अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१७ | Colorodo: 01:32

पशुपति पाण्डे नै एनआरएनएको महासचिव किन ?

बिआरटीनेपाल २०७६ वैशाख ७ गते १७:११ मा प्रकाशित

सियाटल ।  पशुपति पाण्डे एनआरएनए एनसीसी अमेरिकाको सन् २०१९–२१ का लागि महासचिवमा उम्मेदवारी दाखिला गरे पछि चुनावी दौडाहामा निस्किएका छन् । पाण्डे भन्छन् “प्रवासमा बसोबास गर्ने नेपालीहरूका लागी एनआरएनएद्वारा नेपाल तथा नेपालीहरू बिच जोडिन पाउनु गौरवको कुरा हो ।”

पाण्डे ‘जन्मभूमिको भूगोल भन्दा बाहिर बसेका नेपालीहरूलाई नेपालको हित, विकास, र समुन्नतिमा जोड्ने गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) मात्र यस्तो संस्था हो जहाँ हामीले अरूलाई सेवा गर्दा स्वयम् आफूलाई पनि सेवा गरिरहेका हुन्छौँ’ भन्ने मान्यताका साथ यसमा जोडिएका हुन् । करिब २५ वर्ष देखि जन्म भूमि नेपाल र कर्म भूमि अमेरिकामा विभिन्न सङ्घ संस्थामा आबद्ध भएर सामाजिक कार्यमा सहभागी हुँदै आइरहेका छन् पशुपति पाण्डेय । साथै सन् २०१० देखि एनआरएनए सँग आबद्ध रही सन २०१४ देखि एन सी सी तथा आई सी सी को टास्कफोर्समा बसेर सक्रियरुपमा काम गर्दै पनि आइरहेका छन् ।

“एनआरएनए एन सी सी, अमेरिका अहिले पनि संस्थागत प्रगति र सुद्रिढिकरणको मजबुत जग निर्माण गर्दै सिँढी चढिरहेको छ । यसलाई थप गति र उचाइ दिँदै संस्थाको लक्ष र उद्देश्य अनुरूपको आकृतिमा ल्याउन तपाईँ हाम्रा हात, सिप र दक्षता को आवश्यक छ” भन्ने पाण्डेको सार्वजनिक अभिव्यक्ति रहेको छ । “त्यसैले यसको पूर्ण संरचना र वैभव स्वरूपको निर्माणमा तपाईँ हामी जोडिँदै जानु पर्छ । यस सन्दर्भमा थुप्रै काम र प्रयासहरू एनआरएनए अमेरिकाका अभियान्ताहरुले अगाडि बढाउनु भएता पनि अझै पनि यसमा गर्नु पर्ने धेरै कामहरू बाँकी नै छन्” भन्छन् पाण्डे ।

प्रवासमा बस्ने नेपालीहरूका केही महत्त्वपूर्ण एजेन्डाहरू अहिले पनि एन सी सी तथा आई सी सी मा प्रवेश पाएका छैनन् । युवा जनशक्तिको भविष्य निर्माणको लागी प्रभावकारी दिशानिर्देश कार्यक्रम, एकल आमाहरूका लागी सहयोगी हात कार्यक्रम, सिप मूलक कार्यक्रम तथा स्वास्थ्य बिमा सम्बन्धी सूचना मूलक कार्यक्रम यसका प्रत्यक्ष उदाहरण हुन् । प्रवासमा बस्ने यस्ता धेरै एजेन्डाहरू छन्, जुन एजेन्डाहरू लाई एनआरएनएले सम्बोधन गर्नु पर्ने र त्यसका लागि महासचिवमा आफ्नो उम्मेदवारी दाखिला भएको पाण्डेको दाबी रहेको छ ।

पशुपति पाण्डेयले महासचिवको उम्मेदवारीसँगै ६ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

१ ) स्थानीय नेपाली समाज तथा एनआरएनए अभियान्ताहरुसँगको सहभागितामा राय सुझाव सङ्कलन गरी, अध्यक्ष लगायत सबै उम्मेदवारहरूका एजेन्डाहरू लाई समाहित गरी राष्ट्रिय स्तरको प्लानिङ मिटिङबाट कार्य योजना तर्जुमा गरी आगामी दुई वर्षका लागि कार्य योजना निर्धारण गर्नेछु ।

२ ) सिपको अभावमा न्यूनतम पारिश्रमिकमा काम गरिरहन बाध्य जनशक्तिलाई जीवनस्तर वृद्धिका लागि सिप तथा क्षमता विकाशका र पहुँच वृद्धिको लागि कार्यक्रम सञ्चालन गर्न प्रयत्न गर्नेछु ।

३ ) उच्च शिक्षा हासिल गरी भविष्य निर्माण गर्ने सपना बोकी अमेरिकाको विभिन्न कलेज तथा विश्व विद्यालयमा अध्ययनरत तथा अध्ययन पुरा गरी रोजगारीको खोजीमा रहनु हुने युवा शक्तिलाई शिक्षा तथा रोजगार मूलक सल्लाह सुझाव प्रस्तुत गर्न विज्ञहरू रहने गरी संरचना निर्माण गर्न पहल गर्नेछु ।

४ ) अमेरिकामा लुकेर रहेको प्रतिभाशाली जनशक्तिलाई नेपाल र नेपालीको हितमा जोड्न अमेरिकाको विभिन्न राज्यहरूमा नलेज सेयरिङ, अन्टरप्रनोरसिप, ड्रिम बिग तथा युथ इन्टर्नसीप जस्ता कार्यक्रम आयोजना गर्न पहल गर्नेछु ।

५ ) अमेरिकामा विद्यमान विज्ञहरूको विज्ञतालाई नेपाल र नेपालीको हितमा प्रयोग गर्न गराउनका लागि साइन्स टेक्नोलोजी तथा इनोभेशन समितिले अगाडि सारेका मुद्दाहरू विज्ञहरूको डाटाबेस, इन्टर्नसीप, इनभायरमेन्ट, बायो टेक्नोलोजी, स्मार्ट सिटी, गुड गभरनेन्स जस्ता कार्यक्रमहरूलाई कार्यान्वयनमा ल्याउन पहल गर्नेछु ।

६ ) नेपालको संसद्मा छलफलको क्रममा रहेका नागरिकता सम्बन्धी विधेयक हाम्रो माग बमोजिम प्रवासी नेपालीहरूको हितमा ल्याउनका लागि तथा दोहोरो ट्याक्स प्रणाली हटाएर एक ठाउँ मात्र ट्याक्स तिर्नु पर्ने व्यवस्था लागू गराउन सम्बन्धित निकायमा पहल गर्नेछु ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू