अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

पोखरामा ८० फिट अग्लो नेपालको झण्डा सहितको माछापुच्छ्रे बिम्ब पार्क बनाईने

बिआरटीनेपाल २०७६ वैशाख १६ गते १०:०६ मा प्रकाशित

पोखराको ड्यामसाइडमा नेपालको राष्ट्रिय झण्डा सहितको माछापुच्छ्रे बिम्ब पार्क निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा बिम्ब पार्क बन्न लागेको हो ।

४ करोडको लागतमा निर्माण हुन लागेको उक्त पार्क सहितको भौतिक संरचनाको एक समारोहका बीच सोमबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले शिलान्यास गर्नुभयो । कार्यक्रममा बोल्दै मुख्य मन्त्री गुरुङले आर्थिक विकास र समृद्धिको लागि सानो प्रयासबाट बाट प्रारम्भ सुरुवात भएको बताउदै प्रदेशमा पर्यटन प्रवर्धन गर्न पुर्वाधार विकास गर्नुपर्ने बताउनुभयो । फेवाताल संरक्षणको लागि प्रदेश सरकार लागेको बताउदै मुख्य मन्त्री गुरुङले सर्बोच्व अदालतले दिएको आदेश पालना गर्ने प्रतिवद्धता जनाउनुभयो । प्रदेश सरकारको गठन पछि विकासमा विकेन्द्रिकरण सुरु भएको उहाँको भनाई थियो । मुख्यमन्त्री गुरुङ्गले निर्माण कम्पनी बिनु कन्स्ट्रक्सनलाई तोकिएको मिति आउँदो असार २० गते भित्र पार्क निर्माण गर्न आग्रह पनि गर्नुभयो ।

पोखरा महानगरपालिका र गण्डकी प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयसंगको साझेदारीमा उक्त योजना अघि बढेको पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले बताउनुभयो । आर्थिक विकास र समृद्धिको लागि स्थानिय सरकार महानगरले प्रदेश सरकारसंग समन्वय गरी अघि बढेको बताउदै मेयर जिसीले भविष्यमा पनि एक आपसमा समन्वय र सहकार्य गरी अघि बढ्ने बताउनुभयो ।

एक करोडको बजेटमा पहिलो चरणमा उक्त पार्कको निमार्ण कार्य हुने छ भने ७६ लाख २९ हजार २ सय १४ रुपैयाको लागतमा बिनु कन्स्ट्रक्सनले उक्त पार्क निर्माणको प्रारम्भिक काम गर्ने जनाईएको छ । पार्कमा टिकट काउण्टर, टि सप, पानीको फोहोरा, रेष्टरुम, पेभिलियन, वालउद्यान, ८० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा लगयातका बिशेषता रहनेछन् । पोखराको ड्यामसाइड क्षेत्रबाट आकाश खुल्दा माछापुच्छ्रेको प्रतिविम्वि फेवातालमा पर्ने भएकोले उक्त स्थानमा ८० फिट अग्लो नेपालको राष्ट्रिय झण्डाको प्रतिविम्व पनि फेवातालमा पर्ने गरी पार्क निमार्ण गर्न लागिएको हो । उक्त पार्कबाट तस्विर लिदा माछापुच्छ्रे  र नेपालको राष्ट्रिय झण्डाको प्रतिविम्व एकै साथ आउने छ ।

इन्जिनीयर शोफिया गुरुङले उक्त पार्कको डिजाइन गर्नुभएको हो । पार्क निर्माण सगै पोखरामा पुनः अर्को एक नौलो पर्यटकीय गन्तव्य थपिने छ ।

प्रतिक्रिया