अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

मुलुकलाई समृद्ध बनाउन साहस र धैर्यताकोे खाँचो – प्रधानमन्त्री

बिआरटीनेपाल २०७६ वैशाख १० गते ९:४१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताउनुभएको छ । प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्नसके देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पासाङल्हामु नेपाली महिलाको लागि प्रेरणा र साहसको प्रतीक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाली महिलाले पनि सगरमाथाको शिखरमा पाइला टेक्न सक्छन् भन्ने दृष्टान्त पहिलो पल्ट नेपाली महिलाको तर्फबाट पासाङल्हामुले पुष्टि गरेको बताउनुभयो । नेपालको पर्वतारोहणको गौरवपूर्ण इतिहास रहेको र यस पटक सगरमाथाको पुनः उचाइ मापनको काम अघि बढाइएकाले यसको वास्तविक उचाइ पत्ता लाग्ने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । सगरमाथाको उचाइका सम्बन्धमा विभिन्न भिन्नता देखा परेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाल र चीन दुवैतर्फबाट सगरमाथाको वास्तविक उचाइ पत्ता लगाइने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पासाङल्हामु सबैको प्रेरणा र आदरणीय व्यक्तित्व भएकाले उहाँको स्मरणलाई अर्थपूर्ण र सम्मानजनक ढङ्गले स्थापित गर्न पासाङल्हामु स्मारक निर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्मारकका लागि उपयुक्तस्थलको खोजी गर्न प्रतिष्ठानलाई आग्रह गर्नुभयो । उहाँले पासाङल्हामुको स्मृति र योगदानलाई कदर गर्दै मुलुकको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनमा प्रतिष्ठानले र्पुयाएको योगदानको प्रशंसा पनि गर्नुभयो ।प्रधानमन्त्री ओलीले प्रतिष्ठानकै परिवारका महत्वपूर्ण सदस्य पर्यटन व्यवसायी स्व आङछिरिङ शेर्पा, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारीसहित पर्यटन क्षेत्रका विशिष्ट व्यक्तिको निधनप्रति दुःख व्यक्त गर्दै उनीहरुको परिवारजनप्रति सरकार र प्रतिष्ठानले गर्नसक्ने काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पासाङल्हामु स्मारकस्थल चुच्चेपाटी, बौद्धमा पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा प्रधानमन्त्री ओलीले पासाङल्हामु शेर्पा मेमोरियल कलेजका उत्कृष्ट विद्यार्थी हरुलाई नगदसहित पुरस्कृत गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष कृपाशुर शेर्पाले पासाङल्हामुले नेपालको पर्यटन प्रवद्र्धनमा र्पुयाएको योगदानलाई चिरस्मरण राख्न स्मारक निर्माणका लागि सरोकार भएका निकायले ध्यान दिनुपर्ने खाँचो औल्याउनुभयो ।

राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी पर्वतारोहण इतिहासमा प्रथम नेपाली महिलाको कीर्तिमान कायम गर्न सफल हुनुभएको थियो । उहाँले विसं २०५० वैशाख १० गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी पासाङल्हामुको आरोहण सकेर फर्कने क्रममा मृत्यु भएको थियो ।
सगरमाथाको पहिलोपल्ट सफल आरोहण सन् १९५३ मे २९ मा नेपाली नागरिक तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले गरेका थिए । उक्त आरोहणसँगै नेपालमा व्यावसायिकरुपमा हिमाल आरोहण शुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू