अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०७ | Colorodo: 08:22

पोखरामा फेवा नव बर्ष महोत्सव शुरु

बिआरटीनेपाल २०७५ चैत २९ गते ९:४८ मा प्रकाशित

पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा १६ औं फेवा नव बर्ष महोत्सव शुरु भएको छ । संस्कृति, खाना र संगीतलाई केन्द्रित गरी आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो ।

नेपाली संस्कृतिको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनको उद्देश्यसहित महोत्सव संचालन गरिएको आयोजक पश्चिमाञ्चल होटल संघ पोखराले जनाएको छ । महोत्सवको उद्घाटन समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री गुरुङले पोखरालाई महोत्सव नै महोत्सवको शहर बनाउँदै बढी भन्दा बढी पर्यटक आकर्षित गर्न सकिने बताउनुभयो । प्राकृतिक र सांस्कृतिक रुपमा धनी पोखरालाई स्वर्गजस्तो शहर बनाउन आवश्यक रहेको उहाँको भनाई थियो । गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटनलाई मानेर प्रदेश सरकारले आफ्ना गतिविधिहरु अगाडि बढाइरहेको मुख्यमन्त्री गुरुङ्गले बताउनुभयो ।

गण्डकी प्रदेशका सभासद राजीव पहारीले फेवा ताल लगायतका तालको संरक्षणप्रति आफ्नो विशेष चासो रहेको स्मरण गराउँदै लेकसाइडलाई २४ घण्टा नै खुलाउने विषयमा छलफल आबश्यक रहेको बताउनुभयो । लेकसाइड मात्र नभई समग्र गण्डकी प्रदेश नै पर्यटकीय क्षेत्र भएको उहाँको भनाई थियो ।

महोत्सवमा गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता , नेपाली संस्कृतिको संरक्षण गर्दै फेवा ताल संरक्षणमा सचेतना फैलाउन पर्यटक दौड, बाल उद्यान र पप कन्सर्ट जस्ता आकर्षण समेटिएका छन् । सेफ एशोसिएशन सँग मिलेर महोत्सवमा विविध नेपाली खानाको विक्री र प्रदर्शनी पनि राखिएको छ । आयोजित महोत्सव आइतबारसम्म चल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू