अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५९ | Colorodo: 08:14

इजिप्टमा जनमतसंग्रह, राष्ट्रपतिको शासनकाल लम्ब्याउने मुख्य प्रस्ताव

बिआरटीनेपाल २०७६ वैशाख ७ गते ९:४६ मा प्रकाशित

इजिप्टका राष्ट्रपतिको शासनकाल लम्ब्याउने प्रस्तावसहितको संविधान संशोधन प्रस्तावमाथिको जनमतसङ्ग्रहका लागि शनिबार मतदान शुरु भएको छ । तीन दिने यो मतदान अप्रिल २२ तारिखमा समाप्त हुनेछ । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले राजधानी कायरोमा शनिबार मतदान गर्नुभएको छ । जनमतसङ्ग्रहले संविधान संशोधन प्रस्ताव पारित गरेमा राष्ट्रपति अल–सिसीको वर्तमान कार्यकालमा दुई वर्ष थप गरी सन् २०२४ सम्म पुग्नेछ भने त्यसपछि छ वर्षे कार्यकालका लागि उहाँ पुनः उम्मेदवार हुन पाउनुहुनेछ ।

अधिकारकर्मीहरूले विरोध गरे पनि जनमतसङ्ग्रहले अरब विश्वको सबैभन्दा ठूलो राष्ट्र इजिप्टको राजनीतिमा सैनिक जनरल अल–सिसीको पकड अझ बलियो बनाउनेछ । जनमतसङ्ग्रहले सिसीलाई न्यायपालिकामा नियन्त्रणको बाटो खोलेको छ भने राजनीतिमा सेनाको प्रभाव बढाउनेछ । सन् २०११ मा भएको जनविद्रोहले होस्नी मुबारकको शासनसत्ता ढालेपछि गठन भएको मोहमद मोर्सी नेतृत्वको नागरिक सरकारलाई अपदस्थ गरी सैनिक जनरल सिसी इजिप्टको राष्ट्रपति हुनुभएको थियो । सिसीले मोर्सीलाई २०१३ मा सत्ताच्यूत गर्नुभएको थियो ।

विपक्षी र मानव अधिकारवादीहरूले इस्लामिक र धर्मनिरपेक्ष समूहमाथि राष्ट्रपति सिसीले दमन गरेको भन्दै आलोचना गरिरहेका छन् । इजिप्टको संसदले अघिल्लो साता राष्ट्रपति अल–सिसीको शासनकाल सन् २०३० सम्म लम्ब्याउन सक्ने गरी संविधान संशोधन प्रस्ताव पारित गरेको थियो । राज्य सञ्चालित सञ्चार माध्यमका अनुसार, संसदले देशको सेनालाई मुलुकको राजनीतिक मामिलामा प्रवेश गराउने तथा न्यायपालिकामाथि राष्ट्रपतिले बढी नियन्त्रण गर्न पाउने प्रावधान समेत पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू