अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०१ | Colorodo: 16:16

झन्डा दिवसमा ३ जना सञ्चारकर्मी सम्मानित, प्रसाईँको फोटो उत्कृष्ट

बिआरटीनेपाल २०७६ वैशाख २ गते ५:५६ मा प्रकाशित

काठमाडौँ । नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले तीन जना नेपाली सञ्चारकर्मीहरूलाई सम्मान गरेको छ। प्रत्येक नेपाली नयाँ वर्षलाई अन्तर्राष्ट्रिय नेपाली झन्डा दिवसका रूपमा मनाउँदै आएको प्रतिष्ठानले डायस्फोरामा रही नेपाली कला र संस्कृतिलाई योगदान दिएका सञ्चारकर्मीहरूलाई सम्मान गरेको हो।

प्रतिष्ठानले आइतबार एक विज्ञप्ति जारी गर्दै एसियाबाट पुरु जोशी, युरोपबाट वसन्त रानाभाट र अमेरिकाबाट विजय थापालाई ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष नवराज पोखरेलले विदेशमा रही नेपाली संस्कृति, साहित्य र सञ्चारको क्षेत्रमा समर्पित भई आ-आफ्ना क्षेत्रबाट विशेष योगदान दिँदै आएका सञ्चारकर्मीहरूलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गरेका छन्। रोमानियाका लागि अवैतनिक बाणिज्यदूत समेत रहेका पोखरेलले प्रतिष्ठानले अन्तर्राष्ट्रिय टोपी दिवस जस्तै केही वर्ष यता नेपाली नयाँ वर्षमा झन्डा दिवस पनि मनाउन लागेको छ र यस अवसरमा हामीले पत्रकारहरूलाई समेत हौसला दिएका हौ भन्नुभयो।

नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित व्यक्तित्वहरू स्वतः यस प्रतिष्ठानको सदस्य रहने परम्परा रहेको विज्ञप्तिमा उल्लेख छ। सम्मानित सञ्चारकर्मीहरू मध्ये पुरु जोशीले दक्षिण कोरियालाई, वसन्त रानाभाटले स्पेन र विजय थापाले अमेरिकालाई कर्मथलो बनाउँदै आएका छन्।

स्पेनका प्रसाईँको फोटो उत्कृष्ट:
यसै बिच स्पेन निवासी जीवन प्रसाईँको झन्डा सहितको फोटो उत्कृष्ट बनेको छ। प्रतिष्ठानले अन्तर्राष्ट्रिय नेपाली झन्डा दिवसमा आयोजना गरेको फोटो प्रतियोगितामा प्रसाईँको फोटो उत्कृष्ट बनेको हो। प्रसाईँलाई पनि ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गरिने प्रतिष्ठानले जनाएको छ। प्रतियोगिताका लागि संसारभर छरिएर रहेका नेपालीहरूले लोकप्रिय भाईवर ग्रुप चौतारी र दौतरीमा नेपाली झन्डा सहितको फोटो पोस्ट गरेका थिए।

यसअघि इटलीका दिनेश बाला श्रेष्ठ, बेल्जियमका दीपक न्यौपाने र फ्रान्सका निर्मल अर्याल ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मानित बनेका थिए।

यस पटक पनि मानार्थ उपाधिले सम्मानित चारै जनालाई प्रतिष्ठानको सदस्यता प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू