अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१० | Colorodo: 17:25

सार्क उद्योग वाणिज्य संघको बैठक– नेपालमा लगानीको आह्वान

बिआरटीनेपाल २०७६ वैशाख १९ गते ९:४७ मा प्रकाशित

सभामुख कृष्णबहादुर महरा तथा नेपालका उद्योगी व्यवसायीहरूले दक्षिण एसियामा नै नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको बताउनुभएको छ । बिहीबारदेखि काठमाडौंको चन्द्रागिरीमा शुरू भएको सार्क उद्योग वाणिज्य संघको ७७ औं बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । सभामुख महराले क्षेत्रीय रूपमा आर्थिक समृद्धिका लागि कार्यरत संस्था सार्क उद्योग वाणिज्य संघका गतिविधिले सिंगो दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका उद्देश्यहरू हासिल गर्न सहयोग पुर्याउने विश्वास प्रकट गर्नुभयो ।

दक्षिण एसियाली राष्ट्रहरू बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी आकर्षणका माध्यमबाट यस क्षेत्रको समृद्धिका लागि संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिंदै प्रमुख अतिथि महराले संघको बैठक यस दिशामा पूर्णरूपमा सफल हुने विश्वास आफूले लिएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले दक्षिण एसियामा नेपाल लगानीका लागि प्रमुख आकर्षणको थलो बन्दै गएको बताउनुभयो । हालै सम्पन्न लगानी सम्मेलनबाट सार्क लगायत विश्वमै नेपालमा बन्दै गएको लगानीको वातावरणका विषयमा सन्देश गएको उहाको भनाई थियो ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत मझार जोभेदले सार्कलाई समृद्ध क्षेत्र र सुखी जनता अभियानमा अगाडी बढाउनु पर्ने र यसको नेतृत्व सार्क उवासंघ जस्ता संस्थाले लिनुपर्ने सुझाव दिनुभयो । सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रूवान इदरिसिंघेले सहकार्य, केनेक्टीभिटी, स्वतन्त्र आवात जावत यस क्षेत्रको आर्थिक समृद्धि हासिल गर्ने आधार भएकाले यसका लागि सार्क सदस्य राष्ट्रहरू बीच सामूहिक प्रयासमा जोड दिनुभयो ।

सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष, महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले आपसी सहकार्यका क्षेत्रहरू पहिल्याउंदै अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । सार्क उवासंघका पूर्व अध्यक्ष दासो उगेन दोर्जी र संघका वरिष्ठ उपाध्यक्ष इफ्तिखार अलि मलिकले आपसी संवाद र छलफलका माध्यमबाट यस क्षेत्रको आर्थिक विकास र समृद्धिका एजेण्डालाई अगाडि बढाउनु पर्ने बताउनुभयो । कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरू, सार्क उद्योग वाणिज्य संघका पदाधिकारीहरू, कार्य समिति सदस्यहरू, साधारण सदस्यहरू, नेपाल लगायत सार्क क्षेत्रका उद्यमी व्यवसायीहरूको सहभागिता रहेको छ । संघको बैठक शुक्रबारसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू