अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१४ | Colorodo: 08:29

लगानी सम्मेलन प्रभाव– ७७ वटा परियोजनामध्ये २६ परियोजनामा मात्रै आवेदन

बिआरटीनेपाल २०७६ वैशाख ८ गते ९:४७ मा प्रकाशित

लगानी सम्मेलनमा सरकार र निजी क्षेत्रले लगानीका लागि ‘सो केस’मा राखेका ७७ वटा परियोजना मध्ये २६ परियोजनामा मात्र आवेदन परेको छ । लगानी बोर्डका अनुसार ती परियोजनाका लागि ४३ वटा आवेदन परेका छन् । गत वर्ष चैत १४ र १५ गते राजधानीमा सम्पन्न लागनी सम्मेलका क्रममा ११ वटा परियोजनामा १७ वटा मात्रै आवेदन परेपछि सरकारले आवेदनको समय लम्बाएर वैशाख ७ अर्थात अप्रिल २० तारिक सम्म पु¥याएको थियो । लगानी सम्मेलनका क्रममा पेश नभएका पाँच वटा थप परियोजनामा आवेदन प्राप्त भएको बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताउनुभयो । बोर्डका अनुसार आवेदन प्राप्त परियोजनाहरुको कुल अनुमानित लागत २५ खर्ब भन्दा बढी रहेको छ ।

यातायात तथा पूर्वाधार निर्माणका ९ वटा परियोजनामा सबैभन्दा बढी २२ वटा लगानीको आवेदन परेको छ। बिआरटी अन रोड काठमाडौँ, आउटर रिङरोड काठमाडौँ, निजगड अन्तराष्ट्रिय विमानस्थल, काठमाडौँ भ्याली मेट्रो रेल, इस्ट—वेस्ट इलेक्ट्रिफाइड रेलवेज, काठमाडौँ—पोखरा—लुम्बीनी रेलवेज, काठमाडौँ स्काइ टे«न, सामाखुसी—टोखा—छहरे रोड, धनगढी इन्टरनेशल एयरपोर्टमा लगानीका लागि आवेदन परेको हो ।

सरकारले लगानी सम्मेलनमा निकै जोड दिएको ऊर्जा क्षेत्रमा पनि लगानीका लागि आवेदन आएका छन् । तर ती यातायात पूर्वाधार भन्दा कम छन् । तमोर, वेस्ट सेती, एसआर —सिक्स, सुनकोशी दुई र तीन, अरुण तेस्रो हाइड्रोपावर र पाँच सय ५० मेगावटको नेपाल सोलार गरी ८ वटा परियोजनामा लगानीको आवेदन आएको छ ।

सरकारले कृषिको आधुनिकीकरण गर्ने योजना १५ औँ योजनामा समावेश गरेको अवस्थामा त्यस क्षेत्रमा लगानी गर्न पाँच वटा आवेदन परेका छन् । खासगरी इन्टिग्रेटेड एग्री उर्लावारी, इन्टिग्रेटेड एग्री हेम्जा, इन्टिग्रेटेड एग्री बनेपा र चितवन, इन्टिग्रेटेड एग्री वीरेन्द्रनगर, इन्टिग्रेटेड एग्री तिलोत्तमामा लगानीका लागि ७ वटा आवेदन परेका छन् । सरकारले प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पनि लगानीका लागि आवेदन परेको छ। यस्तै जनकपुरको सोलिड वेस्ट म्यानेजम्यान्ट, विराटनगरेको वेस्ट इन्सिनिरेसन पावर जनेरेशन, मेलम्ची, खोकना र भरतपुरको वेस्ट वाटर ट्रिटमेन्टका लागि पनि लगानीको प्रस्ताव आएको छ ।

सरकारले पर्यटनको लगानीलाई प्राथमिकतामा राखेको बताउँदै आएको छ । तर यसमा लगानीका लागि आवेदन पनि न्यून परेको छ । जानकी हेरिटेज होटेल, तालतलैया थेमी पार्क र ड्रिम ल्याण्डका लागि लगानीको आवेदन आएको हो । स्वास्थ्य र शिक्षामा लगानी बढेको भनिरहेका बेला यस क्षेत्रमा लगानीको लागि आवेदन भने निकै कम आएको छ । धुलिखेल मेडिसिटी र गण्डगी टेक्निकल युनिभर्सिटीका लागि लगानीको आवेदन आएको छ । आर्थिक वृद्धिदरलाई उच्च बनाउने सरकारको योजना छ । त्यसका लागि उद्योगको विकास र विस्तार सहयोगी बन्नछन् । तर लगानीसम्मेलको प्रभावमा एउटा मात्रै उद्योगको परियोजनामा आवेदन परेको छ। लजेस्टिक पार्क—बल्क टर्मिनलमा लगानी आवेदन परेको हो ।

सोमबार आयोजित पत्रकारसम्मेलनमार्फत लगानी वोर्डका कार्यकारी अधिकृत अधिकारीले आवेदन परेका मध्ये पहिलो चरणमा २७ वटा परियोजनाका लागि तीन महिना अर्थात अगष्ट २० तारिक भित्र विकासकर्ता छनौट गरिसक्ने तयारी गरेको जानकारी दिनुभयो । यस्तै दोस्रो चरणमा १७ परियोजनाका लागि ९ महिना अर्थात सन् २०२० को फेब्रुवरी भित्र र तेस्रो चरणका ६ वटा परियोजनाका लागि १४ महिना अर्थात सन् २०२०को अगष्ट २० भित्र विकासकर्ता छनौट गर्ने गरी कार्ययोजना तयार गरिएको छ ।

चार दिन अघि बसेको बोर्डको बैठकले प्राप्त आवेदनहरुको मुल्यांकन तथा सम्मेलनमा भएका समझदारी तथा सम्झौताको कार्यान्वयनको अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका आर्थिक तथा भौतिक पूर्वाधार हेर्ने सचिवको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू