अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 07:02

नेपाली समुदायका अगुवा डा. श्रेष्ठको अन्त्येष्टि सम्पन्न

बिआरटि नेपाल संवाददाता, कोलोराडो २०७५ चैत २९ गते १८:३३ मा प्रकाशित

समाजसेवी तथा नेपाली समुदायका अगुवा डा. विष्णुबहादुर श्रेष्ठको आज डेनभर सहरमा अन्त्येष्टि सम्पन्न भएको छ ।

अन्त्येष्टिमा कोलोराडोस्थित नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, डा. श्रेष्ठका शुभचिन्तक, पारिवारिक सदस्यहरू लगायत करिब २०० जना कोलोराडोवासी नेपालीहरूको उपस्थिति रहेको थियो । बिहान एघार बजेबाट सुरु गरिएको अन्त्येष्टिमा एक मिनेट मौन धारण गर्दै फुलका गुच्छाद्वारा परिवार र सर्वसाधारणद्वारा श्रद्धान्जली व्यक्त गरिएको थियो ।

कार्यक्रममा डा. श्रेष्ठका कान्छा छोरा प्रसन्न श्रेष्ठले बुवाले हामीलाई धेरै कुरा सिकाउनु भयो, २० वर्ष सातै दिन १२ घण्टाका दरले काम गरेर हामी तिनै छोरा छोरीलाई राम्रो शिक्षा प्रदान गर्नुभएको सम्झना गरेका थिए । नातिनी सुमिला श्रेष्ठले आफ्ना हजुरबुवाप्रति अगाध आस्था, माया व्यक्त गरेकी थिइन । त्यसै गरी छोरी डा. अर्चनाले बुवाको सम्झनामा कविता वाचन गरेकी थिइन् ।

समाजसेवी डा. विजयराज शर्माले, “हामी सबै एक दिन जानू पर्छ तर कुनै व्यक्तिको बिदाइले सारै अप्ठ्यारो पार्दछ त्यो आज मलाई भएको छ, चीर शान्तिको हार्दिक कामना” भनेर मन्तव्य प्रकट गर्नु भएको थियो । 

नेपाली घरका पूर्व अध्यक्ष नारायण श्रेष्ठले “आज कोलोराडो नेपाली समाजले एक सामाजिक अभियान्ता गुमाएको छ । पार्थिव रूपमा उहाँ नरहे पनि उहाँले देखाएका सपनाहरू हामी माझ छंदैछ र त्यसलाई हामी निरन्तरता दिनेछौ । दाइको चीर शान्तिको हार्दिक कामना सहित परिवारलाई धैर्य धारणा गर्न अनुरोध गर्दछु” भन्नुभएको थियो ।

सामाजिक अभियन्ता राम प्रसाद श्रेष्ठले उहाँ सरल-शालीन तथा सज्जन व्यक्तित्व हुनुभएको र कसैप्रति पनि कुनै पूर्वाग्रह नराखेर उहाँले सबै किसिमबाट नेपाली समाजमा सहयोग गर्नु हुन्थ्यो, त्यस्ता महान् व्यक्तिलाई आज हामीले गुमाएका छौ । उहाँको चिर शान्तिको हार्दिक कामना गर्दछु” भन्नुभएको थियो । 

रक्की माउण्टेन फ्रेन्डस अफ नेपालका पूर्व अध्यक्ष नवीन दत्तले “उहाँ जहिले पनि कम्युनिटीलाई एक बनाएर लैजाने सल्लाह दिनु हुन्थ्यो । आज उहाँलाई गुमाउँदा मेरो मन साह्रै दुखेको छ” भन्नु भयो ।

यसै गरी उत्तरा श्रेष्ठले यो दिन चाडै आउला जस्तो लागेको थिएन भन्नु हुँदै कलेज जीवनदेखि नै उहाँको आदर्श, ज्ञान, विचारबाट नगिच रहेको बताउनु भयो । डा. श्रेष्ठसँग २०१७ साल देखि चिनजान रहेको र उक्त समयदेखि निरन्तर सम्बन्ध, सम्पर्क रहेको सम्झना सुनाउनु भएको थियो । त्यसै गरी बि. के श्रेष्ठले पनि डा. श्रेष्ठको बारेमा चर्चा गर्नुभएको थियो । जगत श्रेष्ठले सो अन्त्येष्टि समारोहमा डा. श्रेष्ठलाई गुमाउनु पर्दा उपस्थित सबै भावबिव्हल थिए ।

आजीवन नेपाली समुदायको हितमा लाग्नु भएका श्रेष्ठको ७९ वर्षको उमेरमा देहान्त भएको हो । नेपाली संस्कार र संस्कृतिलाई माया गर्ने उहां रक्की माउण्टेन फ्रेन्डस अफ नेपालका एक जना संस्थापक हुनुहुन्छ । सम्पूर्ण नेपाली समुदायको हितका लागि नेपाली कम्युनिटी सेन्टर स्थापना गर्ने उद्देश्य लिनु भएका उहां निस्स्वार्थ नेपाली समाजसेवी हुनुहुन्थ्यो । 

डिसेम्बर २२ सन् १९४० मा तेह्रथुममा जन्मनु भएका उहांँ फुलब्राइट स्कलरशीपमा अमेरिका आउनु भएको हो । सन् १९८२ मा युनिभर्सिटी अफ मिनेसोटाबाट पुरातत्वमा पिएचडी गरेपछि उहांँले सोही विश्वविद्यालयमा केही समय अध्यापन पनि गराउनु भएको थियो। त्यसपछि उहाँ व्यावसायिक क्षेत्रमा होमिनु भएको थियो ।

उहाँले सन् १९८६ मा कोलोराडोको डेनभरमा कन्भिनियन्स स्टोर खोलेर व्यावसायिक यात्रा सुरु गर्नु भएको थियो । पछि सोही स्टोर भएको घर किन्नु भएका उहाँले सन् २००५ मा अरोरामा अर्को कन्भिनियन्स स्टोर र ग्यास स्टेसन खोल्नु भएको थियो । सन् २००६ मा अरोरामा अर्को ग्यास स्टेसन र कन्भिनियन्स स्टोर खोल्नु भयो । 

तीन सन्तानका पिता उहाँका जेठा छोरा प्रणयले इलेक्ट्रिकल इन्जिनियरिङमा मास्टर्स डिग्री गरेका छन् । छोरी अर्चनाले मेडिकल डिग्री र अर्का छोरा प्रसन्नले केमिकल इन्जिनियरिङमा ब्याच्लर्स डिग्री गरेका छन् । नेपालमै सविता श्रेष्ठसँग वैवाहिक जीवन सुरु गर्नु भएको उहाँका बुहारी मेघ र उर्वशी तथा छोरी ज्वाइँ प्याट्रिक जस्टसका तर्फबाट मेधावी, सुमेधा, महेज्या, विष्णु, अञ्जलि जस्टस र एलियना जस्टस नाम गरेका नाति नातिनी छन् । 

उक्त अन्त्येष्टिमा नेपाली घरका अध्यक्ष लछुमन राणा, पूर्व अध्यक्ष योगराज गौतम, रक्की माउण्टेन फ्रेन्डस अफ नेपालका पूर्व अध्यक्षहरू अजय प्रधान, सुरेन्द्र श्रेष्ठ, निलम श्रेष्ठ, ब्लड डोनर्स एसोसिएसनका भूषण श्रेष्ठ, ने:वा खलका अध्यक्ष प्रेम काजी श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज निवर्तमान अध्यक्ष पदम विश्वकर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पूर्व अध्यक्ष ज्ञानेन्द्र गदाल, ग्लोबल भुटानिज कम्युनिटी कोलोराडोका अध्यक्ष सोम बराल आदिको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन जगत श्रेष्ठले गरेका थिए ।

त्यसै गरी भोलि शनिवार दिनको २:३० बजे भिलेज एक्सचेंज सेन्टर, १६०९ हवाना स्ट्रीट, अरोरा, कोलोराडो ८००१० कोलोराडोमा भएका सम्पूर्ण संस्थाहरूको संयुक्त आयोजनामा श्रद्धान्जली सभा राखिएको हुनाले कोलोराडो बासी नेपाली दाजु भाइ दिदी बहिनीहरू उक्त श्रद्धान्जली सभामा उपस्थित हुन अनुरोध छ ।

 

प्रतिक्रिया