणका लागि १० लाख अस्ट्रेलियन डलर अर्थात् करिब ८ करोड रूपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

सिड्नीमा आयोजित तेश्रो ओसेनिया क्षेत्रीय मिटिङमा बोल्दै अध्यागमन मन्त्री कोलम्यानले सो सामुदायिक भवनमार्फत् अस्ट्रेलियामा रहेका नेपालीहरूले आफ्ना सांस्कृतिक, सामुदायिक तथा अन्य कार्यहरू गर्न पाउने तथा यसले समग्र समुदायको एकतामा थप टेवा पुग्ने समेत बताउनुभयो । ‘सत्तारुढ मोरिसन सरकार अस्ट्रेलियामा रहेका नेपालीहरूको संस्कृति, इतिहास तथा रीतिरिवाजको जगेर्ना तथा उत्थान गर्नका निमित्त प्रतिवद्ध छ’, कार्यक्रममा मन्त्री कोलम्यानले भन्नुभयो ।

नेपाली समुदाय अस्ट्रेलियामा सबैभन्दा छिटो बढिरहेको समुदाय हो र यो सामुदायिक भवनमार्फत् अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा वसोवास गरिरहेका करिब ३६,००० नेपालीहरूको केन्द्र बन्न सक्ने समेत उहाँले बताउनुभयो । उहाँले नेपाल र अष्ट्रेलियाको बीचमा अत्यन्त सकारात्मक सम्बन्ध रहेको बताउँदै विशेष गरेर शिक्षाको क्षेत्रमा नेपालीहरु तेस्रो स्थानमा रहेको समेत उल्लेख गर्नुभयो ।
गत वर्षमात्रै २६ हजार नेपालीलाई विद्यार्थीलाई भिसा दिएको तथ्यांक प्रस्तुत गर्दै उहाँले नेपालीहरुले अष्ट्रेलियालाई बहुसांस्कृतिक देश बनाउनका लागि मात्रै नभई अस्ट्रेलियाको आर्थिक उन्नतिमा महत्वपूर्ण सहयोग गरेको समेत बताउनुभयो । पछिल्लो केही वर्षमा नेपालीसँग मिलेर काम गरिरहेको जानकारी गराउँदै मन्त्री कोलम्यानले नेपालीहरु अष्ट्रेलियाको लागि महत्वपूर्ण अङ्ग रहेको बताउनुभयो । नेपालीहरुको आफ्नै भवन निर्माणार्थ सहयोगका लागि अष्ट्रेलियन नेप्लिज एसोसिएसनमार्फत् नेपालीहरुले पहल गर्दै आएका थिए । अस्ट्रेलियामा आगामी मे १८ तारिखमा हुन गइरहेको संघीय निर्वाचनमा नेपाली मतदाताहरूको मत पाउनका निमित्त यस्तो कदम आएको जानाकारहरू बताउँछन्।

’इन्भेष्टमेन्ट, इन्नोभेसन र टुरिजम’ नारा दिएर शनिबारदेखि सुरु भएको ओसेनिया सम्मेलनमा नेपालबाट कानुनमन्त्री भानुभक्त ढकाल, प्रदेश ५ का सांसद विष्णु पन्थी अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत दुरपदा सापकोटा, एनआरएनए आइसिसी अध्यक्ष भवन भट्ट, महासचिव बद्री केसी, उपाध्यक्षयहरू कुमार पन्त र कुल आचार्य, पूर्व अध्यक्ष शेष घले, ओसेनिया संयोजक धर्मराज अधिकारी, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष टोनु घोताने, न्यूसाउथवेल्सका महावाणिज्यदूत दीपक खड्का, साउथ अस्ट्रेलियाका महावाणिज्यदूत दीपक धमला, एनआरएनएकी संरक्षक इन्द्रा वन, विभिन्न देशका एनआरएन प्रतिनिधिहरुका साथै गैरआवासीय नेपालीहरूको बाक्लो उपस्थिति रहेको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनले नेपालमा लगानी विस्तार, कृषि, पर्यटन लगायतका क्षेत्रमा महत्वपूर्ण निर्णय गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू