अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०९ | Colorodo: 07:24

नवहरिहरधाम परियोजनाः १० दिनपछि निर्माण सुरु

बिआरटीनेपाल २०७६ वैशाख २७ गते ६:४४ मा प्रकाशित

मई १९ मा शिलान्यास हुने ओ.एच.आर.सी.

पेन्सिलभेनिया राज्यको ह्यारिसबर्ग नगर निवासी हिन्दुहरूको बहुप्रतीक्षित सामुदायिक भवन तथा आराधनास्थलको निर्माण अर्को सातादेखि सुरु हुने भएको छ । नवहरिहरधाम परियोजना अन्तरगत बन्न लागेको सो सामुदायिक भवन/मन्दिरको शिल्यान्यास यही १९ मई, २०१९ को दिन हुने ओ.एच.आर.सी. सूत्रले जनाएको छ ।

योजना अनुसार सो स्थलको निर्माण कार्य सकिएपछि समुदायका सबै हिन्दुहरूले आफ्नो संस्कार अनुकूल धार्मिक तथा सामाजिक गतिविधि गर्न पाउने आशा गरिएको छ ।

“अहिलेसम्म स्थानीयस्तरका सामुदायिक सेवा प्रदान गर्ने संस्थाहरूबाट सहयोग स्वरूप सरकारी तथा निजी भवन, सार्वजनिक पार्क, विद्यालय आदिमा हाम्रा कार्यक्रमहरू हुँदै आएका थिए । हाम्रै अनुशासनहीनताका कारण हामीले त्यस्ता स्थान पाउन छोडेका छौँ भन्ने कुरा त सबैलाई जानकारी हुनुपर्छ । अतः नवहरिहरिहरधाम परियोजनामा आफ्नै भवन तयार भएपछि पनि हाम्रो समाजका हरेक व्यक्तिले आफ्नो सभ्यता र अनुशासित चालचलनको विकास गर्नु उतिकै जरुरी छ,” ओ.एच.आर.सी. स्रोतले भनेको छ ।

सो परियोजना निर्माणकार्यका लागि ओ.एच.आर.सी. ले विभिन्न कार्यक्रम तथा अभियानमार्फत आर्थिक सङ्कलन पनि गर्दै आएको छ । गत अप्रिल महिनामा सम्पन्न वाल्मीकीय रामायण नवाह ज्ञानमहायज्ञमा मात्र ३ लाख ८७ हजार ५ सय ९० डलर ($3,87,590) सङ्कलन भएको संस्थाका अध्यक्ष तुलाराम नेउपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । सो नवाह ज्ञानमहायज्ञ गत अप्रिल महिनाको ६ देखि १४ तारिखसम्म सञ्चालन गरिएको थियो । यसबाहेक समाजका व्यक्ति विशेष, परिवारहरू र सेवा प्रदायक सङ्घ-संस्थाहरूले पनि निकै लामो समयदेखि ओएचआरसीलाई सो परियोजना सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरिरहेका जनाइएको छ भने सोही विज्ञप्तिमार्फत ओएचआरसीले सबै सहयोगीहरूमा कृतज्ञता अर्पण पनि गरेको छ ।

सो नवाह ज्ञानमहायज्ञकै अवसरमा परम्परावादी कट्टरता छोडेर सिङ्गै समुदायलाई संस्कार-संस्कृतिमा आबद्ध गराई एकताबद्ध समाजको नमुना पेस गर्दै पूर्वीय सभ्यता पूर्वको लागि मात्र नभई संसारभरिकै मानिसहरूका लागि हो भन्ने प्रमाणित गर्नु आवश्यक भएको र सबै सचेत चिन्तकहरू त्यसतर्फ लाग्नुपर्ने सन्देश पनि प्रवाह गरियो । यसै विचारलाई प्रमुखता दिई अघि बढाइएका अभियानमा ओ.एच.आर.सी.लाई लगातार साथ दिएर आशीर्वाद प्रदान गर्नुभएको भन्दै आचार्य श्रीचक्रपाणी (सीताराम अधिकारी) लाई कद्दरपत्रले सम्मान गरिएको पनि संस्थाको विज्ञप्तिमा जनाइएको छ । आचार्य चक्रपाणिका साथमा पण्डित हरि विनोद अधिकारी, पण्डित रामकृष्ण सुवेदी, पण्डित यदु ढकाल र पण्डित केदार ढुङ्गेललगायतका धार्मिक अभिन्ताहरुलाई पनि धन्यवादका शब्द हार पहिऱ्याइ प्रशंसा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सोही अवसरमा एकल परम्पराको हठी कट्टरता छोडेर सिङ्गै समाजलाई संस्कार- संस्कृतिमा आबद्ध गराई लैजानुपर्ने मत एकातिर अनि एउटै मात्र सम्प्रदायको पक्षपोषण गर्दै त्यसैको प्रवर्द्धनमा सकल ऊर्जाको लगानी गर्नुपर्ने मत अर्कोतिर भएर ह्यारिसबर्गवासी समाजको सामुदायिक एकतामा चोट लागेको कुरा ओ.एच.आर.सी.को विज्ञप्तिमा लाक्षणिक रूपले उल्लेख गरिएको छ ।

ओ.एच.आर.सी. का गतिविधिसित विभिन्न कारणले असन्तुष्ट भएर गतवर्षको नोभेम्बरमा फुटेको अर्को समूह श्रीवैष्णव परिषद्-ह्यारिसबर्गले एउटै समयमा एउटै कार्यक्रमको आयोजना गरेर सामुदायिक विभाजनको कुरालाई सार्वजनिक गरिदिएको थियो । ओएचआरसीलेसित कार्यक्रमको समय जुधाउँदै वाल्मीकीय रामायण ज्ञानमहायज्ञको नौ दिने कार्यक्रम आयोजना गरी परिषद्ले ह्यारिसबर्गमै श्रीलक्ष्मीनारायण मन्दिर तथा श्री वैष्णव सम्प्रदायका गुरु योगीराज श्रीकमलानयनाचार्य स्मृति पीठ स्थापनाको घोषणासहित आचार्य श्री केशव खतिवडालाई त्यसका पिठाधीश नियुक्तसमेत गरेको थियो ।

विभाजित समूहको नाम र गतिविधिलाई स्पष्टरूपले उल्लेख नगरीकन लाक्षणिक सङ्केतका साथ ओ.एच.आर.सी.को विज्ञप्तिमा भनिएको छ, “यो कार्यक्रम धार्मिक/ सांस्कृतिक चेतना जागरणका लागि लक्षित रहेकोले यहाँ कुनै निश्चित जाति, वर्ग, समुदाय वा भिन्न गुरु परम्पराका अनुयायीहरूलाई फरक व्यवहार नगरी ‘बसुधैव कुटुम्ब कम’ को सिद्धान्त परिपालन भएकोमा हामी अत्यन्त हर्षित छौँ । हामीमध्येको अधिकांश जनसङ्ख्या ‘एक राष्ट्र एक प्रजा नीति’ को नामबाट उदाएको नश्लीय तथा एवं विभेदीकरणको चपेटामा परेर देशनिकालामा परेको कुरा यदि सबैको लागि स्थापित सत्य हो भने हामीहरूले कमसे कम सामुदायिक साझेदारीको अभ्यास गर्न हाम्रा सन्ततिहरूलाई आजैदेखि सिकाउनु जरुरी छ । यदि त्यस्तो साझेदारी सिकाएनौँ भने सामाजिक अस्तित्वका लागि हामीले गर्ने सङ्घर्षको हल्ला ‘हो हो पाडरी पाडरी’ मा सीमित हुनेछ । हाम्रा आदर्शका प्रवचनहरू अव्यावहारिक अर्ती मात्र साबित हुनेछन् ।”

विज्ञप्तिमा अझ अगाडि भनिएको छ,“पुनर्वासपछि सुरु भएको एक खाले संक्रमणकालको अवस्थालाई पार गर्दै हाम्रो समाज पुस्तान्तरणको स्थितिमा पुगेको छ । यति बेला हामीले सामुदायिक साझेदारीको यस चिन्तनलाई चरितार्थ गर्न बहुजातीय, बहुसांस्कृतिक मान्यताको समन्वयमुखी संस्कार स्थापित गर्नुपर्ने भएको छ । एक एकलाई जोडेर मात्र हाम्रो सङ्क्रमणकालीन साझा लक्ष्यमा पुग्न सकिन्छ । हाम्रो अस्तित्वको रक्षा गर्न सकिन्छ । एक एक र अनेकमा टुक्रिएर हाम्रो सामुदायिक साझेदारीको रक्षा हुन सम्भव छैन ।”

“भन्नलाई त आफ्नै चित्त बुझाउनका लागि मान्छेले ‘भगवानको नाम जति ठाउँमा जपे पनि हुन्छ, मन्दिर जति वटा बनाए पनि हुन्छ’ भन्लान् ! तर समाजलाई फुटाइएकोमा भित्रभित्रै कुँडिएको उनीहरूको मन भने कसैले पनि देख्दैन । फुटाउने कुरामा जिम्मेवार केही मानिसहरूले आ-आफ्नो दलिल सही थियो भनेर वकालत नै गर्लान् । तर, हाम्रो समाजले देश, काल र परिस्थितिको कुरा अनुभूत गर्नुपर्थ्यो ! नाम नाम नाम ! सबैलाई नाम र पद चाहिएको ! नाम त वर-पिपल रोप्नेको पनि हुन्छ फाँड्नेको पनि हुन्छ ! अब यिनले कुन खाले नाम राख्ने हुन्”-ओ.एच.आर.सी. द्वारा आयोजित नवायज्ञमा उपस्थित दौरा सुरुवाल र अग्लो ढाका टोपी लाउने एक जना प्रौढले आफ्नो नाम गोप्य राखिदिने आग्रह गर्दै भने ।

सोही कार्यक्रममा कथाश्रवणका लागि मेरील्याण्डको बाल्टिमोरबाट आएका लीला शर्माले भने, “ह्यारिसबर्ग भनेको एउटा सिटी हो, एउटै सिटीभित्र, एउटै भाषा, एउटै संस्कृति र परम्परा मान्ने जमात, एउटै पीडा भोगेर २० वर्षसम्म एकै खाले छाप्रामा बाँचेर आएका, एउटै योगीराज गुरुका शिष्यहरू, एउटै गाउँमा दुई अलग अलग मण्डप राखेर अलग अलग पण्डितहरू जुटेर एउटै भगवान् (राम) को गुणगान गरेको भन्छन् । खै के गुणगान भनौँ यो ! अझ त्यसमाथि कुनै पण्डितहरू गाउँ गाउँ घुमेर मानिसहरूलाई ‘फलानाको कार्यक्रममा जाऊ, उम्काकोमा नजाऊ’ भन्दै उर्दी जारी गरी हिँडेका पनि पाइयो । यसो गर्दा यहाँ भगवानको गुणगान भयो कि के भयो, आफैँ अनुमान गर्नुहोस् ! मलाई त यो धर्मको नाममा व्यक्ति विशेष र ससाना गुटको लिप्सा पूरा गर्ने नौटङ्की झैँ लाग्यो !”

अर्का एक स्थानीय सामाजिक अभियन्ताले भने,“ह्यारिसबर्गको समाजलाई जोड्ने भन्दा तोड्ने उदाहरण पेस गऱ्यो भनेर आरोप नै आइलागेको छ । यद्यपि, यो कुरो ह्यारिसबर्गमा मात्र होइन, सबैतिर हुँदै आएको हो । यस्तो विभाजन हाम्रो समाजमा मात्र हुने कुरा पनि होइन । समाजको पहिचान र अस्तित्व रक्षा गर्ने भनेर नारा दिइरहेका व्यक्ति र बुद्धिजीवीहरूका लागि यो चुनौती हो । हरेक मानव समुदायमा भिन्न विचार, भिन्न सरोकार र भिन्न उद्देश्यका मानिसहरू हुन्छन् । तर, ती सबै खाले विचार, सरोकार र उद्देश्यहरूलाई साझा बनाएर समझदारी कायम गर्दै अघि बढेमा त्यो समाज अरूको लागि पनि उदाहरणीय बन्न सक्छ !”

सम्पन्न नवाह महायज्ञ तथा नवहरिहरधाम परियोजना निर्माणको सम्पूर्ण अभियानमा योगदान गर्ने सबैलाई धन्यवाद ज्ञापनसहित सामाजिक एकताको लागि जोड दिँदै ओएचआरसीले भनेको छ,“एउटा कार्यात्मक समूहको अभ्यस्त साझेदारीबाट मात्र कुनै पनि सङ्गठनका लक्षित योजनाहरू अघि बढ्दछन् भन्ने कुरामा हामी विश्वास गर्दछौँ । अतः पूर्वीय सभ्यता, संस्कृति, आध्यात्मिक दर्शन तथा ओएचआरसीको आदर्श, र दृष्टिकोणलाई चरितार्थ गर्ने दिशामा यहाँहरूबाट प्रदर्शित चासो र सक्रियताले हामी सबैलाई गौरवान्वित तुल्याएको छ । माथि उल्लेख गरिए अनुरूपको नवाहमहायज्ञ कार्यक्रमको समापनपछि हामीले आफ्नो संस्कृति र समाजको साझा अस्तित्वरक्षाको उद्देश्यमा एकताबद्ध भएर पूर्ण समर्पणका साथ काम गरेमा कहिल्यै असफल हुनुपर्दैन भन्ने नजिर तय भएको पनि अनुभूत गरेका छौँ ।” 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू