अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

भियतनाममा प्रधानमन्त्री ओलीको भाषणः हो ची मिन्ह प्रेरणाको श्रोत

बिआरटीनेपाल २०७६ वैशाख २८ गते २:४७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले हो ची मिन्हले भियतनामको स्वतन्त्रतामा योगदान दिएको बताउनुभएको छ । मिन्हले सिद्धान्तमा कहिल्यै सम्झौता नगरेको, स्वतन्त्रता र न्यायको मार्गबाट कहिल्यै पछाडि नहटेको तथा समाजवाद र परिवर्तनको वास्तविक अर्थ दिएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

समाजवादी गणतन्त्र भियतनामको पाँचदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले हो ची मिन्ह राष्ट्रिय राजनीतिशास्त्र प्रतिष्ठानको एक मञ्चलाई आज सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले मिन्हको नेतृत्वमा भएको भियतनामको क्रान्ति तथा राष्ट्रिय स्वतन्त्रता आन्दोलन नेपालको समाजवादी, प्रजातान्त्रिक तथा राष्ट्रवादी आन्दोलनका लागि अभिप्रेरणाको स्रोत भएको पनि उल्लेख गर्नुभयो । आफू मिन्हबाट बाल्यकालदेखि नै प्रभावित भएको उहाको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले मिन्ह असाधारण नेता भएको र उनले इतिहास परिवर्तन गर्दै आफ्ना जनता तथा मुलुकलाई गौरवान्वित बनाएको र विश्वलाई समाजवादी आन्दोलनको नयाँ दिशा र आयाम दिएको बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल कहिल्यै उपनिवेश नभएको र यसले आफ्नो सार्वभौमसत्ता तथा स्वतन्त्रता संरक्षण गर्न संघर्ष गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भियतनामको वर्तमान इतिहासले एउटा युद्धग्रस्त मुलुकले आफूलाई कसरी पुनर्निर्माण गर्छ भन्ने देखाएको र नेपालमा पनि युद्धपछिको अवस्थामा पुनर्निर्माणको चुनौती रहेको उल्लेख गर्नुभयो । उहाँले भियतनाममा माक्र्सवादको मौलिक उपयोगले नेपाली जनतालाई आफ्नो मुलुकले भोगेका अनेकौँ चुनौतीको उपयुक्त दिगो समाधान खोज्न अभिप्रेरणा दिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मार्क्सवाद तथा समाजवादको सिर्जनात्मक उपयोगबाट दुवै मुलुकले सामान्तवादी राजतन्त्र अन्त्य गर्न सफलता प्राप्त गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सन् नेपालमा २०१७ मा भएको निर्वाचनपछि जनताले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि जनादेश दिएको र नेपाल कम्युनिष्ट पार्टीसँग संसद्मा दुई तिहाइ बहुमत भएको बताउनुभयो । वर्तमान सरकारले समृद्ध नेपाल र सुखी नेपालीको चाहनालाई अगाडि बढाएको उहाँको भनाई थियो । प्रधानमन्त्री ओलीलाई प्रतिष्ठानका अध्यक्ष न्युऐन सुआन थाङले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू