अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३४ | Colorodo: 07:49

यस्ता छन् बर्डफ्लूबाट जोगिने उपायहरू

बिआरटीनेपाल २०७६ वैशाख १९ गते ९:४९ मा प्रकाशित

नेपालमा बर्ड फ्लुबाट पहिलोपटक मानिसको ज्यान गएपछि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई अपील गरेको छ । बर्ड फ्लुबाट जोगिन नियमित साबुन पानीले हात राम्रोसँग धुने, आफ्नो वरिपरिको वतावरण सफा राख्ने, बिरामी तथा मरेका कुखुरा तथा चराचुरुङ्गीबाट टाढा रहने, प्रत्यक्ष सम्पर्क भएका बिरामी व्यक्तिहरू तथा चराहरू नजिक देखिए वा आफूलाई बिसञ्चो महससु भएमा छिटो उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा जान पनि मन्त्रालयले आग्रह गरेको छ ।

यसैगरी, बच्चाहरूलाई मृत वा बिरामी पन्छीबाट टाढा राख्नुपर्ने, कुखुराको काँचो मासु काँटछाँट गर्ने वा पकाउने मानिसले नाङ्गो हात, खुला नाक मुख गरी मासु नचलाउन पनि आग्रह गरिएको छ । कम्तीमा पनि हातमा पञ्जा, मुखमा मास्क वा रुमाल तथा एप्रोन लगाएर मात्र मासुको काम गर्दा यस रोगको जोखिम कम हुने बिज्ञहरुले बताएका छन् ।

मासु काटीसकेपछि हात राम्रोसँग साबुन पानीले सफा गर्ने, मासु तयार गर्दा प्रयोग गरिएका भाँडाकुँडा, औजार, अचानोलाई राम्रोसँग सफा गरी निर्मलीकरण तथा निसङ्क्रमण गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । ईपीडीमीयोलोजी रोग नियन्त्रण महाशाखाका प्रमुख डा विवेककुमार लालका अनुसार कुखुराको मासु राम्ररी पकाएर खानु पर्दछ । कम्तीमा ७० डिग्री सेल्सियस तापक्रममा मासु पकाउँदा बर्डफ्लूको भाइरस मर्छ ।

मन्त्रालयले जङ्गली तथा घरपालुवा पक्षी मरेको वा बिरामी भएको देखिएमा नजिकको पशु स्वासथ्य कार्यालयमा जानकारी गराउन पनि आग्रह गरेको छ । मृत पन्छी र तिनीहरूको सुलीबाट टाढा रहन र सुरक्षित रूपमा गाड्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू