अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६ | Colorodo: 23:31

सबै दलको सहमतिमै विकास निर्माणमा जाने संकल्प – प्रचण्ड

बिआरटीनेपाल २०७६ वैशाख ६ गते ९:४९ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै दलको सहमतिका साथ विकास निर्माणमा जाने संकल्प गरेको बताउनुभएको छ । प्रदेश नम्बर–३ सरकारले शुक्रबार चितवनमा आयोजना गरेको निजी क्षेत्रसँग अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले सबैको सहमतिबाट मात्रै देश समृद्ध हुने बताउनुभयो ।

दलीय सहमतिका साथ संविधान बनाईएको तथा सहमतिसाथ निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै उहाँले अब सहमतिका साथ विकास निर्माणतर्फको यात्रा सुरु गर्ने संकल्प गरेको बताउनुभयो । सत्तापक्ष र प्रतिपक्षलगायत सबै दलको आवाजको सार अब समृद्धि नै रहेको उल्लेख गर्दै उहाँले अब यसलाई कार्यान्वयन गर्नका निम्ति सबैले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । सार्वजनिक र निजी क्षेत्र इमान्दारसाथ मिलेर विकास निर्माणमा लाग्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतले योजना र नीति निर्माणको समस्या नभएर कार्यान्वयनको समस्या रहेको बताउनुभयो । संघीयतासँगै तीन तहका सरकारले आफ्नो निर्णय क्षमता र गुणस्तर बढाउनुपर्ने बताउँदै उहाँले लगानीको वातावरण सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्ने ठहर गर्नुभयो ।

सो अवसरमा सांसद विनोद चौधरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेललगायतका सहभागी व्यवसायी र नीति–निर्माताले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम अन्तर्गत् शनिबार निजी क्षेत्रसँग बृहत अन्तरक्रिया गरिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू