अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०१ | Colorodo: 18:16

विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो, युएई विश्वकपमा छनौट

बिआरटीनेपाल २०७६ वैशाख ५ गते १०:०६ मा प्रकाशित

आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी उन्नाइस वर्षमुनिको एकदिवसीय विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो भएको छ । मलेसियामा जारी एशिया छनोट अन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले ओमानलाई १० विकेटले पराजित गरेपछि नेपालको विश्वकप खेल्ने सपनामा अधुरो रहेको हो ।

छनोट खेलमा सिगांपुरविरुद्धको पहिलो खेलबाट राम्रो शुरुआत गरेको नेपालका लागि युएईविरुद्धको दोस्रो खेलमा हार बेहोर्नु नै विश्वकप खेल्न नपाउनुका प्रमुख कारण बनेको छ । वर्षाका कारण खेल सम्भव नभएपछि वकवर्थ नियमका आधारमा नेपाल एक रनको झिनो अन्तरले युएईसँग पराजित भएको थियो । जसको नतिजाबाट नेपालको विश्वकप खेल्ने सपना अधुरो नै रहेको हो ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई दुइ सय १७ रनको भारी अन्तरले पराजित गरेको थियो भने मलेसियालाई आठ तथा ओमनलाई एक सय ५० रनले पराजित गरेको थियो । जारी खेलमा नेपालले कुवेतलाई पराजित गरे पनि नेपाल विश्वकपमा सहभागिता जनाउन पाउने छैन । विश्वकपमा छनोट हुन नेपाललाई कुवेतविरुद्ध जित र युएईको हार आवश्यकता रहेको थियो तर, युएईको जितसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो ।

उक्त छनोट प्रतियोगिताको शीर्ष एक टोलीले मात्र विश्वकपमा स्थान बनाउने प्रावधान छ । जसमा युएई प्रवेश गर्न सफल भएको हो । यसअघि सात पटक विश्वकप खेलिसकेको नेपाल आठौँ पटक प्रवेशका लागि युएईसँगको खेल घातक भएको छ । जितसँगै युएईले अब सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा सहभागिता जनाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू