अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१७ | Colorodo: 15:32

नर्थ क्यारोलाइनामा आगामी शनिवार तेस्रो नेपाल डे कार्यक्रम हुँदै

बिआरटीनेपाल २०७६ वैशाख ३ गते १२:३५ मा प्रकाशित

अमेरिकाको नर्थ क्यारोलाइना स्थित मोरिस्भिलमा यही अप्रिल २० तारिख शनिवार विविध कार्यक्रमका साथ तेस्रो नेपाल डे कार्यक्रम सम्पन्न हुँदै छ ।कार्यक्रमको पूर्वसन्ध्यामा वेक काउन्टी बोर्ड अफ कमिसनरको बैठकमा काउन्सिल चेयर जेसिका होम्सले अप्रिलको तेस्रो शनिवारलाई नेपाल डे को रूपमा मनाउने सार्वजनिक घोषणा (Proclamation) गर्नुभयो ।नर्थ क्यारोलाइना र खास गरी वेक काउन्टी क्षेत्रमा नेपालीहरूको बसोबास रहेको र यस क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा नेपाली समुदायको उल्यख्य योगदान रहेको बताउँदै जेसिका होम्सले काउन्टीले नेपाल डे घोषणा गरेर गरेर नेपाली समुदायको योगदानको सम्मान गर्न पाएकोमा खुसी प्रकट गर्नुभयो । काउन्सिल चेयर जेसिका होम्सले नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना ( एन सी एन सी ) का अध्यक्ष डा वटु शर्मालाई Proclamation हस्तान्तरण गर्दै शनिवार मोरिस्भिलमा हुने कार्यक्रममा आफू सहभागी हुने जानकारी गराउँदै काउन्सिल बैठकमा उपस्थित सबैलाई सहभागी हुन् अनुरोध गर्नुभयो । 

कार्यक्रममा एन सी एन सिका अध्यक्ष डा वटु शर्माले नेपाल डे Proclamation मार्फत वेक काउन्टीले नेपाली समुदायलाई ठुलो सम्मान दिएको र यो विशेष पहिचानले नर्थ क्यारोलाइनबासी नेपाली समुदायलाई निक्कै उत्साही बनाएको बताउनुभयो । मन्तव्यको क्रममा डा शर्माले नेपाल डे कार्यक्रममा उपस्थित भई नेपाली संस्कृतिको अवलोकन गर्न र नेपाली खानाका परिकारहरूको स्वाद लिनको लागि सबैलाई निम्तो दिनुभयो ।कार्यक्रममा मोरिस्भिल टाउनका निर्वाचित सदस्य स्टीव रावले तीन वर्ष अघि टाउन अफ मोरिस्भिलले पहिलो पटक नेपाल डे घोषणा गरेको र त्यसैको निरन्तरता स्वरूप दोस्रो वर्षबाट काउन्टीले पनि नेपाल डे घोषणा गरेको स्मरण गराउँदै नेपाली समुदायलाई बधाई दिनुभयो । उहाँले आफू जहिले पनि नेपाली समुदायसँग सहकार्य गर्न उत्साही हुने बताउनुभयो ।कार्यक्रममा वेक काउन्टीका बोर्ड अफ कमिसनार सदस्यहरूका साथै एन सी एन सिका पदाधिकारीहरू र नेपाली समुदायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो ।

नेपाल डे कार्यक्रमका सहसंयोजक तथा एन सी एन सिका वरिष्ठ उपाध्यक्ष रबिन्द्र कार्कीका अनुसार विभिन्न उपसमितिका सदस्यहरू आ-आफ्नो जिम्मेवारीमा जुटेको र कार्यक्रमको अन्तिम तयारी पूरा भैसकेको छ ।मोरिस्भिलको टाउन हाल ड्राइभस्थित सीडार फोर्क कम्युनिटी सेन्टरबाट शनिवार बिहान ११ बजे परेड सुरु हुने र चर्च स्ट्रीट पार्कमा पुगी औपचारिक समारोहमा परिणत हुने कार्यक्रम रहेको छ ।

यस पटकको कार्यक्रम अघिल्ला बर्षहरूकोभन्दा पनि विशेष हुने बताउनुहुन्छ एन सी एन सी बोर्ड अफ ट्रस्टीका अध्यक्ष तथा नेपाल डे कार्यक्रमका अर्का सहसंयोजक डा ठाकुर बाबु कार्की ।कार्कीका अनुसार कार्यक्रममा नेपाली संस्कृति झल्किने झाँकी, गीत, नृत्य, नेपाल र नेपाली संस्कृति झल्किने स्टलहरू, नेपाली खानाका परिकार आदि रहनेछन् र कार्यक्रममा नर्थ क्यारोलाइना र वरपरका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू पनि सहभागी हुनेछन् । नेपालको हिमालदेखि तराइसम्मको वेशभूषा झल्किने गरी तयार पारिएको “फेसन सो” यस पटकको नेपाल डेको विशेष आकर्षण हुने र यसले हाम्रो समुदायमा “विविधतामा एकता” को सन्देश दिने कुरामा विश्वस्त हुनुहुन्छ सांस्कृतिक समितिकी सहसंयोजक तेजस्वी गिरि ।

आयोजकका अनुसार नेपाल डे कार्यक्रममा अमेरिकाका लागि नेपाल सरकारका राजदूत डा अर्जुन कार्की, नर्थ क्यारोलाइनाका सेक्रेटरी अफ स्टेट एलेन मार्सल, वेक काउन्टीकी चेयर जेसिका होल्मस्, सेनेटर जय चौधरी, सेनेटर साम सरसी, सेनेटर विली निकेल, मोरिस्भिल टाउनका मेयर टी जे कोली लगायत विशिष्ट अतिथिहरू उपस्थित हुनुहुनेछ ।

यसै बिच मोरिस्भिल टाउनका मेयर टी जे कोलीले एक भिडियो सन्देश मार्फत मोरिस्भिलमा हुन लागेको यो एतिहासिक कार्यक्रममा उपस्थितिको लागि सबैमा अनुरोध गर्नुभएको छ ।यस पटकको कार्यक्रममा नेपाली समुदायका र नेपाल र नेपाली समुदायलाई माया गर्ने झन्डै एक हजार जना सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया