अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३३ | Colorodo: 16:48

युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार जेलेन्स्की भारी मतान्तरले विजयी

बिआरटीनेपाल २०७६ वैशाख ९ गते ९:४८ मा प्रकाशित

युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्य कलाकार भोलोडिमर जेलेन्स्की विजयी हुनुभएको छ । उहाँले वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई भारी मतान्तरले पराजित गर्नुभएको हो । राजनीतिमा खासै अनुभव नभएका ४१ वर्षीय हास्य कलाकार जेलेन्स्कीले ७३.२ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । निर्वाचन आयोगका अनुसार पोरोशेन्कोले २४.४ प्रतिशत मात्र मत प्राप्त गर्नुभएको छ । यद्यपी, करिब १५ प्रतिशत मतगणना हुन बाँकी छ ।

चुनावमा राष्ट्रपति पेट्रो पोरोशेन्को र हास्य कलाकार भोलोडिमर जेलेन्स्कीबीच कडा प्रतिस्पर्धा हुने पछिल्ला जनमत सर्वेक्षणमा देखिएको थियो । यसअघि सम्पन्न पहिलो चरणको चुनावमा वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध जेलेन्स्की र पूर्व प्रधानमन्त्री युलिया टिमोशेन्कोले कडा चुनौती दिएका थिए ।

कलाकार जेलेन्स्कीले राष्ट्रपति पेट्रो पोरोशेन्कोको भन्दा दोब्बर मत प्राप्त गर्नुभएको छ तर निर्वाचित हुन आवश्यक ५१ प्रतिशत मत प्राप्त गर्नुभएको छैन । युक्रेनी चुनाव आयोगका अनुसार पहिलो चरणमा जेलेन्स्कीले ३०.२ प्रतिशत र पोरोशेन्कोले १६.७ प्रतिशत मात्र मत प्राप्त गरेका थियो भने पूर्व प्रधानमन्त्री युलियाले १३.०८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

करिब चार करोड २० लाख जनसंख्या रहेको युक्रेनको यस पटकको राष्ट्रपतिको चुनावमा ३९ जनाले उम्मेदवारी दिएका थिए । पछिल्ला वर्षहरुमा भ्रष्टाचार, अर्थतन्त्रमा छाएको मन्दी तथा पूर्वी भेगमा रुसी समर्थनमा भइरहेको सशस्त्र सङ्घर्षबाट युक्रेन आक्रान्त छ । युक्रेनको संविधान अनुसार पहिलो चरणको चुनावमा कुनै उम्मेदवारले पूर्ण बहुमत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच दोस्रो चरणको चुनाव हुन्छ ।

चुनावी मतपरिणामबाट विजयी हुने सुनिश्चित भएसँगै जेलेन्स्कीले आफ्ना समर्थकहरुलाई राजधानी किभमा सम्बोधन गर्दै आफूले युक्रेनी जनताको भावनामा कहिल्यै कुठाराघात नगर्ने बताएका थिए । जेलेन्स्कीको विजयप्रति युरोपेली युनियन, नेटो, फ्रान्स, अमेरिका समेतका संस्था एवं सरकारबाट खुशी व्यक्त गर्दै युक्रेनको स्थायित्व र विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
चुनाव पछिको मतसर्वेक्षणमा युद्धरत एवं अशान्त पूर्वी क्षेत्रबाट भारी मत प्राप्त गरेका जेलेन्स्कीले राष्ट्रपति पोरोशेन्कोको पकड क्षेत्रबाट पनि बढी मत प्राप्त गर्ने देखाइएको थियो । पराजित राष्ट्रपति पोरोशेन्कोले आफ्नो हार भएको स्वीकार्दै विजयी जेलेन्स्कीलाई बधाई दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू