अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५० | Colorodo: 14:05

सरकार विरुद्ध नै आन्दोलन गर्नुपर्ने स्थिति नआओस् भन्दै सत्तारुढ दलका श्रमिकको चेतावनी

बिआरटीनेपाल २०७६ वैशाख २ गते ६:११ मा प्रकाशित

मकवानपुर, सत्तारुढ नेकपा समर्थित नेकपा अन्तर्गतको नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का महासचिव जनक चौधरीले सरकार विरुद्ध नै आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । पर्यटन क्षेत्रको सबैभन्दा ठुलो मजदुर सङ्गठन यूनिट्राभको ३६ औँ स्थापना दिवसको अवसरमा मकवानपुरको चित्लाङमा आयोजित कार्यक्रममा महासचिव चौधरीले भने, ‘अहिले बनेका कानुनहरूले श्रम सम्बन्धलाई सुमधुर पार्ने र यो क्षेत्रलाई सुधार गराएको छ । अब यसलाई व्यवहारमा लागू गर्ने बेला भएको छ । तर यसबिचमा कानुनको परिपालना नगर्ने चलखेल हुन थालेको हामीलाई आभास भएको छ । हाम्रा श्रम सम्बन्ध सुधार भएन भने सरकार र सरोकारपक्षको विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था फेरी नआउला भन्न सकिन्न ।’ 

उनले पर्यटन श्रमिकका पक्षमा श्रम ऐन र सामाजिक सुरक्षा ऐन लागू गराउने पक्षमा लाग्न यूनिट्राभ नेतृत्वलाई निर्देशन पनि दिए । उनले भने, ‘अब श्रम ऐन लागू गराउने पक्षमा लागौँ, पर्यटन क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा लागू गराउने स्किम र विधि तयार गर्न यूनिट्राभ लागोस् ।’

कार्यक्रममा यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले विधिसम्मत नचल्ने कोही पनि पर्यटन व्यवसायी र सरोकार पक्षलाई नछाड्ने भन्दै पर्यटन क्षेत्रको सुधारको पक्षमा लाग्न श्रमिकहरूलाई निर्देशन दिए । पेसालाई मर्यादित, सुरक्षित र स्वास्थ्य बनाउन आफ्ना कुरालाई सम्बन्धित क्षेत्रमा राख्न सक्नुपर्ने भन्दै नेतृत्व विकासमा उनले जोड दिए ।

कार्यक्रममा सहभागी श्रमिकहरूले कार्यभलोमा अझै पनि लोकतन्त्र आइ नसकेको भन्दै अझै सङ्घर्ष गर्नुपर्ने खाँचो औँल्याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू