अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५१ | Colorodo: 16:06

पश्चिम अस्ट्रेलियाका नेपाली समुदायले भव्यताका साथ स्वागत गरे, नेपाली नयाँ वर्ष २०७६

आङ दावा जाङबु शेर्पा २०७६ वैशाख २ गते ५:२४ मा प्रकाशित

पर्थ, अस्ट्रेलिया । पश्चिम अस्ट्रेलियाको पर्थमा यहाँका नेपाली समुदायहरूको छाता सङ्गठन नेपाली एसोसिएसन अफ वेष्टर्न अस्ट्रेलिया (नावा) ले एक विशेष कार्यक्रमका साथ नयाँ वर्ष आगमनको भव्य स्वागत र एक आपसमा शुभकामना आदन-प्रदान गरे। लगभग सात-आठ सय भन्दा बढी दर्शकहरूले उपस्थिति जनाएको उक्त कार्यक्रम म्याडिङ्टन स्थित सर्भियन कम्युनिटी हलमा सम्पन्न भएको थियो । 

हरेक वर्ष नयाँ वर्षको उपलक्षमा नेपाली कला र संस्कृतिलाई जोगाउन, प्रवर्धन गर्न र बहु-सांस्कृतिक विविधताको देश अस्ट्रेलियामा नेपालीहरूको पनि आफ्नै पहिचान र विविधता प्रस्तुत गर्न विशेष संगितिक-साँझ आयोजना गरिदैं आएको छ। यस वर्ष नयाँ-वर्ष विशेष संगितिक-साँझलाई सफल बनाउन, लाखे नाच, पञ्चै बाजा, नेवारी नृत्य, मगर जातीको कौडा नृत्य, शेर्पा समुदायको स्याब्रु नाच, भोजपुरी नाच लगायत नेपाली भाषा पाठशालाका विद्यार्थी एवं अन्य स-साना बालबालिकाहरूका नृत्य र गायनहरू प्रस्तुत गरिएको थियो। साथै नावाले नेपाली बाहेक पर्थमा रहेका बङ्गाली र ईन्डियान समुदायका प्रतिनिधि कलाकारहरूको प्रस्तुति पनि समावेश गराएका थिए। 

कार्यक्रमको प्रमुख अतिथिको रूपमा अष्ट्रेलियायन सांसदका सिनेटर डिन स्मिथ उपस्थित हुनुभएको थियो। अन्य अथितिकारूपमा पश्चिम अस्ट्रेलियाली सङ्घीय पर्यटन, रेसिङ एन्ड गेमिङ, साना व्यवसाय, सुरक्षा मामिला एवं नागरिक तथा बहु-सांस्कृतिक माननीय मन्त्री पोल पपलिय, पश्चिम अष्ट्रेलियन सांसदका सांसद यज मुबाराकी, पश्चिम अस्ट्रेलियाका लागि ओनोररी नेपाली कोन्सुलर फ्रेड ब्राउन, सिटी अफ क्यानिङका काउन्सिलर एसो पोन्नुथुराइ र नावाका भूतपूर्व अध्यक्षहरू लगायत एन. आर. एन. पश्चिम अस्ट्रेलियाका पदाधिकारीहरू, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका साथै अन्य सङ्घ-संस्थाका पदाधिकरीहरुको पनि उपस्थिति रहेका थिए। 

तीन चरणमा विभाजित उक्त कार्यक्रमको पहिलो चरणमा सांस्कृतिक कार्यक्रमका अलावा गत हप्ता सम्पन्न नावा क्रिकेट कप, नावा फुटबल र म्याराथन दौ ड प्रतियोगिताका विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने प्रमुख अतिथिहरूको आगमन पश्चात् सुरु भएको दोस्रो तथा औपचारिक कार्यक्रमको क्रममा खेलकुद तर्फ क्रिकेटका विजेता पर्थ नेपाल क्रिकेट क्लब, फुटबल तर्फ भेटेरान समूहका विजेता हरियो टिम र खुल्ला तर्फ नेपालीज युनाईटेड फुटबल क्लबका तथा म्याराथन दौडका विजेता खेलाडीहरूलाई नावा कप ट्रफी प्रदान गरिनुका साथै नेपाली संस्कृति झल्काउने कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। 

यसै गरी सोही कार्यक्रममा नावाका हरेक कार्यक्रमहरूमा अनवरत रूपमा सहयोगी भूमिका निभाउनु हुने नावाकै पूर्व अध्यक्ष श्री यादव शर्मा, नृत्य प्रशिक्षिका सकीना इतानीका साथै नेपाली भाषा पाठशालाका शिक्षक-शिक्षिकाहरू क्रमशः: राजु ढकाल, देवकी थानी (बर्तौला), विष्णु थापा र उषा रेग्मीलाई पनि प्रमुख अतिथिको उपस्थितिमा अभिनन्दन गरिएको थियो भने, तेस्रो चरणमा सन्देश तजलेको संयोजनमा डी.जे. नाचगान कार्यक्रम सम्पन्न गरिएको थियो। 

नेपाली समुदायका सदस्यहरू सङ्गीता विष्ट, रोमन कार्की र रम्बिका कार्की उद्घोषक रहेको उक्त कार्यक्रममा नावाका सचिव रविन बर्तौलाले उपस्थित सबैलाई स्वागत गरेका थिए भने नावाका अध्यक्ष डा. मणि पनेरुले नावा र नेपाली समुदायका सामाजिक कृया कलाप सम्बन्धी आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रमकै दौरानमा अतिथिहरूलाई नावाका कोषाध्यक्ष रिजा प्रधानले खादा लगाई स्वागत गरेका थिए। कार्यक्रमको औपचारिक समापन गर्दै नावा कार्य समितिका सक्रिय सदस्य चुरामणि लामिछानेले यस कार्यक्रमका मुख्य प्रायोजक लोट्री वेष्टका साथै अन्य प्रायोजकहरू लगायत कार्यक्रममा सहभागी सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए। 

स्मरणीय रहोस्, विगतमा झैँ यस वर्ष पनि नावाद्वारा आयोजित नयाँ वर्षको कार्यक्रममा लोट्री वेष्ट मूल प्रायोजक रहे भने, अन्य प्रायोजकहरूमा भिजा हब अस्ट्रेलिया, के. बि. ए. ग्लोबल अस्ट्रेलिया, हिमाली गुर्खा नेपालीज रेस्टुरेन्ट, अन्नपूर्ण नेपालीज किचन, एक्स्पर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज, टीका टर्बन, एभरेस्ट प्रोपरटिज एन्ड फाइनान्स मेल्बोर्न, रेड अर्थ माइग्रेसन, ड्रीम ल्याड माइग्रेसन सर्भिसेज, अष्ट्रेलियन टेक्निकल कलेज, अज स्टडिज, बेन्ट्ली स्पाइसेस, फुड बजार, ल्यान्ड एन्ड लिज सिड्नी र सी. पी. करी हाउस रहेका थिए। 

Photo Courtesy of Binayak Aryal @ Beam Creation

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू