अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०० | Colorodo: 09:15

सरकारले राजस्व चुहावटको उच्च जोखिम क्षेत्र खोज्दै

बिआरटीनेपाल २०७६ वैशाख २८ गते ५:०८ मा प्रकाशित

नेपाल सरकारले पछिल्ला दुई महिनाको प्रयासमा नक्कली भ्याट बिल बनाएर कर छली गरेको आरोप लागेका मुलुकका ५०० व्यापारिक प्रतिष्ठानलाई उच्च निगरानीमा राखेको छ । राजस्व अनुसन्धान विभागको निगरानी रही अनुसन्धान सकिएका १६ जनाविरुद्ध मुद्दा समेत दर्ता भएको छ । यसअघि १६७ विरुद्ध रु १३ अर्ब ५५ करोड बिगो जरिवाना र तीन वर्षसम्मको कैद सजाय माग दाबीसहित विभागद्वारा विभिन्न अदालतमा दर्ता गरिएका ६४ मुद्दा विचाराधीन छन् ।

कर छलीका गतिविधि मुख्यतः कारोबार नगरी बिल मात्रै बेच्ने, अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गर्ने, भन्सार चोरी पैठारी, अण्डर विलिङ, खरीद बिक्रीसम्बन्धी कागजमा मूल्य मिलाउने, मूल्य अभिवृद्धि कर (भ्याट) बिल÷प्यान बिल नक्कली बिजक बिक्री गर्ने पाइएको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार अर्कैको नागरिकता प्रयोग गरी कम्पनी खडा गरेर कीर्ते गर्नेदेखि वैदेशिक रोजगारीमा कर छली गर्ने, हुण्डीमार्फत अवैधरुपमा अन्तरदेशीय कारोवार गर्ने, विदेशी मुद्रा अपचलन गर्ने जस्ता अर्थतन्त्रलाई उन्नत हुन नदिने सङ्गठित अपराध भइरहेका छन्। भन्सार अधिकृतसहित आठ कर्मचारी, कर सहयोगी र अडिटरसमेत संलग्न रहेका पाइएको छ ।

यस्ता नक्कली गतिविधि गरेर अर्बौंको राजस्व चुहावट भइरहेकाले अहिले आर्थिक अपराध नियन्त्रण गरी सुशासन प्रवद्र्धन र सदाचार कायम गर्न सरकारले राजस्व चुहावट (कर छली) को उच्च जोखिम क्षेत्र पहिचान गर्न लागेको छ।

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवस्तरीय निर्णयबमोजिम पूर्वसचिव केशव भट्टराईको संयोजकत्वमा गठित कार्यदल अहिले जोखिम क्षेत्र पहिचानमा सुक्ष्म अनुसन्धानमा छ। कार्यदलमा चार्टर एकाउन्टेन्ड भवनाथ दाहाल र राजस्वसम्बन्धीका जानकार डिकरदेव भट्ट रहनुभएको छ ।

मुलुकको समृद्धिको मुख्य बाधक राजस्व चुहावटका घटना बढी उपभोग हुने क्षेत्रमा देखिएका छन्। सार्वजनिक क्षेत्रको निर्माण, व्यापार र सेवा क्षेत्रमा यस्ता गतिविधि पाइएकाले राजस्व अनुसन्धान विभागले आर्थिक अनुशासनको कारवाही तीव्र पारिरहेका बेला जोखिम क्षेत्र पहिचान हुँदा थप सहज हुने विश्वास गरिएको छ।

प्रतिक्रिया