अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१५ | Colorodo: 08:30

नेपाल सरकार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक- सचिवहरुको वढुवा र पदस्थापन

बिआरटीनेपाल २०७६ वैशाख ५ गते १०:०० मा प्रकाशित

सरकारले विभिन्न सचिवहरुको बढुवा तथा पदस्थापन गरेको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवाको समूहीकरण (क्लस्टर)तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा राजपत्रांकित प्रथम श्रेणीका सहसचिव हरिप्रसाद बस्याललाई बढुवा गरेको छ । बस्याललाई बढुवासँगै पोखरास्थित गन्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुखसचिवकारुपमा पदस्थापन गरिएको छ ।

यस्तै, सचिव केवल भण्डारीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुखसचिवमा पदस्थापना गरिएको छ । मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पदस्थापन गरेको छ भने कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुखसचिव रामप्रसाद थपलियालाई स्वास्थ्य मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ ।

प्रदेश नम्बर–१ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालका प्रमुखसचिव केदार न्यौपानेलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र महानगरका यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी दिएको छ । त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीलाई कायममुकायम गरी प्रदेश–१ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुखसचिवमा पदस्थापन गरिएको छ ।

त्यस्तै, अतिरिक्त समूहमा सचिव रहेका हरि पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गरिएको छ । यस्तै, मन्त्रिपरिषद् बैठकले संघमा समायोजन भएका कर्मचारीबाट कामकाज गर्नेगरी पशु क्वारेन्टाइन कार्यालय, काठमाडौंअन्तर्गत् रसुवा जिल्लाको रसुवागढी तथा काठमाडौं जिल्लाको नागढुंगामा अस्थायी पशु क्वारेन्टाइन चेकपोस्ट स्थापना गर्ने निर्णय गरेको छ ।

ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ लाई स्वीकृत गरिएको छ । यस्तै, बीउ–बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिनेलगायतका १२ ओटा निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू