अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१५ | Colorodo: 17:30

ध्वनि सिद्धान्त: खण्डन र मण्डन

उषा आचार्य २०७६ वैशाख १ गते १६:२७ मा प्रकाशित

१. विषय परिचय
पूर्वीय साहित्य जगतमा विभिन्न साहित्यिक चिन्तन र सिद्धान्तहरूको जन्म र विकास भएको छ । परापूर्व कालदेखि नै साहित्यका विभिन्न विषयमा चर्चा परिचर्चा हुँदै यस्ता सैद्धान्तिक मान्यताको उत्कर्ष रूप देखा परेको पाइन्छ । यिनै चिन्तनहरूमध्ये ध्वनि सिद्धान्त एक चर्चित साहित्य सिद्धान्तको रूपमा रहेको छ । वैदिक साहित्यदेखि प्रयोग हुँदै आएको ध्वनि सिद्धान्तको व्यापक रूपमा व्याख्या र विश्लेषण गर्ने काम आनन्दवर्द्धनले गरे । आनन्दवर्द्धनले ध्वनि सिद्धान्तलाई व्याकरणको स्फोटवादसँग जोडेर काव्य वा साहित्यको आत्माको रूपमा व्याख्या गर्दै विशेष गरी रस ध्वनिलाई काव्यको प्राण तत्त्व मानेका छन् । उनको यस सिद्धान्तलाई केही उत्तरवर्ती आचार्यहरूले विरोध वा खण्डन गरेका छन् भने केही आचार्यहरूले समर्थन । यहाँ ध्वनि सिद्धान्तमा देखिएका प्रतिवाद र समर्थनलाई सैद्धान्तिक कोणबाट प्रस्तुत गरिएको छ ।

२. ध्वनि परिचय
ध्वनि शब्दको संरचनात्मक रूपलाई हेर्दा ध्वनन् धातुमा इ प्रत्यय लागेर ध्वनि शब्दको निर्माण भएको छ । काव्य जगतमा ध्वनिको चर्चा वैदिक कालदेखि भए पनि ध्वनिको स्वरूप, काव्यमा ध्वनिको स्थान र ध्वनिका भेद प्रभेदको व्यापक चर्चा र त्यसको सैद्धान्तिक स्थापना आचार्य आनन्दवर्द्धन ले ध्वन्यालोक नामक ग्रन्थमा गरेका छन् । आनन्दवर्द्धन ले पूर्व चर्चित ध्वनि सिद्धान्तलाई लिपिबद्ध गरी ध्वनि विरोधी मतहरूको उल्लेख र खण्डनका साथ ध्वनिवादका रूपमा त्यसको स्थापना समेत गरे । आनन्दवर्द्धन ले ध्वनिको स्वरूप निर्धारण गर्दै यसलाई नै काव्यको आत्मा मानेका छन् । उनले जब शब्दले स्वयम् आफ्नो अर्थलाई गौण गरी विशेष अर्थ व्यक्त गर्दछ त्यस्तो प्रतीयमान अर्थ नै ध्वनि हो भनेका छन् । (ययार्थ: शब्दो तमर्थमुपसर्जनीकृतस्वार्थौ /व्यङ्क्त: काव्यविशेषो ध्वनिरिति सूरभि: कथित) । (आनन्दवर्द्धन: १९५३ ई . पृ १–४) आचार्य आनन्दवर्द्धनले सोझो वा अभिधा अर्थमा ध्वनि नहुने, ध्वनिले विशेष अर्थ ग्रहण गर्ने भाव व्यक्त गरेका छन् ।

आचार्य आनन्दवर्द्धनले ध्वनिलाई स्फोटवादसँग जोड्दै व्याकरण जसरी तथ्यात्मक हुन्छ ध्वनि पनि त्यस्तै जीवन्त र सजीव हुने र विभिन्न अर्थको योगमा स्फुरित हुने बताएका छन् । ‘ध्वन्यते इति ध्वनि’, ‘ध्वननीति ध्वनि’ भन्दै विभिन्न अर्थमा ध्वनिको व्युत्पत्ति हुने बताउँदै आनन्दवर्द्धनले ध्वनिलाई व्यङ्य मानी यो महाकविहरूको वाणीमा पाइन्छ जुन नारीहरूको प्रत्येक अवयवको सुन्दरता भन्दा बेग्लै, लावण्य, हिस्सी जस्तो बाहिरी शब्द अर्थ भन्दा विलक्षण, अति स्वादिलो अलौकिक प्रतिभाको स्फुरण हुन्छ भनेका छन् । “प्रतीयमानं पुनन्यदेव वस्त्वस्ति वाणीषु महाकविनाम् ÷ यत्रत्प्रसिद्धाववातिरिक्त विभति लावण्यभिवाङ्गनासु” (शर्मा: २०५८, ४७) । शब्दको अभिधा अर्थमा भन्दा प्रतीयमान व्यङ्ग्यार्थमा ध्वनिको स्वरूप भेटिने निक्र्र्यौल ध्वनिकारले गरेका छन् । कुनै पनि शब्दले चमत्कारी अर्थ प्रदान गर्नु नै ध्वनि हो र त्यो असाधारण प्रतिभाबाट मात्र सम्भव हुन्छ । शब्दको सुन्दरता अर्थको माधुर्यता, प्रभावोत्पादकताबाट नै काव्य बन्ने हुँदा ध्वनि नै काव्यको आत्मा बनेको कुरा आनन्दवर्द्धन ले आफ्नो ‘ध्वन्यालोक’मा प्रस्तुत गरेका छन् । 

ध्वनि कुनै कल्पनामा आधारित कुरा होइन, यो त व्याकरणको क्षेत्रबाट काव्यमा प्रवेश गरेको हो । आनन्दवर्द्धन ले व्याकरणलाई सबै विधाको मूल मान्दै वैयाकरणहरूलाई प्रथम स्थानमा राखेका छन् । उनले ध्वनि र शब्दबिच परस्पर सम्बन्ध देखाउँदै जसरी वैयाकरणहरूले नादद्वारा ध्वनि स्फोट हुने बताएका छन् त्यसै गरी काव्यको ध्वनि सिद्धान्तमा पनि वाचक वाच्य अर्थ प्रतीयमान अर्थको व्यञ्जक मानिका छन् । कुनै पनि शब्द उच्चारणमा आएपछि अन्तिम अक्षरको समापनसँगै अर्थ प्रतीत हुन्छ भनी ध्वनिलाई वैज्ञानिक रूपमा पुष्टि गर्दै आनन्दवर्द्धन ले ध्वनिको महत्त्वलाई अलङ्कार, रीति, गुण आदिबाट भिन्न राख्दै यसको छुट्टै सत्ता बनाएका छन् । यिनले शब्दको वाच्यार्थमा खासै चमत्कार नहुने हुँदा प्रतीयमान अर्थलाई नै ध्वनि सिद्ध गर्ने काम गरेका छन् । (उपाध्याय: २०६७, १६६–१७८) ध्वनि विज्ञान हो । यो काल्पनिकताबाट टाढा हुन्छ । यसलाई सिद्ध गर्न सकिन्छ । यो साहित्यका अन्य सिद्धान्त भन्दा भिन्न र महत्त्वपूर्ण छ ।

३. ध्वनि विरोधी मत र त्यसको निराकरण
कुनै पनि वस्तुको उत्पादन पछि त्यसको सकारात्मक र नकारात्मक टिप्पणी हुने कुरा त स्वाभाविकै छ । साहित्य र सिद्धान्तमा पनि कुनै वादको निर्माण पछि त्यसमा विभिन्न खण्डन हुने गर्छन् । आचार्य आनन्दवर्द्धनले ध्वनि सिद्धान्तको उत्पत्तिपछि हुन सक्ने खण्डनको पूर्वकल्पना गरेर त्यसको निराकरण समेत गरेका छन् । पछि उठ्न सक्ने तर्कलाई पहिले नै मत्थर पार्ने काम उनले गरेका छन् । आनन्दवर्द्धनले ध्वनि निरूपणको क्रममा सम्भावित विरोधी मतको कल्पना गरी त्यसको युक्तिपूर्ण खण्डन गरेका छन् । उनकाअनुसार ध्वनि विरोधी मत र त्यसको खण्डन यस प्रकार छन्:

३.१ अभाववादी मत
यस मतअनुसार ध्वनि अप्रसिद्ध छ । प्राचीन आचार्यहरूले यसलाई कुनै मान्यता दिएका छैनन् । यस मतको खण्डन गर्दै आनन्दवर्द्धन ले ध्वनिको अस्तित्व छैन भन्नु गलत ठहर गरेका छन् । उनले ध्वनि अप्रसिद्ध र अज्ञात जस्तो देखिए पनि असिद्ध वस्तु नभएको बताउँछन् । वास्तवमा ध्वनिमा नै काव्यत्व छ र ध्वनिमय काव्य नै आल्हादकारी हुने हुँदा यो काव्यको आत्मा बनेको मत आनन्दवर्द्धनले प्रस्तुत गरेका छन् ।

३.२ अन्तर्भाववादी मत
आनन्दवर्द्धनले ध्वनिलाई अलङ्कार, गुण, रीति, वृत्ति आदिमा अन्तर्भाव गरे हुन्छ भन्ने अन्तर्भाववादीहरूको विचारलाई अनुचित ठान्दै केवल वाच्य वाचक सम्बन्धमा आश्रित अलङ्कारादिमा व्यङ्ग्य व्यञ्जक सम्बन्धमा आश्रित भई अलौकिक आनन्द प्रदान गर्ने ध्वनिलाई अन्तर्भाव गर्न नसकिने तर्क प्रस्तुत गरेका छन् । यस हिसाबले ध्वनिलाई अन्य साहित्य सिद्धान्तमा अन्तर्भाव गर्न सकिँदैन भन्ने मत आनन्दवर्द्धनको छ ।

३.३ भाक्तवादी मत
लक्षणाले अर्थमा आल्हाद प्रदान गर्छ भन्ने मत भाक्तवादी वा लक्षणावादी मत हो । यस मतको खण्डन गर्दै आनन्दवर्द्धन ले ध्वनि र लक्षणको स्वरूप नै भिन्न रहेको भन्दै लक्षण एउटा आरोपित गौण वृत्ति मात्र हो र ध्वनि व्यञ्जनाबाट प्राप्त हुने मुख्य अर्थ भएकोले यी दुईबिच एकरूपता हुन नसक्ने तर्क व्यक्त गरेका छन् । उनले लक्षणाले लक्ष वस्तुको मात्र अर्थ व्यक्त गर्छ, यो ध्वनि हुन सक्दैन साथै अतिव्याप्ति र अव्याप्ति दोषका कारण लक्षणा र ध्वनि एक हुन सक्दैनन् भन्दै यस मतको खण्डन गरेका छन् ।

३.४ अनिर्वचनीयतावादी मत
यस मतको खण्डन गर्दै आनन्दवर्द्धन ले संसारका अनेकौँ अभौतिक वस्तुको निर्वाचन गर्न सकिन्छ भने ध्वनि अनिर्वचनीय हुन्छ भन्नु अज्ञानता भएको मत प्रस्तुत गरेका छन् । ध्वनिको वर्णन वर्गीकरण र परीक्षण समेत गर्न सकिने हुँदा यो निर्वचनीय हुन्छ भन्ने उनको तर्क रहेको छ ।

यसरी आनन्दवर्द्धनले ध्वनि विरोधी सम्भावित मतको खण्डन गरेर ध्वनि सिद्धान्तलाई स्थापित गराउने काम गरेका छन् (सहाय राजवंश: २००७ ई, ७६) । उनले वैज्ञानिक र तथ्यपूर्ण रूपमा ध्वनिलाई स्वतन्त्र सत्ता प्रदान गरेका छन् ।

४. ध्वनि सिद्धान्तको खण्डन
आचार्य आनन्दवर्द्धनले काल्पनिक विरोधी मतको खण्डन गर्दै ध्वनि सिद्धान्त निर्माण गरे । उनले सम्भावित खण्डनको निरूपण गरे पनि यो सिद्धान्त विरोधी मतबाट अछुतो रहन सकेन । सिद्धान्त प्रतिपादन पछि केही आचार्यहरूले यसको खण्डन गरेका छन् ।

प्रथमतः आचार्य मुकुलभट्टले ध्वनि सिद्धान्तको विरोध गरेका छन् ।

शब्दव्यापारतो यस्य प्रतीतिस्तस्य मुख्यता
अर्थावसेयस्य पुनर्लक्ष्यमाणत्वमुच्यते ।।
भन्दै उनले कुनै पनि शब्दको अभिधा र लक्षणा गरी दुई अर्थ हुन्छन्, मुख्यार्थ नै वास्तविक अर्थ भएकोले ध्वनि अनावश्यक भएको मत प्रतुत गरेका छन् । (सहाय राजवंश: २००७ ई,) त्यस्तै मुकुलभट्टको मतबाट प्रभावित भएर धनन्जय र धनिकले तात्पर्य शक्तिमा जोड दिएका छन् । तात्पर्य शक्तिमा नै ध्वनिको अन्तर्भाव गर्दै उनीहरू अभिधा तथा लक्षणा शक्तिको सत्ता स्वीकार गर्दै व्यञ्जनाको शक्तिमाथि प्रश्न चिन्ह लगाएका छन् । प्रतीयमान अर्थ तात्पर्य अर्थबाटै बोध हुने हुँदा ध्वनिको कल्पना निरर्थक छ , तात्पर्यार्थको समापन जहाँ हुन्छ ध्वनि त्यहीँ हुन्छ, कुनै पनि वाक्य तात्पर्यार्थमा विश्रान्ति नभई त्यो काव्यको प्रयोजनमा आएर विश्रान्ति हुने हुँदा जहाँ व्यङ्ग्य हुन्छ त्यहाँ ध्वनिको स्वीकृति उचित नभएको मत धनन्जय र धनिकको रहेको छ ।

एतावत्येव विश्रान्तिस्तात्पयेस्येति किं कृतम् ।
यावत्कार्यप्रसारित्वात्तात्पर्य न तुलाधृतम् ।।
भन्दै यी आचार्यहरू ध्वनि सिद्धान्तको स्वतन्त्र सत्ता अस्वीकार गरेका छन् । (धनन्जय, धनिकः २०४३, ४/४)

ध्वनि सिद्धान्तका प्रबल विरोधी आचार्य महिम भट्टले ध्वनि सिद्धान्तको व्यापक खण्डन गरेका छन् । उनले आफ्नो कृति व्यक्तिविवेकमा ध्वन्यार्थको प्रतीत अनुमानबाट हुन्छ भन्दै ध्वनि सिद्धान्तमा नै दोष देखाएका छन् । उनले आनन्दवर्द्धन को ध्वनि परिभाषामा दश दोष देखाएका छन् ।

अर्थस्य विशिष्टत्वं शब्दः सविशेषणस्तदः पुंस्त्वम् ।
द्विवचन वा शब्दौ च, व्यक्तिध्वनिर्नाम काव्यवैशिष्ट्यम् ।।
वचनश्व कथनकर्तुः कथिता ध्वनिलक्षणीति दश दोषाः ।
ये त्वन्ये तद्भेदप्रभेदलक्षणगता न ते गणिता ।।

अर्थात् उनले ध्वनि लक्षणमा अर्थको उपसर्जनीकृतात्म स्वरूप विशेषण उपयुक्त छैन । लक्षणमा प्रयुक्त शब्द नै अनुपयुक्त छ । ‘अर्थ’ पदको अभिप्राय अनिश्चित छ । ‘तम्’ नामक पुलिङ्ग शब्दको प्रयोग अनुचित छ । ‘व्यङ्क्त’: क्रियापदमा द्विवचन अनुपयुक्त छ । ‘च’ संयोजकको प्रयोग अनुचित छ । ‘व्यक्ति’ को सिद्धिमा दोष छ । लक्षण कारीकामा ‘काव्य विशेष’ पदको प्रयोग उपयुक्त छैन । काव्य लक्षणमा ‘ध्वनि’ शब्दको प्रयोग निरर्थक छ । लक्षणमा कथित क्रियापद ‘सूरभि’को प्रयोग निरर्थक छ (महिमभट्टः २०३५, १/२३ ) भनेका छन् । उनले वाच्यार्थका अतिरिक्त जति अर्थको ज्ञान हुन्छ ती सबै अनुमानमा परिणत हुन्छन्, काव्यको एक मात्र शक्ति अभिधा हो, लक्षणा नामक शब्द व्यापार हुनै सक्दैन व्यञ्जना अनुमानमा रहन्छ । ध्वनि पनि लक्षणा र व्यञ्जना जस्तै अनुमानमै समाविष्ट हुन्छ भन्ने मत राखेका छन् । त्यस्तै उनका अनुसार शब्दमा यति शक्ति हुँदैन जसले एक पटकमै एकाधिक अर्थ प्रकट गरोस् । महिम भट्टले कल्पनाको आधारमा गरेको ध्वनि व्याख्या र उदाहरणको पुनव्र्याख्या गरी ध्वनि काव्यात्मा नभएको सिद्ध गरेका छन् ।

५. ध्वनि सिद्धान्तको मण्डन
आचार्य आनन्दवर्द्धनद्वारा प्रतिपादित ध्वनि सिद्धान्तलाई लिएर विभिन्न मत मतान्तर भएका छन् । पूर्ववर्ती केही आचार्यहरूले यस सिद्धान्तको खण्डन गरे तापनि केही आचार्यले मण्डन पनि गरेका छन् ।

सर्वप्रथम विवादित मतलाई मत्थर पार्दै अभिनव गुप्तले ध्वनि सिद्धान्तलाई काव्य जगतमा स्थायित्व प्रदान गर्दै ध्वनि सिद्धान्तको स्पष्टीकरणको क्रममा यस सम्प्रदायको सुदृढ आधारशिला प्रदान गरेका छन् । गुप्तले ध्वनिका प्रकारमध्ये रस ध्वनिलाई विशेष महत्त्वका साथ हेरेका छन् । ध्वनि वस्तु , अलङ्कार , रस गरी तीन प्रकारका हुन्छन् र रस ध्वनि नै गुप्तका विचारमा ध्वनिको आत्मा हो । अभिनव गुप्तले ध्वनिको प्रयोग पाँच अर्थमा हुने बताएका छन् । उनी शब्द, अर्थ, र शब्द व्यापार तीन वटैलाई ध्वनि मानी त्यसका पाँच अर्थमा प्रस्तुत गरेका छन् ।

अभिनव गुप्तकाअनुसार जसले ध्वनित गर्छ गराउँछ त्यो व्यञ्जक शब्द ध्वनि हो (ध्वनयति यः व्यञ्जकः शब्दः स ध्वनिः) । जसले ध्वनित गर्छ गराउँछ त्यो व्यञ्जक अर्थ ध्वनि हो (ध्वनति ध्वनयति वा यः सः व्यञ्जकोऽर्थः ध्वनिः ) । जुन ध्वनित हुन्छ त्यो ध्वनि हो (ध्वन्यते इति ध्वनिः) । जसद्वारा ध्वनित हुन्छ त्यो ध्वनि हो वस्तु, अलङ्कार र रस ध्वनित हुनु नै ध्वनि हो (ध्वन्यतेऽस्मिन्तिति ध्वनिः) ।

अर्थो वा शब्दो वा व्यापारो वा । अर्थोऽपि बाच्यो वा ध्वननीति शब्दोऽप्येवम् । व्यङ्गयो वा ध्वन्यत इति व्यापारो वा शब्दार्थयोध्र्वननमिति । कारीका तु प्रधान्येन समुदाय एवं काव्यरुपो मुख्यता ध्वनि रीति प्रतिपादितम् । तेन वाच्योऽपि ध्वनिः वाचकोऽपि शब्दो ध्वनिः, द्वेयोरपि व्यञ्जकत्वं ध्वननीति कृत्वा । संमिश्रयते विभावानुभावसंवलनयेति व्यङ्गयोऽपि ध्वनिः ध्वन्यत इति कृत्वा शब्द नं शब्दः शब्दव्यापारः स चासावभिधादिरुपः, अतिस्वात्मभूतः सोऽपि ध्वनिः । काव्य मिति व्यपदेश्यश्च योऽर्थः सोऽपि ध्वनिः उक्तप्रकारध्वनिचतुष्टयमयत्वात् पश्तधाऽपि ध्वनिशब्दार्थे येन यत्र यतो यस्य यस्मै इति बहुव्रीह्यार्थाश्रयेण यथोचितं सामानधिकरण्यं सुयोग्यम् । भन्दै अभिनव गुप्तले आनन्धवद्र्धन कृत ध्वनि सिद्धान्तलाई काव्य जगतमा पुनस्र्थापना गराउने काम गरे । (गुप्तः १९९६ सन्, ३/३७– २८२)

त्यस्तै अर्का आचार्य भोजराजले काव्यमा ध्वनिलाई स्वीकार गर्दै ध्वनिको विवेचन स्वतन्त्र ढङ्गले गरेका छन् । उनले शब्दालङ्कार र अर्थालङ्कारमा ध्वनिको रूप प्रदर्शित गरी अलङ्कार र गुणलाई नै ध्वनि मानेका छन् । यिनले तात्पर्य शक्तिलाई ध्वनिको अभिन्न पक्ष मानी तात्पर्यकै अन्तर्गत ध्वनिको विवेचन गरेका छन् । लेखक शब्दद्वारा जुन अर्थको अभिव्यक्ति दिन्छ त्यही तात्पर्य हो । तात्पर्य अभिधीयमान, प्रतीयमान तथा ध्वनि रूप जस्ता अनेक प्रकार रहेको मत भोजराजको छ । यिनले ध्वनिलाई शब्द ध्वनि, अर्थ ध्वनि, अनुनादध्वनि र प्रतिध्वनि गरी वर्गीकरण गरेका छन् । व्यङ्यार्थलाई स्वीकार गरी वाच्यार्थपश्चात आउने अर्थको रूपमा लिने भोजराजले आनन्दवर्द्धन को ध्वनि सिद्धान्तलाई पूर्ण समर्थन नगरी आफ्नै प्रकारले व्याख्या गरेका छन् । (सहायः २००७ ई १५१)

ध्वनि सिद्धान्तको व्यापक चर्चा परिचर्चा र सिद्धान्तलाई व्यवस्थित बनाउने आचार्य मम्मटले ध्वनि सिद्धान्तको चित्त बुझ्दो पुनराख्यान गर्दै आनन्दवर्द्धन र अभिनव गुप्तपश्चात उद्भावित ध्वनि विरोधी मतका सयुक्तिक खण्डन गरी ध्वनि सिद्धान्तलाई काव्य जगतमा अस्तित्ववान् बनाउने काम गरे । उनले ध्वनि र व्यङ्ग्यको स्वरूप, भेद, र आनन्दवर्द्धन सम्मत रूप प्रस्तुत गरी त्यसलाई प्रमाणिकसमेत बनाए । यिनले ध्वनिको व्यापकता, महत्ता एवं उपयोगिता सिद्ध गर्दै ध्वनिको शुद्ध ५१ भेदको सोदारोहण प्रस्तुत गरे । आचार्य मम्मटले महिमभट्टद्धारा व्यक्त ध्वनि अनुमानमा रहन्छ भन्ने मतको तर्कपूर्ण खण्डन गर्दै ध्वनि वाच्यार्थ र लक्ष्यार्थ भन्दा सर्वदा पृथक् हुने बताए । प्रथमतः उनले वाच्यार्थ र व्यङ्ग्यार्थबिच तुलना गरी यिनीहरूमा बोद्धा, स्वरूप, प्रतीतिकाल, आश्रय, निमित्त सङ्ख्या र विषयमा भिन्नता रहेको पुष्टि गरे भने लक्ष्यार्थ र व्यङ्ग्यार्थमा पनि भिन्नता भएकोले ध्वनि वाच्यार्थ र लक्ष्यार्थ भन्दा भिन्न व्यङ्ग्यार्थ रहेको मत सार्वजनिक गरे । यसै क्रममा मम्मटले तात्पर्य शक्ति र अभिधा शक्ति जस्ता ध्वनि विरोधी मतलाई प्रस्तुत गर्दै तिनको पनि खण्डन गरेका छन् । मम्मटका मतमा अभिधा र लक्षणद्धारा व्यङ्गयार्थ प्रकट नभएझैँ तात्पर्यशक्तिद्वारा पनि ध्वनि व्यक्त हुँदैन । यिनले अभिधालाई दीर्घ – दीर्घत्तर व्यापार मान्ने आचार्यहरूको विरोध गरी उनीहरूलाई तात्पर्यको ज्ञान नभएका महा मूर्ख ठानेका छन् । (उपाध्यायः २०६७, १८९)

६. निष्कर्ष
पूर्वीय साहित्य चिन्तन परम्परामा विवादास्पद भएर पनि स्थापित हुन सफल भएको ध्वनि सिद्धान्त काव्यको महत्त्वपूर्ण सिद्धान्तको रूपमा रहेको छ । वैदिक साहित्यदेखि समालोचनाको चर्चामा सानो ठाउँ बनाउँदै आएको यस सिद्धान्तले आनन्दवर्द्धन पछि आफ्नो विराट रूप देखाउन सफल भएको हो । कुनै पनि वस्तु वा सिद्धान्तका राम्रा र नराम्रा पक्ष हुन्छन् साथै विवाद र समर्थन पनि । विवादमा सङ्घर्ष गरी आफ्नो अस्तित्व कायम गर्ने र समर्थक बटुल्ने काम ध्वनि सिद्धान्तले गर्‍यो । आनन्दवर्द्धन ले ध्वनि सिद्धान्त प्रतिपादन गर्ने समयमै त्यसका सम्भावित विरोधी मतको समाहार गरे पनि मुकुलभट्ट, धनन्जय, धनिक, महिमभट्ट आदि उत्तरवर्ती आचार्यहरूले यस सिद्धान्तको उछित्तो काँडे भने उनीहरूको विरोधी मतलाई मत्थर पार्दै साहित्य सिद्धान्तमा ध्वनि सिद्धान्तलाई जीवित राख्ने काम विशेषतः अभिनव गुप्त र आचार्य मम्मटले नै गरे । उनीहरूको प्रबल प्रयासमा नै ध्वनि सिद्धान्तले साहित्य सिद्धान्तको रूपमा मौलाउने अवसर प्राप्त गरेको हो ।

सन्दर्भ सामग्री
आनन्दवर्द्धन, (१९५३ई), ध्वन्यालोक, वाराणसी: चौखम्बा संस्कृत सिरिज ।
उपाध्याय, केशवप्रसाद, (२०६७), पूर्वीय साहित्य सिद्धान्त, (पाँ.सं.), ललितपुरः साझा प्रकाशन ।
गुप्त, अभिनव, (१९९६ई), नाट्यशास्त्र, वाराणसी: सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय ।
धनञ्जय, धनिक, (२०४३), दश रुपक, भारत: चौखम्बा विद्या भारती ।
महिमभट्ट, (२०३५), व्यक्ति विवेक, भारत: चौखम्बा विद्या भारती ।
शर्मा, सोमनाथ, (२०५८), साहित्य प्रदीप, काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार ।
सहाय, राजवंश, (२००७ई), भारतीय काव्यशास्त्रका इतिहास, वाराणासी: चौखम्बा विद्या भवन ।