अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०३ | Colorodo: 22:18

आठौं राष्ट्रिय खेलकुद शुरु

बिआरटीनेपाल २०७५ चैत २७ गते १०:०४ मा प्रकाशित

राष्ट्रिय खेलकुदको आठौँ संस्करण आजदेखि नेपालगञ्जमा शुरु भएको छ । मंसिरमा हुने प्रतियोगिको मिति विभिन्न बहानामा सार्दै आजदेखि शुरु भएको हो । आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन बैशाख ५ मात्र हुने छ । उद्घाटनअघि नै विभिन्न १४ वटा खेल सकिने छन् । प्रतियोगिताको पहिलो दिन आज दाङको घोराहीमा टेबलटेनिस, कपिलवस्तुको जितपुरमा कुस्ती, नेपालगन्जमा पुरुष हक्की, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस प्रतियोगिता शुरु भएका छन् । महिला हक्की भने नेपालगन्जको खजुरामा चैत ३० देखि मात्र सुरु हुनेछ । उद्घाटनअघि यी पाँच खेलसहित विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ ।

औपचारिक उद्घाटन र समापन नेपालगञ्ज रंगशालमा मै हुनेछ । ३५ खेल हुने प्रतियोगिता प्रदेश ५ का जिल्लामा गर्ने भनिए पनि स्थान अभावका कारण अन्य पाँच शहरमा पनि खेलाइने भएको छ । पहिलो पटक समावेश गरिएको प्याराग्लाइडिङ र ट्रायथलन कास्कीमा, गल्फ काठमाडौँ र स्क्वास ललितपुरमा हुनेछ । बाँकेमा सबैभन्दा धेरै १८ खेल हुनेछन् । यस्तै, दाङमा आठ, बर्दियामा पाँच, रुपन्देहीमा चार र कपिलवस्तुमा एक खेल सञ्चालन हुनेछन्।

सात प्रदेश, तीन विभागीय टोली र पहिलो पटक सहभागी गराइएको गैरआवासीय नेपाली संघ गरी ११ टोलीबीच प्रतियोगितामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा दुई हजार ८२५ पुरुष र दुई हजार ३८६ महिला गरी कुल पाँच हजार २११ खेलाडीले ३७२ स्वर्ण, ३७२ रजत र ५६३ वटा कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा व्यक्तिगत स्पर्धातर्फ स्वर्ण पदक विजेता खेलाडीलाई १५ हजार र सामुहिक स्पर्धातर्फ सात हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ। सातौं राष्ट्रिय खेलकुद २०७३ मा मोरङको विराटनगरमा सम्पन्न भएको थियो। जसमा कुल ९२० पदकका लागि भएको स्पर्धामा विभागीय टिम नेपाल आर्मी २६३ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको थियो। अर्का विभागीय टोली नेपाल प्रहरी र सशस्त्रले क्रमश १५६ र ११६ पदक हात पारेका थिए।

प्रतिक्रिया