अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०३ | Colorodo: 23:18

गैर आवासीय नेपालीहरूले दोहोरो नागरिकता पाउने– वरिष्ठ नेता नेपाल

बिआरटीनेपाल २०७६ वैशाख २० गते ९:२६ मा प्रकाशित

पूर्व प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक प्रयोजन बाहेक अन्य अवस्थामा गैर आवासीय नेपालीहरूले दोहोरा नागरिकता पाउनुपर्ने बताउनु भएको छ । आफ्नो निजी पारिवारिक भ्रमणको क्रममा डेनभर, अमेरिका रहनुभएका नेता नेपालले प्रवासी नेपाली मञ्च कोलोराडो च्याप्टर अमेरिकाले आयोजना गरेको अन्तकृया एवं भेटघाट कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो ।

मुलुकमा राजनीतिक क्रान्ति सम्पन्न भई मुलुक शान्ति र स्थायित्वको दिशामा अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले प्रवासी नेपालीहरूलाई निर्धक्क भएर नेपालमा लगानी गर्न पनि आग्रह गर्नुभयो । राजनीतिक क्रान्ति र भाषणले मात्रै मुलुकमा आर्थिक क्रान्ति नहुने उहाँको भनाई थियो । मुलुकमा अहिलेको प्रमुख समस्या गरिबी, अभाव र बेरोजगारी रहेको स्वीकार गर्दै नेता नेपालले भ्रष्टाचारजन्य क्रियाकलापमा नियन्त्रण गर्दै अगाडि वढ्नुपर्नेमा जोड दिनुभयो । संवृद्धिको कुरा भन्दा पनि परिणाममुखी काम गरी राजनीतिक दल र सरकार अगाडि बढ्नुपर्ने नेपालको भनाई थियो ।

एक फरक प्रसङ्गमा उहाँले दरबार हत्याकाण्ड छानबिन प्रक्रिया एक जटिल प्रक्रिया भएकोले आफू तत्कालीन छानबिन समितमा नबसेको खुलासा गर्नुभयो । हत्याकाण्डका विषयमा अझै पनि कसैलाई केही लागेको भए खोजतलास गर्न उहाँले आग्रह गर्नुभयो ।  

च्याप्टरका अध्यक्ष श्याम श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा याक एन्ड यती रेस्टुरेन्टकी वनर मञ्जु भट्टराई र च्याप्टर अध्यक्ष श्रेष्ठले नेता नेपाललाई खादा सहित स्वागत गर्नुभएको थियो भने नेपाली घरका पूर्व अध्यक्ष योगराज गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम प्रवासी नेपाली मञ्च कोलोराडो च्याप्टर महासचिब विजय बगालेको सञ्चालनमा सम्पन्न भएको थियो । बिआरटी नेपाल डट कमको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरेको थियो ।

 

प्रतिक्रिया