अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५७ | Colorodo: 02:12

नर्भिक इन्टरनेशनल हस्पिटलको २६औं वार्षिकोत्सव समारोह सम्पन्न

आर. पी. मैनाली २०७६ वैशाख ८ गते १०:४३ मा प्रकाशित

काठमाडौँ, सन् १९९३ मा सुरुवात भएको नर्भिक इन्टरनेशनल हस्पिटलले आज एक विशेष कार्यक्रमका बिच आफ्नो २६औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । २६औ. वार्षिकोत्सव समारोहकै हिस्साका रूपमा नर्भिकले विगत १५ दिनदेखि विविध कार्यक्रमहरू गर्दै आइरहेको थियो । तिनमा वृहत् रक्तदान कार्यक्रम, खेलकुद (आन्तरिक भलिबल/क्रिकेट) र हाजिरी–जवाफ प्रतियोगिता रहेका थिए । 

२६औं वार्षिकोत्सवका औपचारिक समारोह पूर्व नर्भिकका अध्यक्ष, कवि/गीतकार वसन्त चौधरीले नर्भिकमा नव स्थापित रक्तसञ्चार केन्द्र (ब्लड बैङ्क) को समुद्घाटन गरेका थिए । उक्त केन्द्रको व्यवस्थापन पश्चात् आफ्ना बिरामीहरू लगायत अन्य सर्वसाधारणलाई आवश्यकता पर्ने रगतको भण्डारण आफैसँग हुने, क्रस म्याच लगायतका सेवाहरू छिटो, छरितो र विश्वसनीय हुने तथा आकस्मिक समयमा बिरामीको बहुमूल्य समय बचाउँदै ज्यान बचाउन समेत मद्दत पुग्ने भएको छ । 

नेपाली चिकित्सा फाँटका विविध विधामा अग्रणी हुने श्रेय पाएको नर्भिकले आफूलाई अझै परिष्कृत पार्ने र स्वास्थ्य सेवामा विविधिकरण एवम् विशिष्टिकरण गर्दै दक्षिण–पूर्वी एसियाकै एक उत्कृष्ट, उदाहरणीय एवम् नमुनायोग्य हस्पिटलमा परिणत हुने कार्यको थालनी यसै वर्ष हुने भएको छ ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आगामी तीन वर्षभित्र थप अन्दाजी रु. २०० करोडको लगानीमा अत्याधुनिक २५० शैयायुक्त बन्ने बहुआयामिक एवम् बहु बैशिष्ट्य नर्भिकको भौतिक÷प्राविधिक पूर्वाधार विकासबारे हस्पिटलका अध्यक्ष वसन्त चौधरीले उजागर गरेका हुन् । करिब ५० जना कर्मचारीहरूद्वारा सुरुवात गरिएको २५ शैयायुक्त नर्सिङ होम हाल करिब ९०० चिकित्सकीय, गैर चिकित्सकीय सदस्यहरूको कर्मथलो बनेको र १५० शैयायुक्त रहेको बताउँदै आगामी सन् २०२२ भित्रै यसलाई २५० शैयायुक्त अति विशिष्ट हस्पिटलका रूपमा विकास गरिने उनले बताए ।

हस्पिटलका भौतिक र प्राविधिक पूर्वाधारहरू जतिसुकै बढेता पनि नर्भिकले सदैव बिरामीको सर्वोपरि हितलाई ध्यान दिने प्रतिबद्धता दोहो¥याउँदै नर्भिक हिजो बिरामी सेवामा समर्पित थियो, आज पनि समर्पित छ र भोलि पनि सोही अनुरूप समर्पित रहने दृढता उनले राखे । 

हस्पिटलको प्रबन्ध निर्देशक मेघा चौधरीको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रममा हस्पिटलका लब्ध प्रतिष्ठित चिकित्सकहरूमध्ये अमेरिकन बोर्ड सर्टिफाइड स्नायु चिकित्सक तथा स्नायु रोग विभागीय प्रमुख डा. पङ्कज जलानले नयाँ उचाइमा पुग्दै गर्दा नयाँ चुनौती पनि आइपर्ने र त्यस्ता सबै चुनौतीहरूको सामना गर्न नर्भिक सक्षम रहेको बताए । नर्भिक राष्ट्रकै एक उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक संस्था भएको, यसप्रति सर्वसाधारणको अत्यन्त ठुलो आस्था र भरोसा रहेको भन्दै यसलाई आफूहरूले कायमै राख्ने बताए, डा. जलानले ।

सोही समारोहमा बोल्दै नर्भिकको पाचन प्रणाली उपचार केन्द्र तथा ग्याष्ट्रोइन्टेरोलोजी विभागीय प्रमुख वरिष्ठ चिकित्सक डा. मधु घिमिरेले नर्भिकले नेपाली चिकित्सा फाँटलाई अन्तर्राष्ट्रियस्तरमा पुrयाउन जति काम गरेको छ, त्यति कुनै पनि नेपाली सरकारी र गैर–सरकारी हस्पिटलहरूले गर्न सकेका छैनन् उनले भने ।

जसरी मुटु रोग उपचारमा नर्भिकले राष्ट्रमै सर्वप्रथम इन्टरभेनसन प्रविधि भित्र्याई अग्रणी हुने श्रेय पायो, त्यसरी नै पाचन प्रणाली उपचारमा अत्यावश्यक इन्टरभेनसन प्रविधि भित्र्याउने नर्भिक राष्ट्रकै पहिलो हस्पिटल रहँदै इ.आर.सी.सी. इण्डोस्कोपिक अल्ट्रासाउण्ड, इन्टेरेस्कोपी जस्ता प्रविधि भित्र्याउनेमा राष्ट्रकै पहिलो रहेको र विगत १० वर्षमा पाचन प्रणाली उपचारका क्षेत्रमा निकै ठुलो फड्को मारेको डा. घिमिरेले दाबी गरे । सो अवसरमा बोल्दै नर्भिककी प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख प्रा.डा. अचला वैद्यले विगत १४ वर्षमा नर्भिकमा प्रसूति तथा स्त्रीरोग उपचारमा अन्तर्राष्ट्रिय स्तर कायम गर्न सकेको भन्दै सब–फर्टिलिटी, फिटल मनिटरिङ्ग, मेनोपाउज जता विषय विशेषज्ञ उपचार सेवा दिँदै हाल प्रिभेन्टिभ अन्कोलोजी र विशेष परामर्श (काउन्सेलिङ्ग) युनिट मार्फत सेवा सुरु गरेको हुँदा देशै भरबाट आउने रेफरल केसहरू सफलतापूर्वक व्यवस्थापन गर्न सकेको बताइन ।

समारोहमा वरिष्ठ छाती तथा श्वास–प्रश्वास रोग विशेषज्ञ प्रा.डा. रमेश चोखानी, वरिष्ठ मुटु रोग विशेषज्ञ (इन्टरभेन्सनल कार्डियोलोजिष्ट) तथा मुटु रोग विभागीय प्रमुख प्रा.डा. यादवदेव भट्ट, वरिष्ठ हाड–जोर्नी विशेष तथा हाड–जोर्नी विभागीय प्रमुख डा. प्रवीण नेपालले आ–आफ्ना फ्याकल्टीलाई अझै कसरी उच्चस्तरीय पार्ने भन्ने विषयमा आफुहरु दत्तचित्त रहेको बताए ।

उपचारमा नवीनतम प्रविधि भित्र्याउने क्रममा हाल कायरोप्राक्टिक सेवा नेपालमै पहिलो पटक सुरु भइसकेको र अन्य सेवाहरू सुरुवातकै क्रममा रहेको पनि बताइयो । कार्यक्रमका बिच बिचमा हस्पिटलका दीर्घ सेवी कर्मचारीहरू र उत्कृष्ट विभागीय कर्मचारीहरू पुरस्कृत र सम्मानित भएका थिए ।

हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहको धन्यवाद ज्ञापनबाट समापन गरिएको पहिलो सत्रको औपचारिक समारोह लगत्तै दोस्रो चरणको सांस्कृतिक, साङ्गीतिक एवम् अन्य मनोरञ्जनात्मक कार्यक्रम सहित दोस्रो सत्र सुरु भएको थियो । दोस्रो सत्रमा कर्मचारीहरूको समूहद्वारा रोचक नृत्य, थारु नृत्य, गीत र फेसन सो समेत प्रस्तुत भएका थिए । दोस्रो सत्रको सांस्कृतिक र साङ्गीतिक कार्यक्रमका बिचमा क्रिकेट र भलिबल प्रतियोगिताका प्रथम र द्वितीय हुने समूहका सदस्यहरूलाई प्रबन्ध निर्देशकले र हाजिरी जवाफ प्रतियोगिता का विजयी कर्मचारीहरूलाई कार्यकारी निर्देशकले पुरस्कृत गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू