अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५२ | Colorodo: 18:07

श्रीलंकामा मृत्यु हुनेको संख्या ३ सय १० पुग्यो, मृतकहरुको सामुहिक दाहसंस्कार

बिआरटीनेपाल २०७६ वैशाख १० गते ९:४५ मा प्रकाशित

श्रीलंकामा गएको आइतबार चर्च र होटलमा भएका श्रृंखलावद्ध बम विष्फोटमा मृत्यु हुनेको संख्या बढेर तीन सय १० पुगेको छ । प्रहरीका अनुसार ५ सय जना घाइते छन् । यसबीच गएरातिबाट श्रीलंकामा संकटकाल घोषणा गरिएको छ र आज राष्ट्रिय शोक मनाइएको छ ।

कोलम्बोको उत्तरी क्षेत्रमा पर्ने नेगोमबोको सेन्ट सेबेस्टिएन चर्चमा मृतकको सामुहिक अन्तिम संस्कार गरिएको छ, जुन आइतबार भएका आक्रमणस्थल मध्येको एक हो । अन्त्येष्टिका क्रममा तीन मिनेटसम्म मौनधारण गरिएको छ ।

यो आक्रमण कुनै अन्तर्राष्ट्रिय नेटवर्कको मद्दतमा गराइएको जनाइएको छ । सरकारले यो घटनामा स्थानीय जेहादी गुट नेशनल तौहिद जमातको संलग्नता रहेको बताएको छ । यद्यपि कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

प्रहरीका अनुसार शंकास्पद ४० जना लाई पक्राउ गरिएको छ । पक्राउ परेका सबै श्रीलंकाका नागरिक हुन् । तर, उनीहरुको परिचय खुलाइएको छैन । उनीहरुसँग सोधपुछ जारी छ । तर, आक्रमणमा कसको संलग्नता छ भन्ने कुरा अझै खुलेको छैन ।

आक्रमणलगत्तै आइतबार देशभर कर्फ्यू लगाइएको थियो, जसलाई सोमबार बिहान हटाइएको थियो । यद्यपि, सामाजिक सन्जालमा भने प्रतिवन्ध कायमै छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू