अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०२ | Colorodo: 11:17

बदलाव

सरस पाण्डे, धादिङ २०७६ वैशाख १२ गते २३:४० मा प्रकाशित

कथा

केही महिना अघि गोपाल काकाको घरमा सरला नाम गरेकी नयाँ दुलही भित्रिएकी थिइन । रविनले बिहे गर्‍यो अब त सुन्तलीले सुख पाउने भइन् भनेर सबै खुसी थिए । रविन पाँच वर्षको हुँदा उसको बुवाको स्वर्गवास भएको थियो । सुन्तलीले आफ्नो गाँस काटेर खुवाएर छोरालाई हुर्काएकी थिइन् ।दुःख र गरिबीको परिभाषा सुन्तलीको घरको बाटो हिँड्ने जो कोहीले बुझ्दथे । मेलापात गरेर छोरालाई पढाउनसमेत पठाएको देखेर सबै छक्क पर्थे । मेरो घर र माइती नजिकै भएकोले सुन्तलीको घरको अवस्था मलाई पनि थाहा थियो ।

एस.एल.सी सकेपछि रविन पढ्न काठमाडौँ गयो । धादिङबाट काठमाडौँ नजिकै भएको हुनाले ऊ शुक्रवार प्रायः सधैँ घर आउँथ्यो र शनिवार फर्कन्थ्यो । रविनले पनि आमालाई धेरै माया गथ्र्यो नगर्नु पनि किन गाउँमा सबैले तँलाई आमाले धेरै दुःखले हुर्काएकी हुन् ।उस्तै भए उहिल्यै छोडेर पोइल हिँडिसक्थी। कहिल्यै हेला नगर्नु। सुन्तली साह्रै सोझी छिन् । माया गर्नु भनेर जसले भेटे पनि सम्झाउँथे। तर बिहे भएपछि रविनको बानीमा परिवर्तन आएको देखेर सबै अचम्मित थिए। सुन्तलीको अवस्था देखेर मलाई पनि सरलालाई सम्झाउन मन लाग्यो । एक दिन समा, आभा र म सामान किन्न बजार जाँदै थियौँ । बाटोमा सरलासँग भेट भयो ।उनी हामीसँग बोल्नै खोजिनन्। तर्किएर हिँडिन् । भित्रिएकी दिननै हाँसेकी मान्छे आज चाहिँ कति ठूली पल्टेकी भन्दै समाले उसले सुन्ने गरी प्याच्च बोली । तर,उनी नसुनेझैँ गरेर बाटो लागिन् । एक दिन पँधेरामा उनी चोसेसँग मस्त कुरा गर्दै रहिछिन्। म जाने बित्तिकै उनीहरू दुवै चुपचाप भए ।

म गाग्रोमा पानी भरेर उनीहरूसँग नबोली हिँडे। हामी तीनैओटीले यो सबै करामत चोसेकै हो भन्ने अडकल गरिसकेका थियौँ। नभन्दै हो नै रहेछ ।सबै आआफ्नो काममा व्यस्त भएका कारण दुईचार दिन देखी कसैको भेटघाट भएको थिएन। चोसे पनि एकहप्तादेखि साह्रै थला परेकी रहिछे।बिरामी भएको गाइँगुइँ हल्ला मेरो कानमा पनि पर्‍यो ।म उसको घरतिर लम्किएँ। चोसेलाई उसकै घरमा पनि कसैले राम्रो वास्ता नगरेको देखेपछि मलाई अलि नराम्रो लाग्यो। उसको बानी जे जस्तो भए पनि मानवताको नाताले मैले सकेको सहयोग गरेँ।सरला नयाँ नै थिइन्। चोसेको घरका सबैसँग राम्रो चिनजान नभएको कारणले होला उनी आइनन्। चोसेलाई गाउँकै स्वास्थ्य चौकी लगेर उपचार गरेर म बाटोमा फर्कँदै थिएँ। मेरा उही दुई साथी गाउँकै हिमाली काकीको बुहारी समा र हुत्तबहादुर मामाको बुहारी आभा हामी नजिक आएर उभिए। मैले चोसेलाई समाएर ल्याएको देखेपछि दुवै मुखामुख गरेर आँखा तर्दै बाटो लागे । चोसेको घर नपुग्दै फेरि सरलासँग भेट भयो । उनी मलाई हेरेर हाँसिन् । हिजोसम्म मुखले बोल्दा खल्तीको पैसा सक्किन्छ झैँ गर्ने मान्छे आज दिदी हजुरलाई धन्यवाद,मनकुमारी दिदीलाई उपचार गरेर ल्याउनुभएकोमा रे। खास नाम मनकुमारी भए पनि चोसो पसारेर कुरा काट्ने बानीले गर्दा गाउँमा प्राय सबैले उसको पछाडि चोसे नै भनेर भन्ने गर्छन् । म केही नबोली चोसेलाई घर पुर्‍याएर आफ्नो घर जाँदै थिएँ। सरला अघिकै ठाउँमा बसेकी रैछिन्।

दिदी
म नसुनेझैँ गरेर अघि लागेँ ।
दिदी….. सुन्नुस् न !
म अझै अघि बढेँ।
सीमा दिदी सुन्नुस् न….
नामले नै बोलाएपछि म पछाडि फर्केँ,उनी त मेरै नजिक आइसकिछन्।
मलाई पो बोलाएको ? मैले थाहा नपाएझैँ गरेर सोधेँ।
हो नि दिदी।
तिमी त हामीसँग बोल्दिन थ्यौ त,आज कसरी बोल्न मन लाग्यो?
हजुरहरू नराम्रो मान्छे भनेर मनकुमारी दिदीले भन्नुभएकोले म नबोलेको दिदी ।
हो र?
हो दिदी ।तर, हजुर त त्यस्तो….. (अन्कनाउँदै )
के त्यस्तो?
मनकुमारी दिदीले भनेजस्तो।
कसरी थाहा पायौ र?

मनकुमारी दिदीले त्यस्तो कुरा काट्दा पनि हजुरले उहाँ थला पर्दा सहयोग गर्नुभयो।

त्यो त मेरो धर्म हो सरला, गाह्रो पर्दा सबैलाई सहयोग गर्नुपर्छ। अनि,सबैको बानी कहाँ एउटै हुन्छ र? उसको बानीले गाउँका सबै आजित भैसके । सबैको बनेको घर भाँड्न उनलाई केही दिन पनि लाग्दैन । सुन्दैछु तिमी पनि आफ्नो सासूसँग छुट्टिन खोज्दै छौ रे । उनले कम्ती दुःख गरेर तिम्रो श्रीमानलाई हुर्काएकी होइनन् । एउटा छोरो भनेर आफूले खाई नखाई गरेर आज यहाँसम्म पुर्‍याइन् ।तर, खै तिमीले त राम्रो वास्ता पनि गर्दिनौ रे। श्रीमान् नहुँदा एक्लो जीवन काट्न साह्रै मुस्किल हुँदो रहेछ । एउटा भएको छोरोले पनि बुहारीको कुरा सुनेर बचन लगायो अब कता जाऊँ हामीसँग भन्दै हुनुहुन्थ्यो, तिम्री सासू। तिमी हामीसँग नबोलेकोले हामीले पनि केही भनेनौँ । दिदी मलाई यो सबै सिकाउने मनकुमारी दिदी नै हो। बल्ल आज मेरो आँखा खुल्यो भन्दै सरला कुद्दै आफ्नो घरतिर लागिन् । मेरो मन पनि हलुङ्गो भयो । सरलाले अब सासूलाई राम्रो गर्छे कि सोच्दै म घर पुगेँ । आभा र समा घरमा आएर बसिरहेका रहेछन्।

“सीमा दिदी हजुरको के पारा हो यस्तो?”एकै स्वरमा दुवै कराउन थाले ।

“उसलाई गाह्रो परेको बेलामा सहयोग गर्देको हो । हामी पनि ऊ जस्तै भयौँ भने ऊ र हामीमा के फरक रह्यो र ?” मैले भनेँ ।
“गरेको देख्नेलाई पो सहयोग गर्नु ।” आभा फेरि रिसाउँदै कराई।

समाले पनि हो मा हो थप्दै अरू पनि केके भन्दै उफ्री।

तिमीहरू नरिसाओ यसपालि चोसे साह्रै गलेकी हुनाले सहयोग गर्देको हुँ। बरु, उत्रेपछि हामी सबै मिलेर फेरि एक पटक सम्झाऔँ।

लागेको बानी कहाँ हट्छ र ? अघिल्लो वर्ष हजुरले सम्झाएको बेलामा उल्टै हपारेकी बिर्सेको?

आभा, तिमीले भनेको पनि ठिकै हो तै पनि मान्छे हो एक पटक फेरि सम्झाउँदैमा के हुन्छ र? सम्झिन्छे कि ।

आ….. हामी त सक्दैनौँ । जे सुकै गर्नुहोस् । भन्दै उनीहरू हिँडे । पन्ध्र दिन भैसकेको थियो । म पँधेरोमा पानी लिन गएको थिएँ। समा र आभा पनि रहेछन् । उनीहरू मसँग बोल्न खोजेनन् । केही परबाट दुब्लो मान्छेको आकार मात्र भएको कोही आउँदै गरेको देखेर म पानी भरिएपछि पनि पँधेरोमै बसेँ। आभा र समा पनि त्यही व्यक्तिलाई हेर्दै थिए। नजिक नजिक आएपछि कम्मरमा गाग्रो बोकेकी महिला उही चोसे रैछिन्। मलाई खुसी लाग्यो ।

सन्चो भयो ?

ज्वरो त ठिक भयो दिदी शरीर पुरै गलेको छ । मेरो प्रश्नको उत्तर दिइन् र पानी भर्न लागिन्।

आभा र समा खासखुस गर्दै अझै पँधेरामै थिए।

एक बाटा लुगा बोकेर सरला पनि आइन्।

आज उनले धुन ल्याएको लुगाको थुप्रोमा सासूको लुगा पनि देखेर मलाई झनै खुसी लाग्यो । चोसेले पानी भरेर गाग्रो पाखा लगाई। खुइय… गर्दै सबैको मुखमा पालैपालो हेरी। लौ दिदी बहिनी हो, मैले फेरि नयाँ जुनी पाएको छु। अघिल्लो जुनीमा के कसो गरेँ, के कसो भनेँ। मलाई माफ गरिदेओ। मेरो बानीले गर्दा मलाई घरमा पनि कसैले वास्ता गरेनन्। तिमीहरू तीनोटीको नराम्रो कुरा गरेर मैले सरलालाई आफूतिर मात्र पार्न खोजेको थिएँ। सीमाले सहयोग नगरेकी भए आज म यहाँ पानी लिन आउन कहाँ सक्थेँ होला र। खुइय…. हामी सबै मुखामुख गर्‍यौँ । आभा र समाएको अनुहारमा पनि खुसी छरियो। हामी सबै मिलेर हिँड्नुपर्छ । हिजोसम्म जो भयो भयो अबदेखि महिलाले महिलाको कुरा काटेर होइन । सुख, दुःख साटेर जीवन बिताउनु पर्छ । भन्दै म अघि बढेँ। हो हो भन्दै सबै मेरो पछि लागे। मनकुमारी अब साँच्चै मनकुमारी भई भनेर खुसीले मन उफार्दै म अझै अघि बढेँ ।

प्रतिक्रिया