अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५५ | Colorodo: 11:10

अमेरिकामा रक्तदान कार्यक्रम सम्पन्न

बिआरटी नेपाल सम्वाददाता, कोलोराडो २०७६ वैशाख ८ गते ९:५४ मा प्रकाशित

गत अप्रिल २० तारिख शनिवारको दिन कोलोराडोको बोल्डर सहरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवन दानको अवधारणालाई जोड दिन नेपाली समुदायमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छन् । रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल र ब्लड डोनर अफ अमेरिका कोलोराडोको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको थियो । 

रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका महासचिव विनय दाहालले बिआरटी नेपाललाई दिएको जानकारी अनुसार बोनफिल्ड ब्लड सेन्टर बोल्डरमा सम्पन्न कार्यक्रममा १२ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरूमा लुना पौडेल, मणिराज बस्नेत, विनय दाहाल, भावना बस्नेत, रेवत राज पौडेल, धना पौडेल, साधना बस्नेत, आस्मा बस्नेत, श्रीराम लुइटेल, शर्मिला खत्री, फडिन्द्र क्षेत्री र ज्योति क्षेत्री छन् । 

साधना बस्नेत, भावना बस्नेत, आस्मा बस्नेतले पहिलो पटक रक्तदान गरेका थिए । नेपाल वा अन्य देशमा गएको एक वर्ष भित्र रक्तदान गर्न नपाइने भए पनि यदि नेपालको काठमान्डौ या हिमाली भेगमा गएको खण्डमा भने रक्तदान गर्न सकिने साथै रक्तदान गर्न १६ वर्ष देखी २३ वर्ष उमेर सम्मकाले १३८ पाउन्ड भन्दा माथि वजन हुनुपर्ने र २३ वर्ष भन्दा माथिकाको ११० पाउन्ड भन्दा माथि वजन हुनु पर्ने प्रावधान रहेको छ । 

ब्लड डोनर अफ अमेरिकाले बेला बेलामा कोलोराडोका स्थानीय सङ्घ संस्थाहरूसँग मिलेन रक्तदान कार्यक्रमको आयोजना गर्दे आएको छ । यसै गरी बिआरटी नेपाल डट कम, अरोरा लायन्स क्लब र ब्लड डोनरको संयुक्त आयोजनामा अर्को रक्तदान कार्यक्रम अप्रिल २७ शनिवार डेनभरको लोरी ब्लड सेन्टरमा र लङ्मन्ट हिमालय लायन्स क्लब र ब्लड डोनरको संयुक्त आयोजनामा मे ५ मा लङ्मन्टमा हुँदैछ ।