अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२९ | Colorodo: 20:44

लक्ष्मीप्रसाद देवकोटाको मुनामदन खण्डकाव्यमा ईश्वरीय चिन्तन

उषा आचार्य २०७६ वैशाख ९ गते १९:४२ मा प्रकाशित

लेख सार
प्राज्ञिक, तथ्यपूर्ण खोज र अनुसन्धानको ढाँचामा तयार पारिएको प्रस्तुत लेखभित्र काव्यकार लक्ष्मीप्रसाद देवकोटाद्वारा रचना गरिएको मुनामदन खण्डकाव्यलाई पौरस्त्य वेदान्तीय दर्शनको ईश्वरीय चिन्तनका आधारमा विश्लेषण गरिएको छ । पूर्वीय दर्शनका विभिन्न प्रस्तावनाहरूमध्ये ईश्वरीय चिन्तनभित्रका निर्माता, नियन्त्रक, संरक्षक, अवतार, मोक्षदाताको कोणबाट मुनामदन खण्डकाव्यको विश्लेषण गरिएको छ । दर्शन साहित्यको वरिपरि परिक्रमा गरिरहेको हुन्छ । लेखकको संस्कारमा हुर्किएको दर्शन, चिन्तन, सोचाइ, धारणा, विचार उसको साहित्यमा सजिन्छ । ईश्वर जगतको सृष्टि, स्थिति र संहारको कारण हो । ईश्वर नै यस संसारको सञ्चालक हो भन्ने चिन्तन पूर्वीय दर्शनमा व्याप्त छ । संसार अनित्य छ, संसारका सबै वस्तु ईश्वरकै परिचायक हुन्, सुख, दुःख, कार्य, घटना सबै ईश्वरबाटै घटित हुन्छन् भन्ने विचार यस चिन्तनमा रहेको छ । ईश्वर नै सृष्टि कर्ता, जीवन जगतको सञ्चालक, संरक्षक भएको र ईश्वरकै इच्छाले कार्य हुने भाव मुनामदन खण्डकाव्यमा व्यक्त भएको छ । मुनामदन खण्डकाव्यलाई यही ईश्वरीय चिन्तनको कोणबाट विश्लेषण गर्दा निस्किने निष्कर्ष नै यस शोधलेखको निष्कर्ष हो । प्रस्तुत मुनामदन खण्डकाव्यलाई ईश्वरीय चिन्तनको महत्त्वपूर्ण उपलब्धिका रूपमा उभ्याइएको छ ।

१ विषय परिचय
मुनामदन खण्डकाव्य लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६– वि.सं. २०१६) ले रचना गरेको एक उच्च कोटिको काव्य हो । यो वि. सं. १९९२ सालमा प्रकाशन भएको हो । यस खण्डकाव्यमा लक्ष्मीप्रसाद देवकोटाले आफ्ना ईश्वरसम्बन्धी विचार प्रस्तुत गरेका छन् । काव्यमा ईश्वरलाई जगतको सृष्टि कर्ता, सञ्चालक, संरक्षक, पालनहार, संहारकर्ताको रूपमा चित्रण गरिएको छ । संसारमा जति पनि कार्य वा घटना भइरहेका छन्, यी सबै ईश्वरकै निर्देशनमा भएका छन् । लक्ष्मीप्रसाद देवकोटाले मुनामदन, राजकुमार प्रभाकर, लूनी, तिप्लिङ्गी, कुञ्जिनी, दुश्यन्त शकुन्तला भेट, महेन्द्र, सीताहरण, रावण जटायु युद्ध, बसन्ती, नवरस, मायाविनी सर्सी, कटक, मैना, सृजामाता आदि खण्डकाव्य प्रकाशन गरेका छन् । मुनामदन खण्डकाव्यमा देवकोटाका आध्यात्मिक विचारधारा प्रस्तुत भएको छ । आध्यात्मिकतातर्फको उन्मुखता, संसार ईश्वरकै सृष्टि मान्नु, संरक्षक, सञ्चालक, विधायक, भाग्य, कर्म सबै ईश्वरबाट हुन्छ भन्ने विश्वास राख्नु मुनामदन खण्डकाव्यको मूल वैशिष्ट्य हो ।

२ सैद्धान्तिक पर्याधार
संसार अनित्य छ । जीवन जगत् विपद्पूर्ण छ । संसारलाई गतिशील बनाउने र विपद्पूर्ण जीवनलाई सत् बनाउने कार्य ईश्वरबाट हुन्छ भन्ने चिन्तन पूर्वीय दर्शनको मूल चिन्तन हो । कुनै पनि वस्तु, घटनालाई हेर्ने बुझ्ने र व्याख्या गर्ने शास्त्र अर्थात् हेराइ, बुझाइ र गराइको एकात्मक सोच दर्शन हो । यो मान्छेको विश्व दृष्टिकोण अर्थात् प्रकृति, ईश्वर, ज्ञान, विज्ञान, वस्तु, जीवन र चेतनाबारे गरिने विवेचनायुक्त र विश्लेषणयुक्त विद्या हो (प्रभात, २०७४ : २०७) । दर्शनका जन्म, मृत्यु, विधि, भाग्य, दृष्टिकोण, ज्ञान, विज्ञान, प्रकृति सबै ईश्वरका उपज हुन् भन्ने धारणा ईश्वरीय चिन्तनमा रहेको छ । संसारको निर्माण ईश्वरबाटै भएको हो । यहाँ जे जति घटना घटित हुन्छन् ती सबै ईश्वरकै इच्छाले हुन्छन् र संहार पनि ईश्वरकै अधीनमा हुन्छ । सृष्टि ईश्वरको खेल हो, सृष्टि गर्नु ईश्वरको स्वभाव हो, जसरी श्वास प्रश्वास मानवीय स्वभाव हो । ईश्वर सगुन र, सर्वज्ञ, सर्व व्यापक, स्वतन्त्र एवम् युक्तिपूर्ण छ । ईश्वरले नै जीवलाई शुभ र अशुभ कार्यको फल दिन्छन् (गिरी, २०५५ : ५७–५८) । मानिसलाई सत्कर्ममा प्रेरित गर्ने ईश्वरले कहिल्यै पनि कुभलो गर्दैनन् । ईश्वरमा आस्था राखी सुमार्गमा हिँड्ने व्यक्तिले नै ईश्वर प्राप्त गर्दछ । ईश्वर प्राप्ति नै मोक्ष प्राप्ति हो भन्ने चिन्तन ईश्वरीय चिन्तनको मूल मर्म हो । ईश्वर ज्ञान हो, सुख हो, शान्ति हो । ईश्वर स्वयम् प्रकाश स्वरूप भएकाले अन्यबाट यसको प्रकाश हुन सक्दैन, ईश्वर नै आदि विद्वान हो (भट्टराई, २०७४ : भूमिका) । ईश्वर सर्वगुण सम्पन्न, सर्वप्यापी तत्त्व हो । संसारका सबै वस्तुहरू कार्य कारण सम्बन्धमा रहेका हुन्छन् । कार्यको मूल कारक नै ईश्वर हो । ईश्वरले चाहे सबै मङ्गल हुन्छ । ईश्वरलाई खुसी बनाउन सके सबै दुःख, कष्ट र असत्बाट मुक्त भइने मान्यता पौरस्त्य दर्शनमा रहेको छ ।

पूर्वीय भूभागमा विभिन्न दर्शन, धर्म, पुराणको विकास भएको छ । धर्म र पुराण दर्शनबाटै प्रभावित छन् । मानव सत्य, सदाचारमा रहे ईश्वरले कहिल्यै कुभलो गर्दैनन् भन्ने विश्वास पुराणमा रहेको छ । पुराणले ईश्वरको सङ्ख्या ३३ करोड बताएको छ । यसमा ईश्वरलाई पृथ्वीको स्थानअनुसार कुनै विभाजन गरिएको छैन (त्रिपाठी, सन् १९८१: ८८) । बहुईश्वरको सगुन रूपको चर्चा पौराणिक ग्रन्थहरूमा गरिएको छ । मानिसका दुःख हरण गर्ने कर्ता ईश्वरलाई मान्दै वेदान्त दर्शनका ईश्वरसम्बन्धी चिन्तनलाई नै पुराणमा व्याख्या गरिएको छ । जीवन जगत् रहस्यमय छ । यही रहस्यभित्र ईश्वरको अस्तित्व रहेको छ । जीवनको अर्थ, रहस्य, कारण, सम्बन्ध, आत्मा आदि जिज्ञासाको समन गर्ने क्रममा ईश्वरको अवधारणा आएको हो ।

दर्शन र धर्मको विकासका क्रममा आएका सबै खण्डमा ईश्वरको चर्चा गरिएको छ । उपनिषदमा ईश्वरलाई जीवात्मा भन्दा भिन्न मान्दै ईश्वरको अभिध्यान नै मोक्षको उपाय भनिएको छ (हिरियन्ना, सन् १८६९: ८३) । आरण्यकमा प्रकृतिलाई ईश्वरको रूपमा हेरिएको छ । यो जगत्को सञ्चालक ईश्वर नै हो । ईश्वरले सिर्जना गरेको यो जगतको रक्षा पनि ईश्वरले नै गर्छन् । ईश्वरको आराधनाबाट मोक्ष पाउन सकिन्छ भन्ने भाव सबै धर्म र दर्शनको सार रहेको छ ।

मुनामदन खण्डकाव्यमा विशेषतः: वेदान्तीय दर्शनका ईश्वरीय मान्यतालाई देखाइएको छ । यसमा ईश्वरका विविध रूपका (सृष्टि कर्ता, संहार कर्ता, मार्गदर्शक, मुक्तिदायक, कर्मवादी, संरक्षक र प्राकृतिक स्वरूप) लाई देखाइएको छ । यिनै ईश्वरीय चिन्तनका आधारमा मुनामदन खण्डकाव्यको विश्लेषण गरिएको छ ।

३ मुनामदन खण्डकाव्यमा ईश्वरीय चिन्तन
मुनामदन खण्डकाव्यलाई सृष्टि तथा संहारकर्ताको रूपमा ईश्वर, मोक्षदाताको रूपमा ईश्वर, संरक्षकको रूपमा ईश्वर, कर्मवादी ईश्वर, प्राकृतिक जीवनमा ईश्वर गरी पाँच ओटा उपशीर्षकका आधारमा विवेचन गरिएको छ ।

३.१ सृष्टि र संहारकर्ताको रूपमा ईश्वर
संसारका हरेक वस्तु अनित्य छन् । जुन वस्तुको सृष्टि हुन्छ त्यसको संहार पनि अनिवार्य छ । यो परिवर्तित संसारको सञ्चालक ईश्वर नै हुन् । ईश्वरले नै संसार, जीवन जगत्को सृष्टि गर्छन् र संहार पनि गर्छन् भन्ने मान्यता सृष्टि र संहारमा रहेको छ । मुनामदन खण्डकाव्यमा सृष्टि र प्रलयमा ईश्वरको रूपको वर्णन गरिएको छ ।

सिर्जनाभित्र रचना राम्रा नजरका जुहार
ईश्वरको हाँसो पाएका फुल छोएर नमार

माथिका हरफमा मुनालाई ईश्वरद्वारा रचित सुन्दर फुल भनी उसलाई मार्ने, दुःख दिने काम नगर भनिएको छ । ईश्वरीय हाँसो पाएका सबै वस्तु सुन्दर र आकर्षित हुन्छन् । अरूलाई प्रभाव पार्न सक्छन् । त्यस्ता सुन्दरताको नष्ट गर्नु हुँदैन भन्ने भाव मुनालाई गुण्डाले दुःख दिन खोजेको प्रसङ्गमा स्पष्ट पारिएको छ । संहार गर्ने अधिकार सृष्टिकर्तालाई हुन्छ भन्ने देखाएकोबाट माथिको हरफमा ईश्वर नै सृष्टि कर्ता र संहार कर्ता हो भन्ने स्पष्ट हुन्छ ।

यो चार दिनको कञ्चन चोला ईश्वरले सिँगारे
के भन्नु माथि बाबुको अधि हिलोले बिगारे

मानिसको जीवन चार दिनको हो । यो छोटो जीवनलाई स्वच्छ बनाएर सिँगार्ने काम ईश्वरले गरेका छन् । ईश्वरलाई बाबुको रूपमा चित्रण गर्दै प्राणीहरूमध्ये सबैभन्दा सुन्दर चोला मानव चोला नै हो जुन ईश्वरको दयाले रचना भएको हो भन्ने भाव माथिका हरफमा व्यक्त गरिएको छ । ईश्वरले दिएको यो सुन्दर चोलालाई हिलोले बिगा¥यौँ भने पछि माथि गएर के जवाफ दिनु भन्दै मुनाले नैनीलाई जीवनको सृष्टि र मानव चोलाको महत्त्व बुझाएकी छे । ईश्वरद्वारा सृष्टि भएको मानव जीवन कुकर्म गरेर बिगार्नु हुँदैन, पछि ईश्वरमै समाहित हुनुपर्छ भन्ने भाव बाट माथिका हरफमा सृष्टिकर्ता ईश्वर नै हुन् र संहारपछि ईश्वरमै लीन हुनुपर्छ भन्ने स्पष्ट भएको छ ।

फुलेको देखेँ वैलेको देखेँ जगतको फूलबारी
दुःखमै चिनेँ ईश्वरलाई हे मेरी बुहारी

यो जीवनजगत् फूलबारी जस्तै हो । जीव जन्मिन्छ, हुर्किन्छ, अनेक दुःख पार गर्दै अन्तिममा वैलिएर झर्न बाध्य हुन्छ । मानवीय जीवन दुःखमय छ । यस्तै दुःखमा सहारा बनेका ईश्वरलाई चिन्न सकिन्छ भन्ने भाव मदनकी आमाको माध्यमबाट व्यक्त गरिएको छ । जीवन नै विषद्पूर्ण छ भने हामीले सुख खोजेर भेटिँदैन । मानिसलाई दुःखबाट पार लगाउने ईश्वर नै हुन् तर यस्तो दुःखमा किन आएनन् भन्ने गुनासोको भाव पनि यहाँ प्रस्तुत भएको छ । जगतलाई फूलबारी, मानिसलाई फूल मानी ईश्वरलाई दुःखमा चिन्न सकिने भनिएको र जगत् फूल्ने वैलिने क्रममा रहेको हुँदा सृष्टि र संहार ईश्वरबाटै हुन्छ भन्ने प्रष्ट हुन्छ ।

कोपिलाभित्रै वैलायो आशा हिउँले खगार्यो
दिलले दर्द नपोखी हान्यो दैवले झटारो

मदनले अनगिन्ति आशा बोकेर धन कमाई घर फर्किँदा आमा र मुनाको मृत्यु भइसकेको प्रसङ्गमा माथिका हरफ आएका हुन् । आशा नफक्रिँदै मारेको वा आमा र मुनाको समय नपुगिकन मृत्यु भएको भाव मदनमार्फत प्रस्तुत भएको छ । कालले सानो, ठूलो, धनि गरीब भन्दैन । जन्मिएपछि मृत्यु अवश्यम्भावी छ । सृष्टि पछि प्रलय अनिवार्य हो । मानिस जन्मिएपछि अनेक सम्बन्ध र मायाजालमा बाँधिन्छ । मायाका कारण प्रलयको घडीमा अनेक दर्द आउँछन् । ती भौतिक कारणले उब्जिएका दर्दलाई ईश्वरले हेर्दैन । मदनको आशा, दःुख, मुना र आमाप्रतिको मोह केही नबुझी ईश्वरले संहारको झटारो हान्यो भन्ने विचार मदनले व्यक्त गरेको छ । मदन, आमा र मुनाको सम्बन्ध कोपिला नै रहेको, उनीहरूको सपना, इच्छा, दुःख, दर्द नबुझीकन ईश्वरले झटारो हानेको बाट कोपिलाको सृष्टिकर्ता पनि ईश्वर र संहारकर्ता पनि ईश्वर नै हो भन्ने स्पष्ट हुन्छ ।

दैवले हान्यो शिरमा मेरो निठुरी घनले
के गरी सहूँ के गरी रहूँ जिउँदो मनले

जन्म र मृत्यु अनिवार्य छ । सृष्टिकर्ताले नै संहार गर्छन् । लौकिक संसार दुःखद छ । बाँचुञ्जेल विपद् आइपर्छ भन्ने भाव मुनाको मृत्यपछि मदनको अभिव्यक्तिमा पाइन्छ । मदन जिउँदो भएका कारण दुःख सहन नसकेको, मुनासँगको सांसारिक मोह र मायाको कारण यस्तो कठिन भएको भाव माथिका हरफमार्फत प्रस्तुत भएको छ । अकालमै मुना र आमाको मृत्यु भएको सन्दर्भलाई ल्याएर ईश्वर वा दैवले नै यस्तो गरेको हो भनेकोबाट संहारकारी ईश्वरको रूप प्रष्ट देखिन्छ । जिउँदो व्यक्तिलाई जति पीडा हुने भए पनि ईश्वरले आफ्नो सृष्टि र संहारको क्रमलाई नरोक्ने भाव मदनको भनाइमा स्पष्ट भएको छ ।

ईश्वर तैँले रचेर फेरी कसरी बिगारिस्
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस्

सृष्टिको रचनाकार, सञ्चालक, संहारकर्ता ईश्वर नै हो भन्ने भावलाई माथिका हरफमा मुनालाई फूल र त्यसको नष्ट गरिएकोबाट स्पष्ट पारिएको छ । ईश्वरद्वारा नै सृष्टि गरिएकी ती सुन्दर मुनालाई बिगार्ने र संहार गर्ने काम पनि ईश्वरबाटै भएको छ । आफूले सिर्जिएको वस्तु कसरी नष्ट गर्न सक्छ भन्ने प्रश्न गरिएको माथिका हरफमा जन्मपछि मृत्य चक्र झैँ आउने, सृष्टि र संहारको यो चक्रलाई कसैले रोक्न नसक्ने भाव व्यक्त गरिएको छ । मुनालाई सृष्टिको फूल मानेर, त्यसको रचना र संहार ईश्वरले गरेको बताएर ईश्वरलाई सृष्टि र संहारकर्ताको रूपमा चित्रण गरिएको छ ।

हे दैव पर्दा चाँडै नै उठा धन्य छ तँलाई

मानिसको जीवन पर्दामा ढाकिएको छ । जसरी एक क्षणमै पर्दा उठाउन सकिन्छ त्यसै गरी यो भौतिक शरीर पनि एक निमेषमै नष्ट हुन सक्छ । सृष्टि भएको मानिसको शरीरको संहार गर्ने दैव वा ईश्वर नै हो भन्ने भाव मदनले आफूलाई अन्त्य गर्न ईश्वर पुकारेकोबाट स्पष्ट हुन्छ । भौतिक संसार दुःखले भरिएको छ । यसबाट मुक्त हुनको लागि संहार अनिवार्य छ । मानव शरीरको अन्त्य गरी दुःख मोचन गर्न सक्ने ईश्वर मात्र हो । मानिस जन्मदेखि मृत्युपर्यन्त लौकिक सम्बन्ध, मायामा अल्झिएको हुन्छ । मृत्यु नै चीरशान्ति भएको हुँदा यस्तो दुःखको पर्दा उठाउने ईश्वर धन्य छ भनिएकोबाट ईश्वरलाई संहारकारी रूपमा हेरिएको प्रष्ट हुन्छ ।

३.२ मोक्षदाताको रूपमा ईश्वर
ईश्वरको कृपा नभइकन कुनै पनि जीवले मुक्ति प्राप्त गर्न सक्दैन । ईश्वरलाई खुसी बनाउन भक्तिमार्गमा लाग्नुपर्छ । आफ्नो कर्म र मनले ईश्वरलाई प्रसन्न बनाएमा जीवप्रति प्रेमभाव उत्पन्न भई मोक्ष प्रदान गर्छन् । त्यसैले मुक्तावस्थामा पनि जीव प्रार्थनामा लाग्नुपर्छ भौतिक शरीर रहुन्जेल जीव मुक्त हुन नसक्ने हुँदा ईश्वरीय प्रार्थना नै उत्तम उपाय हो । मुनामदन खण्डकाव्यमा ईश्वरलाई मोक्षदाता र मुक्तिको संवाहक मानिएको छ ।

घर र बार सबैले छोडी जानु त पर्दछ
अन्त्यको बेला ईश्वर सम्झे संसार तर्दछ

सांसारिक सुख क्षणिक हुन्छ । यसको माया र बन्धनमा सधैँ बस्न मिल्दैन । मानिसको जन्मसँगै मृत्यु अनिवार्य छ । लौकिक संसारमा बनेका सम्बन्धहरू स्थायी हुँदैनन् । मानिस मरेपछि भौतिक सम्पति यही लोकमा छोडेर जानुपर्छ । सांसारिक बन्धनमा बाँधिएको मानिसलाई दुःखबाट मोक्ष प्रदान गर्ने ईश्वर नै हो भन्ने दार्शनिक विचारलाई मदनका साथीमार्फत प्रष्ट पारिएको छ । मदन मृत्युसँग डराएको, घर परिवार र माया मोहमा अल्झिएको सन्दर्भमा मदनका साथीले भनेको मोक्षसम्बन्धीको भावलाई माथिका हरफमा व्यक्त गरिएको छ । मानिस भौतिक मोहमा अल्झिनु हुँदैन, मृत्यु नै वास्तविक मोक्ष हो , अन्त्यको समयमा ईश्वरलाई सम्झिए आत्माले मोक्ष पाउँछ भन्ने दार्शनिक भावबाट ईश्वर मोक्षदायक हुन् भन्ने स्पष्ट हुन्छ ।

सहेर बस्नू नफस्नू यसमा दुःखको जञ्जाल
अन्त्यको बाटो उज्यालो हुने भक्ति नै सँगाल

सांसारिक मोह र मायामा फस्नु दुःखमा पर्नु हो । यो भौतिक संसारबाट मुक्त हुनको लागि सबैभन्दा उत्तम कार्य ईश्वरको भक्ति नै हो । जब हामी ईश्वरको प्रार्थना गर्छौँ तब ईश्वर हामीमाथि करुणा गरी मोक्ष प्रदान गर्छन् । ईश्वरको इच्छाले संसार सञ्चालित छ । उनलाई प्रशन्न बनाई हामी मोक्षको मार्गमा हिँड्नुपर्छ । मानिसको विपद्पूर्ण जीवनमा मायाले झन कष्ट दिन्छ । जीवन दुःखकै सञ्जाल हो । यस्तो दुःखको जञ्जालमा फस्नुभन्दा जे जस्तो परिस्थिति आउँछ त्यसलाई सहेरै बस्नुपर्छ । बाचुञ्जेल भक्ति ग¥यौँ भने अन्त्यको बाटो सुखद र उज्यालो हुन्छ । सांसारिक दुःखको जञ्जालमा नपरी अन्त्यको बाटो उज्यालो बनाउनुपर्ने दार्शनिक विचार माथिका हरफमार्फत व्यक्त भएको छ ।

सहन भनी जन्मन आयौ हे बाबु सहन !
दुःखमा हामी शोधिन आयौँ दुःखमा रहन
आँसुको खोला नुहाई जान्छौँ बैकुण्ठ भवन

मानिस जन्मनु भनेको दुःखमा पर्नु हो । यो जगतको सञ्चालक ईश्वर हो उसको इच्छाले अनेक घटना घट्ने गर्दछ । दुःखै दुःखको जीवनलाई सहन्छु भनी जन्म लिएपछि त्यो सहनै पर्छ । जन्म लिने क्रममा यो सांसारिक दुःखलाई स्वीकार गरी दुःखमै रहनको लागि आएको हँुदा कष्ट र दुःखबाट भाग्नु हुँदैन । हामी भौतिक शरीर रहेसम्म दुःख गर्छौँ तर अन्त्यमा सबैलाई रुवाएर आँसुको खोला पार गर्दै बैकुण्ठ भवनमा जान्छौँ । बैकुण्ठ भवन जान पाउनु भनेको यो संसारबाट मोक्ष पाउनु हो । ईश्वरबाट मोक्ष पाउँदा किन आँसु बगाउनु ? सांसारिक सुख क्षणिक छ, दुःख सहनुपर्छ भन्ने दार्शनिक विचार माथिका हरफमा प्रष्ट भएको छ ।

३.३ संरक्षकको रूपमा ईश्वर
यो जीवन जगत्को संरक्षक ईश्वर हो । जीवन दुःखमय छ, यहाँ अनेक घटना, बाधा, व्यवधान आउँछन् । त्यस्ता कठिन परिस्थितिमा ईश्वरले नै हाम्रो रक्षा गर्छन् भन्ने मान्यता पूर्वीय दर्शनमा रहेको छ । ईश्वरले सृष्टि गरेका वस्तुको ईश्वरले नै संरक्षण गर्छन् । मुनामदन खण्डकाव्यमा ईश्वरको संरक्षकको रूपलाई प्रस्तुत गरिएको छ ।

ईश्वरमाथि मुटु छ साथी जँघार तरुँला
असल गर्दा झन् बिघ्न परे बाटामै मरुँला

जीवन जगत्को संचालक र संरक्षक ईश्वर हुन् । उनीमाथि विश्वास राखी काम गरे सफल भइन्छ भन्ने भाव माथिका हरफमा व्यक्त भएको छ । ईश्वरमा विश्वास राखिएको हुँदा जस्तोसुकै कठिन यात्र पनि पार गर्न सकिने, असल गर्दा पनि नराम्रो भएछ भने बरू मरुँला भन्ने विचारलाई प्रस्तुत गरी यहाँ हरेक मानिस ईश्वरको संरक्षणमा रहेको देखाइएको छ । असल गर्नेलाई ईश्वरले पनि हेर्छन् । राम्रो नराम्रो जे हुन्छ ईश्वरकै इच्छाले हुन्छ । त्यसलाई स्वीकार्नुपर्छ । ईश्वरले कहिल्यै पनि अन्याय नगर्ने हुँदा उनकै भरोसामा यो दुःखको यात्रा सजिलै पार गर्न सकिने दार्शनिक भाव माथिका हरफमा व्यक्त भएको छ । यहाँ ईश्वरमाथि नै मुटु राखिएकोले उनले संरक्षण गर्छन् भन्ने देखाइएको छ ।

कालको वारी कालको पारी एक वस्तु अमर छ
देश र काल नाघेर चल्छ ईश्वरको वर छ

ईश्वरको साथ र संरक्षण भयो भने कालको पनि डर हुँदैन । कालको वारी पारी ईश्वर भन्ने वस्तु सधैँ अमर हुन्छ । त्यही अमर वस्तुको संरक्षणमा रह्यो भने सबै अमर हुने भाव माथिका हरफमा व्यक्त भएको छ । जसलाई ईश्वरले संरक्षण गरेको छ त्यसले जस्तोसुकै कठिन यात्रा पनि सजिलै पार गर्न सक्छ । कुनै पनि ठाउँ, परिवेश र समयलाई पनि जित्ने शक्ति ईश्वरको नजिक हुनेलाई मात्र सम्भव छ । माथिका हरफमा कालको वारी पारी एउटै वस्तु अमर भएको, ईश्वरको नजिक हुनेले देश र काल नाघेर पनि चल्न सक्ने भएको भनी त्यो अमर वस्तु ईश्वर रहेको स्पष्ट पारिएको छ । मदनले मुनालाई सम्झाउने क्रममा ईश्वरको साथ भएपछि कुनै बाधा नआउने पुष्टि गर्दै माथिको प्रसङ्ग ल्याएकोले ईश्वरलाई संरक्षकको रूपमा हेरिएको स्पष्ट हुन्छ ।

नमान डर ईश्वर छ भर बुझाई बसे मन
अँध्यारो हुन्न सधैँलाई प्यारी फर्केर आउला दिन

संसार परिवर्तनशील छ । कुनै पनि वस्तु चीरस्थायी छैन । अनित्य वस्तुलाई नित्य ठान्नु हुँदैन । ईश्वर नै हाम्रो रक्षक हो । ईश्वरमाथि भर परेर बस्यौँ भने पक्कै पनि दुःखको अँध्यारो हटेर उज्यालो आउनेछ भन्दै मदनले मुनालाई सम्झाउँदा ईश्वरको संरक्षकको रूप प्रकट भएको छ । ईश्वरको साथ भएको हुँदा कुनै डर मान्न नपर्ने, अहिले दुःख भए पनि पछि सुखका दिन फर्किएर आउन सक्ने कुरालाई अँध्यारो सधैँ रहँदैन भन्ने भनाइले पुष्टि गरेको छ । ईश्वर करुणाधारी हुन्छन् , उनीमाथि विश्वास गरे यो दुःखको अँध्यारो नष्ट गर्छन् भन्ने भावलाई माथिका हरफबाट पुष्टि गरिएको छ ।

लुकाई गह्रौँ सुनका थैला कस्तुरी सह्यारी
ती बिदावादी भएर हिँडे ईश्वर पुकारी

भोटमा सुन कमाएर घर फर्कने क्रममा मदनले बोकेको सुनको र स्वयम् आफ्नो रक्षाका निम्ति ईश्वरलाई पुकारेको छ । भौतिक वस्तु र मावन जीवन सबैको संरक्षक तत्त्व भनेको ईश्वर हो । आफैले लुकाएर ल्याएको धनको चोरी हुने डर भएको हुँदा ईश्वरको संरक्षणको आवश्यकता परेको परिवेश सिर्जना गरी ईश्वरको संरक्षकको रूप देखाइएको छ । ईश्वरले कहिल्यै पनि कुभलो गर्दैन, धन कमाउने प्रेरणा पनि ईश्वरले नै दिएको हो (नेपाल, २०६६:६१) । ईश्वर नै भरपर्दो संरक्षक हो भन्ने प्रष्ट देखाइएको छ ।

दैवले देख्छ सोझाको दर्द दैवले हेर्दछ
दैवको बज्र ओर्लेर आए ममाथि पर्दछ

जो असल छ, अरूको कुभलो चिताउँदैन त्यो व्यक्तिको दुःख, कष्ट र दर्दमा ईश्वर साथ रही संरक्षण गरिरहेका हुन्छन् भन्ने भाव मदनकी आमामार्फत व्यक्त गरिएको छ । ईश्वरको भरोसामा बस्नेहरूलाई कहिल्यै पनि नराम्रो हुँदैन । अनित्य संसारको सम्पूर्ण घटक ईश्वर नै भएकाले सबै कार्य ईश्वरकै इच्छाबाट हुन्छ । यदि ईश्वरले बज्र पार्न परेछ भने पनि विचार गरेर पार्छ , मदनको परिवारले कसैको कुभलो नगरेकोले उनीहरूको दुःख ईश्वरले देखी त्यसबाट मुक्ति दिन्छ भन्ने भाव माथिका हरफमार्फत प्रस्तुत भएको छ । सकेसम्म कुनै नराम्रो घटना नघट्ने यदि घटेछ भने पनि बूढीमाथि पर्ने भएकोले मुनालाई चिन्ता लिन आवश्यक नभएको बताएकोले यहाँ ईश्वर नै संरक्षक हुन् भन्ने स्पष्ट हुन्छ ।

औषधीमूलो साथमा छैन यो माझ वनमा
ईश्वर सम्झी ईश्वरै सम्झी रहे है मनमा

जहाँ औषधी, वैद्यजस्ता भौतिक रूपमा निर्मित वस्तुले संरक्षण गर्न सक्दैन त्यो बेला ईश्वर रक्षक बनेर उभिन्छ भन्ने भाव माथिका हरफमा आएको छ । मदन माझ वनमा बिरामी पर्नु, उनीहरूसँग औषधी नहुनु र साथीहरू पनि हामी रक्षा गर्न सक्दैनौँ ईश्वरकै सहारा माग भनी छोडेर जानुले ईश्वर नै जगत्को संरक्षक हो भन्ने स्पष्ट भएको छ । भौतिक वस्तुभन्दा आध्यात्मिक तत्त्व शक्तिशाली भएको हुँदा अफ्ट्यारो परिस्थितिमा ईश्वर सम्झिनुपर्छ । ईश्वरबाट कष्ट निवारण हुन्छ । ईश्वरले नै हाम्रो संरक्षण गर्छन् भन्ने विचार माथिका हरफमार्फत व्यक्त भएको छ ।

छोराको मुख झलझली देख्छिन् ईश्वर पुकार्छिन
मनको मन त्यो छोराकन ईश्वर गुहार्छिन

हरेक दुख र नमीठो क्षणमा ईश्वरकै सम्झना आउँछ । आफ्नो निम्ति होस् या परिवारको निम्ति ईश्वर नै पुकारिन्छ । माथिका हरफमा मदनकी आमाले मदनको कुनै खबर नपाउँदा ईश्वरलाई गुहारेको सन्दर्भ स्पष्ट भएको छ । मानिस भौतिक मोह र जालमा फसेको हुन्छ । उसले अन्तिम अवस्थामा पनि भौतिक जगतप्रतिको मोह त्याग्न सक्दैन । मदनकी आमाले पनि छोरालाई सम्झिएर उसको रक्षाका निम्ति ईश्वरलाई गुहारेको भाव माथिका हरफमा प्रस्तुत भएको छ । मानिस बाँचुञ्जेल आफ्नो र सम्बन्धको रक्षाको निम्ति जुटिरहेको हुन्छ । यसको लागि ईश्वरको सहारा अनिवार्य हुन्छ । जीवन जगतको संरक्षणको लागि ईश्वर नै संरक्षकत्त्व भएको स्पष्ट हुन्छ ।

ईश्वर ईश्वर तँमात्र मेरो वनमा साथी छस्
मानिसभित्र ढुङ्गाको दिल तँ देख्ने माथि छस्

जन्मदेखि मृत्युसम्म ईश्वरमात्र एक स्थायी साथी हो । सांसारिक जगतमा बनेका अनेक सम्बन्धहरू क्षणिक हुन्छन् । ईश्वरको साथ अजर र अमर हुन्छ जुन यो भौतिक संसारदेखि निकै माथि रहेको हुन्छ । मानिसको हृदय कठोर भएको, ईश्वरले माथिबाट देखिरहेको भनी ईश्वरको उच्च सत्ता स्वीकारिएको छ । मानिस निष्ठूरी र अवसरवादी होलान् तर ईश्वर कहिल्यै पनि हाम्रो साथ छोड्दैनन् भन्ने विचार माथिका हरफबाट स्पष्ट पारिएको छ । वनमा मदन बाहेक अन्य मानिस नभएको, उसका साथीले एक्लै छोडेर गएको, ईश्वरलाई आत्मरक्षाका निम्ति गरिएको सम्बोधनबाट ईश्वरलाई संरक्षकको रूपमा स्पष्ट बुझ्न सकिन्छ ।

पहाडी किल्ला चूली उपल्ला श्रीपेच सरोज
रक्षाका निम्ति ती पशुपति मुटुमा विराज

यहाँ ईश्वरको सगुण रूपको चित्रण गरिएको छ । सबैभन्दा उच्च स्थानमा विराजमान श्रीपेचमा सुहायका पशुपति सधैँ हाम्रो रक्षाका निम्ति मुटुमा बसेका हुन्छन् भन्ने भाव माथिका हरफमा व्यक्त भएको छ । ईश्वर सधैँ शीरमा बस्छन्, मुटुमा हुन्छन्, सबैभन्दा माथि रहन्छन् भन्दै ईश्वर नै सबैका रक्षक हुन् भन्ने विचार प्रस्तुत गरिएको छ । पशुपति ईश्वरको एक रूप हो जसलाई विश्वास गर्दा मात्र सबै कष्ट हट्छन् । मुटुमा बसेका पशुपति सधैँ हाम्रो रक्षाका निम्ति खटिएका हुन्छन् । हरेक दुःख, कष्ट, माया, मोह, बन्धनभन्दा माथि हुने ईश्वर हाम्रो संरक्षणमा जुटेका हुन्छन् भन्ने भावबाट ईश्वरको संरक्षकको स्वरूप स्पष्ट हुन्छ ।
बिजोग हरे ! बिजोग त्यस्तो ! दैवले देख्ददैन

दैवले देखे कसरी हेर्छ ? कलम लेख्दैन

मानव जीवन विषद् छ । कहिले दुःख, कहिले सुखसँगै जन्म र मृत्युको चक्रमा संसार चलेको हुन्छ । मृत्यु हुनु बिजोग वा दुःखको क्षण मानिन्छ । ईश्वरको लागि जन्म मृत्यु सामान्य र अनिवार्य प्रक्रिया हो । जसको सृष्टि हुन्छ त्यसको अन्त्य पनि अनिवार्य छ । सांसारिक मोहमा फसेकै कारण मानिस दुःख बन्न पुगेको हो । ईश्वरले भौतिक दुःखबाट टाढा रहने ज्ञान दिन्छन् तर सो ज्ञान बिर्सिएर मायाको जञ्जालमा फस्छ र दुःखी हुन्छ । मदनकी आमा र मुना बिरामी भएको, मदनको कुनै खबर नआएको, आमाले छोराको मुख हेर्न छटपटिएको स्थितिमा पनि ईश्वरले कुनै चमत्कार नगरेकोले ईश्वरले यस्तो बिजोग किन देखेन ? भन्ने भाव प्रस्तुत गरिएको छ । यदि ईश्वरले देख्ने भए कसरी हेरेर बसेको होला ? ईश्वरले त दुःख मोचन गरी रक्षा गर्नुपर्ने यस्तो कारुणिक अवस्था कसरी हेर्छ भन्ने जवाफ नभएको भन्दै नैराश्यको भावमा ईश्वर नै संरक्षक हो भन्ने भाव अभिव्यञ्जित भएको छ ।

३.४. कर्मवादी ईश्वर
मानिसले जस्तो कर्म गर्छ त्यस्तै फल पाउँछ । निष्काम कर्म नै मानवीय धर्म हो । सत्कर्मको फल सत् र असत् कर्मको फल नराम्रो हुन्छ । राम्रो कर्मले मोक्ष प्रदान गर्छ । व्यवहारिक कर्तव्यको पुरा गर्नु र मानवीय सेवा गर्नु नै वास्तवमा असल कर्म हो । यही कर्मवादी चिन्तनलाई मुनामदन खण्डकाव्यमा प्रस्तुत गरिएको छ ।

मलाई आज बचाइदेऊ ईश्वरले हेर्नेछ
मानिसलाई मदत गर्ने स्वर्गमा पर्नेछ

पूर्वीय दर्शन कर्मवादमै केन्द्रित छ । मानिसको सबैभन्दा श्रेष्ठ पक्ष भनेको उसको कर्म नै हो । मानिसले जस्तो कर्म गर्छ त्यस्तै फल प्राप्त गर्छ भन्ने भावलाई माथिका हरफबाट प्रष्ट पारिएको छ । यहाँ मदनलाई बिरामी बनाई उसको मदत गरेमा स्वर्गमा गइने वा राम्रो फल पाइने भाव व्यक्त गरिएको छ । मानिसको सबैभन्दा ठूलो धर्म भनेको परोपकार हो । अरूको निष्काम सेवा गर्दा प्राप्त हुने फललाई स्वर्गसँग तादात्म्य गरिएको छ । अरूको जीवन बचाउनु सबैभन्दा उत्तम कर्म भएकाले यस्तो कर्म गर्नेलाई ईश्वरले आफ्नो नजिक राखी स्वर्गमा लैजान्छन्, सुख दिन्छन् भन्ने भावबाट ईश्वरको कर्मवादी रूप प्रष्ट झल्किएको छ ।

मनको बत्ति तनको बली स्वर्ग छ प्रसाद
कर्ममै पूज ईश्वर भन्छ यो लक्ष्मीप्रसाद

आत्माको मोक्ष र स्वर्गको लागि कर्म नै सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । ईश्वर कुनै बाह्य संसारमा नभएर मानिसको कर्ममा रहेको हुन्छ । जसले असल कर्म गर्छ त्यसले प्रसादको रूपमा स्वर्ग प्राप्त गर्न सक्छ । सत्कर्म गर्नेले आत्मा शान्ति र राम्रो फल पाउन सक्छ । असल कर्ममा ईश्वरको बास हुने हुन्दा ईश्वरको पूजा गर्नु नै छ भने सत्कर्म गर्नुपर्छ भन्ने भाव लक्ष्मीप्रसाद देवकोटाले भनेका छन् । माथिका हरफमा मनको बत्ति वा आत्माको ज्योति र मृत्युपछि स्वर्ग प्राप्तीका लागि कर्ममा ईश्वर पूज भनी लक्ष्मीप्रसादले भनेको देखाइएको छ । मुनामदन खण्डकाव्यको मूल सारलाई समष्टीमा दुई हरफमार्फत प्रस्तुत गरेका छन् । निष्काम कर्मबाट स्वर्ग प्राप्त हुन्छ, स्वर्ग प्राप्त हुनु भनेको मोक्ष प्राप्त हुनु हो, अनित्य संसारबाट नित्यको मार्गमा डो¥याउने ईश्वर हुन् र ईश्वर कर्ममा अवस्थित छन् भन्ने भाव माथिका हरफमार्फत व्यक्त भएको छ ।

३.५ प्राकृतिक जीवनमा ईश्वर
बढ्दै गएको आधुनिकीकरणले मानिसको मनमा रहेको दया, माया, सहयोगको भावना हराउँदै गएको छ । मानिस आफ्नो व्यक्तिगत स्वार्थमा निवृत्त हुँदै गइरहेको कारण परोपकार अन्त्य भएको छ । परसेवा नै परम धर्म हो भन्ने सोचाइ, भावना र संसार सहरी क्षेत्रमा कमी भए पनि प्राकृतिक जीवनमा अझै बाँचिरहेको छ । प्राकृतिक जीवन जीउने मानिसमा ईश्वरीय तत्त्व निहित हुन्छ । मुनामदन खण्डकाव्यमा सहरी क्षेत्रका मानिस स्वार्थी भए पनि प्रकृतिमा स्वच्छन्द बाँच्ने मानिसमा सेवाको भावना जीवित हुन्छ भन्ने देखाएर त्यस्ता मानिसलाई ईश्वरको अवतारको रूपमा चित्रण गरिएको छ ।

भोटेको पाउ समाइ भन्छन् बिचरा मदन
ईश्वर मेरा हे भोटे दाइ क्या राम्रो वचन

बिरामी मदनलाई माझ वनमा एक्लै छोडेर साथीहरू फर्किएपछि ईश्वरलाई पुकारिरहेको मदनको सेवा गर्न भोटे उपस्थित हुन्छ । त्यस्तो घना जङ्गलको बीचमा आएको भोटेमा मदनले ईश्वरको रूप देख्छ । माथिका हरफमा मदन भोटेले मदनको सेवा गर्न तत्पर रहनु , दुःखी मदनले भोटेको पाउ समाउनु, भोटेलाई आफूलाई सहयोग गर्न आएको ईश्वर भनी सम्बोधन गर्नुले भोटे ईश्वरको अवतार हो भन्ने भाव स्पष्ट हुन्छ । चिनेका आफन्त र साथीद्वारा बिरामी अवस्थामा वनमा एक्लै छोडिएको मदनलाई अपरिचित भोटेले उपचारको लागि सहारा दिनु नै ईश्वरीय चिन्तन हो । भोटे पहाडी प्राकृतिक जीवनमा बाँचेको हुँदा प्राकृतिक जीवनमा ईश्वरको अंश छ भन्ने भोटेले मदनको सेवा गरेकोबाट प्रमाणित भएको छ ।

४. विषयान्त
पूर्वीय दर्शन परम्परा ईश्वरीय चिन्तनमा आधारित छ । संसार सृष्टि, संचालन, संहार के कसरी भयो भन्ने रहस्यको खोजीको क्रममा ईश्वरको उत्पत्ति भएको हो । ईश्वरले नै जीवनजगत्को सृष्टि गरेको, उनीबाटै सञ्चालन हुने र उनले नै संहार गर्ने मान्यता ईश्वरीय चिन्तनमा रहिआएको छ । संसार परिवर्तनशील छ । कुनै पनि वस्तु जीवको स्वरूप सधैँ एकैनास रहँदैन । सृष्टिपछि बिस्तारै त्यो संहारतर्फ उन्मुख हुन्छ । जन्मनु र मर्नुको चक्रको उन्नायक नै ईश्वर हो । मानिसको कर्म जस्तो छ त्यस्तै फल प्राप्त गर्छ । कर्म नै मानिसलाई मोक्षप्रदान गर्ने तत्त्व हो । ईश्वरले मानिसको कर्मअनुसारको फल दिने गर्छन् । कर्ममा ईश्वरको बास हुन्छ । सांसारिक मोहबाट मुक्त हुनु नै वास्तविक मोक्ष पाउनु भएकाले लोभ, मोह, मायाबाट टाढा रहनुपर्छ भन्ने चिन्तन ईश्वरीय चिन्तनमा रहेको छ ।

लक्ष्मीप्रसाद देवकोटाका अन्तस्करणमा रहेको ईश्वरसम्बन्धी चिन्तन उनका रचनामार्फत प्रस्तुत भएका छन् । यसको उपयुक्त नमुनाका रूपमा मुनामदन खण्डकाव्य नै हो । मुनामदन खण्डकाव्यमा ईश्वरसम्बन्धीका सृष्टि, संरक्षण, मोक्ष, कर्मका साथै प्राकृतिक जीवनमा जीवित ईश्वरको रूपलाई प्रस्तुत गरिएको छ । मुनामदन खण्डकाव्यमा व्यक्त विषयवस्तु, विचार, घटना, पात्रगत क्रियाकलापबाट मुनामदनमा प्रस्तुत भएको ईश्वरसम्बन्धी चिन्तन प्रष्ट भएको छ ।

सन्दर्भ सामग्री
अवस्थी, महादेव (२०६१), लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यकारिता, काठमाडौँ : एकता बुक्स ।
गिरी, रमानन्द (२०५५), जनक दर्शन, (अनु. रामहरि तिमिल्सिना), भक्तपुर : जनक शिक्षा सामग्री ।
जगदीश (२०६४), मुनामदन भ्रमण, काठमाडौँ : नइ प्रकाशन ।
जोशी, कुमारबहादुर (२०४८), देवकोटाका प्रमुख कविताकृतिको कालक्रमिक विवेचना, काठमाडौँ : सिद्धार्थ बनस्थली प्राज्ञिक परिषद् ।
त्रिपाठी, गया चरण (सन् १९८१), वैदिक देवता उद्धभव और विकास, वाराणसी : भारतीय विद्या प्रकाशन ।
देवकोटा, लक्ष्मीप्रसाद (२०५९), मुनामदन (चौ.सं.) ललितपुर : साझा प्रकाशन ।
नेचाली, हस्त (सन् १९८५), समीक्षा संकथन, दार्जलिङ : श्याम ब्रदर्श ।
नेपाल, शैलेन्दुप्रकाश (२०६६), मुनामदन समालोचना (सम्पा.), काठमाडौँ : महाकवि देवकोटा शताब्दी महोत्सव ।
प्रधान, राजनारायण (२०४८), केही कृति केही स्मृति, दो.सं., ललितपुर : साझा प्रकाशन ।
प्रभात, बिष्णु (२०७४), प्रज्ञा संस्कृतिकोश, काठमाडौँ : प्रज्ञा प्रतिष्ठान ।
प्रश्रित, मोदनाथ (२०६६), महाकवि देवकोटाको वैचारिक विकास, काठमाडौँ : महकवि देवकोटा शताब्दी महोत्सव ।
भट्टराई, पद्मप्रसाद (२०७४), पौरस्त्य दर्शन एक चिनारी, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।
हिरियन्ना, एम् (सन् १८६९), भारतीय दर्शनको रुपरेखा, दो.सं., दिल्ली : राजकमल प्रकाशन प्रा.लि. ।