अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२४ | Colorodo: 20:39

नेजाद्वारा आयोजित एनआरएनए बहसमा उमेदवार माथि दुर्व्यबहारको प्रयास: नियोजित कि भवितव्य ?

बिष्णुहरि घिमिरे २०७६ वैशाख २३ गते ९:३३ मा प्रकाशित

अमेरिका मे ६ । नेपाल अमेरिका पत्रकार सङ्घ नेजाद्वारा टेक्ससको डलासमा आयोजित गैर आवासीय नेपाली सङ्घ ‌(एनआरएनए) अमेरिकाका अध्यक्ष पदका उम्मेदवार बिचको बहसमा एक उम्मेदवार माथि दुर्वेहारको प्रयास भएको छ । विभिन्न अनलाइनहरूले फेसबुक मार्फत गरेको प्रत्यक्ष प्रसारणको भिडियो पुरा हेर्दा जे कोहिलाई पनि कार्यक्रमको निष्पक्षतामा शङ्का गर्ने ठाउँ दिएको छ ।  

अध्यक्षका प्रत्यासी तथा एनआरएनए अमेरिकाकामा वर्तमान वरिष्ठ उपाध्यक्ष सुनिल शाहले उनी माथि लागेका गम्भीर आरोपका बारेमा जवाफ दिँदै गर्दा उनी माथि अबरोधको प्रयास भएको हो । यो हरकत नियोजित वा भवितव्य भन्ने शङ्का उत्पन्न भएको छ ।

नेजाले आयोजना गरेको बहसमा अध्यक्षका तीन जना प्रत्यासी सुनिल शाह, सञ्जय थापा र सूर्य लम्साललाई ड्यासमा राखिएको थियो । पत्रकारको संस्थाले आयोजना गरेको कार्यक्रमको सिट प्लानिङमा नै पक्षपात देखिएको छ । अध्यक्षका प्रत्यासी तीन जना मध्ये सञ्जय थापा र सूर्य लम्साललाई एकै ठाउँमा राखिएको थियो भने बिचमा दुई जना पत्रकार उभिएर कार्यक्रम चलाउने र अर्को कोल्टोमा सुनिल शाहलाई राखिएको थियो । कार्यक्रमको सुरुमा सुनिल शाह प्रत्यक्ष प्रसारण गरिएका क्यामरामा ओझेलमा देखिन्थे ।

‘वनमा बाघ कराउनु र खोरमा बाख्रा हराउनु’ भने जस्तै कार्यक्रम सञ्चालकले सुरुमा गरेका आशङ्का-अनुरोध र कार्यक्रमको अन्त्यमा भएका हर्कतको बिचमा कुनै तारतम्भय त थिएन भन्ने शङ्का उत्पन्न गराएको छ ।

नेजाका महाचिव एवं कार्यक्रम सञ्चालक किरण मरहठ्ठाले सुरुमा कार्यक्रमको आचार संहितबारे बताउँदा ‘मासले गाइडेट गर्‍यो भने जोखिम हुन्छ’ भनेका छन् । त्यस्तै अर्का कार्यक्रम सञ्चालक सूर्य थापाले भनेका छन् ‘ मेरो दुई वर्षको डालास बसाइको क्रममा यहाँका बासिन्दा अनुशासित छन् ।’

बहसमा मुख्य तय एनआरएनए अमेरिकाको सदस्यता वितरणका समयमा सरवर स्लो भएको र अब वेबसाइटको सुरक्षा र विस्वासनीयताका बारेमा छलफल हुँदै गर्दा अध्यक्षका प्रत्यासी सञ्जय थापा र सूर्य लम्साल अर्का प्रत्यासी सुनिल शाह प्रति खनिएका हुन्छन् । चुनावी प्रतिस्पर्धामा उत्रिएका उमेदवारले एकले अर्कोलाई आरोप लगाउनु सामान्य हो । सार्वनीक बहस भए पछि हरेक उमेदवारले आफूले लागेका कुरा व्यक्त गर्न र आफूमाथि लागेका आरोपको जवाफ दिन पाउनु पर्ने हुन्छ ।

तर नेजाले आयोजना गरेको कार्यक्रममा त्यस्तो निष्पक्षता देखिँदैन । सञ्जय थापा र सूर्य लम्सालले बोले पछि अन्तिम वक्ताका रूपमा बोल्न निम्त्याइएका सुनिल शाहले आफू माथि लागेको आरोपको खण्डन गर्न लाग्दै गर्दा दिनेश शर्मा भन्ने व्यक्ति उत्तेजित हुँदै मञ्चतर्फ अगाडि बढ्छन् । त्यस पछि हो हल्ला हुन्छ, सुनिल शाहले आफूमाथि लागेको आरोपको खण्डन गर्ने वा बचाउ गर्ने अवसर गुमाउँछन् ।

दिनेश शर्माले पछिल्ला समय सार्वजनिक गरेका केही भिडियोहरू एनआरएनए अमेरिकाको वेब साइड सुनिल शाहको नियन्त्रणमा रहेको भन्ने आशयका छन् । दिनेश शर्मा आफैमा अध्यक्षका अर्का प्रत्यासी सूर्य लम्सालका क्याम्पेनर हुन् । एउटा उम्मेदवार समर्थकले अर्को उमेदवारका बारेमा विभिन्न आरोप लगाउन सक्छन् त्यो आरोप सत्य हुन पनि सक्छ नहुन पनि सक्छ । त्यसका बारेमा छानबिन पनि हुनु पर्छ । 

तर एउटा बहसमा कुनै उमेरवादलाई आरोप लगाइन्छ भने त्यसको जवाफ दिनु पाउनु पर्छ । त्यो वातावरण मिलाउने जिम्मेवारी कार्यक्रम सञ्चालक र आयोजक संस्थाको हो । नेजा कुनै पार्टी विशेष वा उम्मेदवार विशेषको होइन । कुनै उमेरवादलाई चोख्याउने र कुनै उमेरवादलाई खुइल्याउने काम नेजाबाट हुनु हुँदैन । सार्वजनिक रूपमा कुनै एक उम्मेदवार विशेषको क्याम्पेनीङमा खुलेर देखिएका व्यक्ति कार्यक्रम सञ्चालक हुँदा पनि कार्यक्रमको विश्वसनीयता गुम्छ । नेजाका अध्यक्ष सुदिप पन्तले म नेजामा राजनीति गर्दिन सबै दल र विचारधाराका लागि नेजा समान हो भन्ने तर सार्वजनिक कार्यक्रममा अर्को व्यवहार गर्नु भनेको उनको वेवकुफि हो ।

यदि कार्यक्रम सञ्चालकलाई त्यो हलमा केही न केही गडबडी हुँदै नै थियो भन्ने शङ्का थियो र त्यही अनुसार सुरुमा भनिएको हो भने सुरक्षामा सतर्कता किन अपनाइएन । यदि भवितव्य थियो भने पनि कार्यक्रममा हुलदङगा गर्न खोज्ने व्यक्तिलाई हलबाट बाहिर निकालेर उमेरवादलाई आफूमाथि लागेका आरोपबारेमा प्रस्ट पार्ने वातावरण किन बनाइएन । के यो नजिर बन्दैन ? भोलिका दिनमा सञ्जय थापा माथि वा सूर्य लम्साल माथि सुनिल शाह पक्षधरले अनर्गल आरोप लगाउने र उनले जवाफ दिने समयमा हुलहुज्यत गरे भने के हुन्छ ?

नेजाले आयोजना गरेको सिट प्लानिङमा अध्यक्षका प्रत्यासी सूर्य लम्सालले पनि असन्तुष्ट जनाएका छन् । लेखक सँगको टेलिफोन कुराकानीमा लम्सालले भने ‘सिट प्लानिङ किन त्यस्तो भयो मेरो पनि प्रश्न छ ।’

पटक पटकको प्रयास पछि सम्पर्कमा आएका नेजा अध्यक्ष सुदिप पन्तले कुनै नियत बस भन्दा पनि मञ्चका कारणले सिट प्लान त्यस्तो भएको प्रतिक्रिया दिए । तर भिडियोमा हेर्दा अध्यक्ष पन्तको दाबी अनुसार देखिँदैन । तीन जना उमेरवादलाई लस्करै राख्ने ठाउँ देखिन्छ ।

हुलदङ्गा हुँदै छ भन्ने पूर्व अनुमान नभएको सञ्चालक मध्येका एक सूर्य थापाको दाबी छ । ‘प्रायशः यस्ता बहसमा उमेदवारको समर्थन र विरोधमा हुटिङहरु हुने भएकाले हामीले त्यसो नगर्न सम्झाएका मात्र हौ ।’

अध्यक्षका प्रत्यसी सुनिल शाहले आफू माथि लागेका आरोपका बारेमा प्रस्ट प्रार्ने वातावरण नदिएकोमा असन्तुष्टि व्यक्त गरे । ‘चुनावमा जे पनि आरोप लाग्छ, तर त्यो प्रमाणित हुनुपर्‍यो, मैले बोल्न पाहुनु पर्ने थियो, त्यो मलाई पनि चित्त बुझेको छैन ।’ शाहले चुनावी माहौल आफ्नो अनुकूल नदेखिए पछि प्रतस्पर्धीहरुले अनर्गल आरोप र प्रचार गरेको बताए ।

अध्यक्षका अर्का प्रत्यासी सञ्जय थापा सँग प्रतिक्रिया लिने प्रयास सफल हुन सकेन । टेलिफोन मार्फत सम्पर्कमा आएका सूर्य लम्सालले वैचारिक बसहमा बल प्रवेश हुनुलाई दुखद भने, ‘ मैले विचारको बहस राखेको हु, उम्मेदवार बिचमा वैचारिक बहस हुनु पर्दछ, सबैले बोल्न पाउनु पर्दछ त्यसो किन भएन त्यो त आयोजकलाई सोध्नुस् ।’ उनले आयोजक वा सञ्चालकलाई केही गडबड हुँदै छ भन्ने थाहा थिए भने किन सावधानी अपनाइएन भन्ने प्रश्न गरे ।

नेजा अध्यक्ष सुदिप पन्थले आफूहरू कसैलाई फुटाउने वा कसैको पक्ष वा विपक्षमा नरहेको दाबी गरे । ‘नेजा कसैलाई फुटाउने भन्ने होइन, कार्यक्रममा जाँदै गर्दा कहिलेकाहीँ समस्या आउँछ, उमेरवादलाई आफ्नो कुरा प्रस्ट राख्ने माहौल किन बनेन त्यो त किरणजीलाई सोध्नुस्, तर कसैलाई उचाल्ने, कसैलाई होच्याउने भन्ने नेजाको उद्देश्य होइन ।’

कार्यक्रम सञ्चालक मध्येका एक सूर्य थापाले होहल्ला पछि पनि आफूहरूले सुनिल शाहालाई आफ्नो भनाई राख्ने अवसर दिएको दाबी गरे । तर लाइभ भिडियोमा त्यस्तो देखिँदैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू