अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१८ | Colorodo: 09:33

उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, किमको रुस भ्रमणको तयारी

बिआरटीनेपाल २०७६ वैशाख ५ गते १०:२८ मा प्रकाशित

उत्तर कोरियाले नयाँ सामरिक महत्वको हतियार परीक्षण गरेको छ । उत्तर कोरियाली सन्चारमाध्यम ‘केसीएनए’काअनुसार सैनिकको क्षमता बढाउन टाढैबाट नियन्त्रण गर्न सकिने नयाँ हतियारले निकै सहयोग पुग्नेछ । केसीएनएले उत्तर कोरियाली नेता किम जोङ–अनले बुधबार उक्त नयाँ हतियारको परीक्षण कार्यको निरीक्षण गरेको जनाएको छ । तर, नयाँ हतियारका बारेमा विस्तृत विवरण दिइएको छैन ।

उत्तर कोरियाली नेता गत वर्ष नोभेम्बरयता पहिलोपटक नयाँ हतियारको निरीक्षणमा सहभागी हुनुभएको जनाईएको छ । उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको हनोइमा भएको दोस्रो शिखर वार्ता विफल भएपछि उत्तर कोरियाले नयाँ हतियार परीक्षण गरेको हो । किमको भनाइ उद्धृत गर्दै केसीएनएले भनेको छ–‘नयाँ हतियारले पिपुल्स आर्मीको क्षमता बढाउन ठूलो मद्दत गर्नेछ । सेनालाई आधुनिक हतियारबाट सुसज्जित तुल्याउन उत्तर कोरियाली वैज्ञानिकहरुले गरेको अनुसन्धान कार्यको म उच्च मूल्यांकन र प्रशंसा गर्दछु ।’

विज्ञहरुले नयाँ विकसित हतियार छोटो दूरीको नियन्त्रित वा क्रुज क्षेप्यास्त्र रहेको बताएका छन् । हतियार परीक्षणको निरीक्षणका लागि किमको उपस्थिति संयुक्तराज्य अमेरिकामाथि दबाब सिर्जना गर्नका लागि भएको विज्ञहरुको भनाइ छ । कोरियाली अध्ययन केन्द्रका निर्देशक ह्यारी काजियानिस अमेरिकाको जबर्जस्ती अडानबाट निराश भएको देखाउन हतियार परीक्षणमा उत्तर कोरियाली नेता किम स्वयं उपस्थित भएको हुनसक्ने बताउँछन् ।

यसैवीच, एउटा रुसी अखबारले रुसी विदेश मन्त्रालयको स्रोतलाई उल्लेख गर्दै नेता किम र राष्ट्रपति भ्लादिमिर पुटिनबीच अर्को साता शिखर बैठक गर्न तयारी जोडतोडका साथ भइरहेको जनाएको छ । जापानको एक टेलिभिजन च्यानलले किमका मुख्य सहयोगीलाई रुसी सहर भ्लाडिभोस्टकमा देखिएको जनाएको छ ।

रुसको दैनिक अखबार ‘इज्भेस्टिया’ले रुसी विदेश मन्त्रालयको स्रोतलाई उद्धृत गर्दै पुटिन र किमबीचको पहिलो शिखर बैठक भ्लाडिभोस्टकमा हुनसक्ने बताएको छ । राष्ट्रपति पुटिन चीनमा आगामी अप्रिल २६–२७ मा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनेक्रममा भ्लाडिभोस्टकको भ्रमण गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू