अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४० | Colorodo: 23:55

नेपाली कांग्रेसले बैशाख ११ बाट एक महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

बिआरटीनेपाल २०७६ वैशाख ३ गते ९:२५ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यही बैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । नेपाली कांग्रेसले मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी बैशाख ११ गतेबाट राष्ट्रिय जागरण अभियान संचालन गर्ने औपचारिक जानकारी गराएको हो । सरकारले संघीयताको मर्मअनुसार काम गर्न नसकेको कुरा आम जनतालाई जानकारी दिन राष्ट्रिय जागरण अभियान संचालन गर्न लागिएको पार्टीका उपसभापति विमलेन्द्र निधिले बताउनुभयो ।

तीन चरणमा संचालन हुने राष्ट्रिय जागरण अभियान अन्तरगत पहिलो चरणको एक महिने कार्यक्रम ७७ जिल्लामा हुनेछ । त्यसैगरी, दोस्रो चरणको कार्यक्रम भदौ २३ गतेदेखि असोज ७ गतेसम्म ३ सय ३० वटै निर्वाचन क्षेत्रमा संचालन हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुसको दोस्रो साता सबै पालिकामा हुने पनि कांग्रेसले जनाएको छ ।

वर्तमान सरकारले मुलुकलाई समृद्ध बनाउन नसक्ने कुरा पनि आम पार्टी पंक्ति र जनतालाई सूसुचित गराउन सो राष्ट्रिय जागरण अभियान संचालन गर्नु परेको उपसभापति निधिले जानकारी दिनुभयो । कांग्रेसले सो अभियानलाई प्रभावकारी बनाउन विघटित नेपाल विद्यार्थी संघलाई ब्यूताउने तथा तरण दलको तदर्थ समितिलाई पूर्णता दिने पनि स्पष्ट पारेको छ । उपसभापति निधिले सो राष्ट्रिय जागरण अभियानलाई सफल बनाउन नेविसंघ र तरुण दललाई पनि वैधानिकता दिएर अभियानमा सहभागी गराउने पनि स्पष्ट पार्नुभयो ।

कांग्रेसले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले मुलुकलाई अघि बढाउन नसकेको निष्कर्ष निकाल्दै त्यसबारे जनतालाई सचेत गराउने भन्दै राष्ट्रिय जागरण अभियान संचालन गर्न लागेको हो । उपसभापति निधिले राष्ट्रिय जागरण अभियानको क्रममा पार्टीको नीति, कार्यक्रम र भावी योजनाबारे पार्टीका आम पंक्तिलाई जानकारी गराउने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू