अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५६ | Colorodo: 08:11

स्वर्ग कहाँ छ ?

सरु पाण्डे २०७६ वैशाख २ गते १८:२५ मा प्रकाशित

हिजो सम्म कुद्दै,कराउँदै,झपार्दै कसैलाई चिच्याउने ऊ
आज बिछ्यौनामा लखतरान पल्टिएको छ ।
कमाएका धन दौलत एकोहोरो लडिरहेछन् निर्जीव भई ।
सन्तानको कुनै खोजखबर छैन

आफ्नी अर्धाङ्गिनीको अन्त्येष्टि पनि आफ्नै हातले गरिसकेको छ ।
तर,
सबैको बाटो उही हो बिर्सिएछ उसले
अहम् थियो दौलतको त्यसैले त

आफन्त मात्र हैन गुमाएथ्यो छिमेकी पनि
आज एक्लो भएको छ उसको मन
पानीको घुड्को सम्म खुवाउने कोही छैनन् ।
शरीरभरि झिँगा र फोहोर नरक झैँ छ ।

कहाँ गयौ त्यो अहम् ?
झस्किएर अतीत देखि एकोहोरो भएको छ ऊ
बुझेन किन उसले जीवन प्रेम हो ?
कमाएको सम्पत्तिमा हृदय किन हुँदो रहेनछ,

एक दिन यसैले आफूलाई जलाउँदो हो ?
किन बुझेन यतिका दिन ?
त्यसैले त परिवार,छरछिमेकको माया चाहिन्छ
आज बल्ल बुझेको छ ।

यति मात्र हैन,
ऊ बर्बराउँदै भन्दैछ संसारमा पैसा हैन कीर्ति कमाऊ !
जीवन अरूको उपकारमा जिएर हेर
त्यहाँ मिल्छ स्वर्ग !

म पापी रहेछु
संसार बिर्सिएर धनको लालची भएँ ।
त्यही पापले मलाई भित्रै सम्म जलायो ।
बल्ल बुझेँ स्वर्ग कहाँ रहेछ ।

प्रतिक्रिया