अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३८ | Colorodo: 14:53

अग्रज गायक तथा संगीतकार मदन दीपविमको अमेरिकामा निधन

बिआरटीनेपाल २०७६ वैशाख ९ गते १०:०८ मा प्रकाशित

क्यालिफोर्निया, अग्रज गायक तथा सङ्गीतकार मदन दीप विमको ७० वर्षको उमेरमा निधन भएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यको बे एरियामा बस्दै आउनुभएका मदन दीपबिमको सानम्याटियो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सोमबार बिहान १ बजेर ५३ मिनेटमा उहाँको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

मदनदीपकी छोरी ममता दिपबीमले दिएको जानकारी अनुसार २८ दिनयता अर्ध चेत अवस्थामा रहनु भएका उहाँको सोमबार निधन भएको हो । २८ दिन पहिले एक मन्दिरमा भजन गाएर घर फर्किने क्रममा उहाँ बेहोस हुनुभएको थियो । त्यसपछि दिपविमलाई अस्पताल भर्ना गरिएको थियो ।

स्वर्गीय मदनदीपले “के भुल भयो प्रिया मसँग बोल्दिनौ”, “झस्केर दुख्छ यो मुटु मेरो कसैको यादमा”, सुरिलो रुख सल्लै हो खोजेको तिमीले कल्लाइ हो, झ्याम्मै चौतारी लगायत १ हजार ५०० भन्दा बढी गीतमा सङ्गीत भर्नु भएको छ । उहाँले गीत पनि गाउनु भएको छ । उहाँकी श्रीमती शिभा बस्नेत र छोरी पनि गीत सङ्गीतमा नै लाग्नुभएको छ । नेपालमा इलाम र काठमाडौँ घट्टेकुलोमा घर भएका मदन दीपविमकी श्रीमती र तीन छोरी हुनुहुन्छ ।

महावाणिज्य दूत तथा लोक दोहोरी गायक प्रेम राजा महत: उहाँको निधनले, “नेपाली कला एवं सङ्गीत जगतमा फेरी एउटा अपूरणीय क्षतिको खबरले यो मनलाई ज्यादै नै मर्माहत तुल्याएको छ, नेपाल र नेपालीका अति प्यारा एउटा विशिष्ट कलाकारलाई हाम्रो सामुबाट गुमाउनु पर्दा देशलाई ठुलो क्षति पुगेको हामीलाई महसुस भएको छ । दाइ हजुरको आत्माले स्वर्गमा बास गरोस् साथै हजुरका गीत सङ्गीत हामी सबै नेपालीहरूको मन मस्तिष्कमा जुगौं जुग रहिरहने छ ।

वरिष्ठ साहित्यकार तथा गायक हिरण्य भोजपुरे: मदन दीपवीम माटोका एक “मुटु” सङ्गीतकार हुन । मिठाससँगै माटोको सुगन्धले मनलाई छुनु उनको सङ्गीतको मीठो प्रवाह हो । मदन हाम्रा पनि अति मिल्ने भाइ हुन । उनको अप्रत्याशित उडानले उर्मिला र म विह्वल बनेका छौँ । उनी दीप हुन । उनको सङ्गीतको सीपले आफ्नोपनको गीतको दीप सदा प्रज्वलित भइरहनेछ । सिवा बहिनी, छोरीहरू, यो दुःखद घडीमा हामी टाढा छौँ । तर हाम्रा वेदना सँगै छन्। हार्दिक हार्दिक समवेदना !

गायिका उषा किरण अधिकारी: उहाँले निधनले मलाई साह्रै दु:ख लागेको छ, उहाँले नै मलाई गीत गाउन तथा नाच्न सिकाउनु भएको थियो उहाँको आत्माले शान्ति पाओस् ।

डा. दुर्गा दाहाल:  उहाँको निधनले बे-एरियाको नेपाली समाजमा एउटा अपूरणीय क्षति र ठुलो रिक्तता छोडेर गएको छ । 

 

प्रतिक्रिया