अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१२ | Colorodo: 08:27

आइएस लडाकूद्वारा सत्तापक्षीय २७ लडाकूको हत्या

बिआरटीनेपाल २०७६ वैशाख ७ गते ९:४९ मा प्रकाशित

इस्लामिक स्टेट (आइएस)सँग आबद्ध लडाकूहरुले सिरियाली सत्तासँग निकट सम्बन्ध रहेका २७ जना लडाकूको हत्या गरेका छन् । सिरियामा आइएसको पतन भएको ठानिए पनि पछिल्लो घटनाले सबैलाई आश्चर्यचकित तुल्याएको सिरिया द्वन्द्वको अनुगमन गरिरहेको संस्थाले जनाएको छ ।

बेलायतस्थित सिरियाली मानव अधिकारसम्बन्धी अब्जरभेटरीले विगत ४८ घन्टाभित्रै होम्स प्रान्तको पूर्वी मरुभूमिमा चारजना सिरियाली सैनिकसहित सरकार समर्थित २७ जना लडाकूको हत्या भएको जनाएको छ । सिरिया र इराकको दुर्गम पहाडी मरुभूमिमा अखडा बनाएर बसेका आइएस लडाकूले आक्रमण गरेको र त्यसको जिम्मेवारी लिएको जनाइएको छ ।

अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले आइएसका अखडाहरु ध्वस्त भएको घोषणा गरिएपछि सत्तापक्षमाथि सबैभन्दा घातक आक्रमण भएको र ठूलो संख्यामा मानवीय क्षति भएको बताएका छन् । अब्जरभेटरीका अनुसार भिडन्तमा आइएसका ६ जना लडाकूकोसमेत मृत्यु भएको छ ।

विशाल सिरियाली मरुभूमि राजधानी दमास्कसदेखि होम्स र हामा सहर हुँदै इराकी सीमानजिकको युफ्रेटस उपत्यकासम्म फैलिएको छ । यो क्षेत्रमा पछिल्लो समय आइएसले आश्रयस्थल बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू