अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०९ | Colorodo: 08:24

‘यात्रा स अ म्युजिकल भ्लग’ टिमले वृद्ध आश्रममा पुगेर भेटघाट

प्रदिप कार्की २०७५ चैत २४ गते ११:०८ मा प्रकाशित

आउँदो चैत्र २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘यात्रा स् अ म्युजिकल भ्लग’ टिमले प्रचार प्रसारबाट समय निकालेर सुटिङ गरिएको वृद्ध आश्रममा पुगेर भेटघाट गरेका छन् । प्रचार प्रसारको अन्तिम समयमा रहँदा पनि सुटिङ गरिएको आश्रमबाट भेटघाटका लागि निम्तो आएपछि फिल्म टिम केही उपहार लिँदै आश्रम पुगेको हो । 

लप्सीफेदीमा रहेको जेपी प्रतिष्ठान मैत्री सेवा आश्रम ज्येष्ठ नागरिक ग्राममा फिल्मको झन्डै ४ दिन छायाङ्कन गरिएको थियो । त्यहाँ झन्डै ३५ को हाराहारीमा बृद्धबृद्धा रहेका छन् । आश्रममा रहेका आमाबुबाले भेट्ने इच्छा जाहेर गरेको थाहा पाएपछि निर्माण टिमले टिभी उपहार लिएर आश्रम पुगेको थियो । अभिनेताद्वय सलिनमान बनिया , रेअर राईसँगै निर्माताहरू चिज कुमार श्रेष्ठ , सुशील पोखरेल र सर्जुमान लिगल लप्सिदेफी पुगेका हुन् । शुक्रवार त्यहाँ पुगेर निर्माण टिमले सँगै खान पनि खाएका थिए । सलिनले सुटिङपछि फेरी आउन पाउँदा खुसी लागेको बताए । ’म सुटिङको बेला पनि एक दिन बढी नै यहाँ बसेको थिए’ उनले भने ’मलाइ यहाँ बुवाआमाहरुसँग निकै रमाइलो लाग्छ ।’ तर सलिनले सुटिङको बेलामा भने आमाहरूलाई भेट्न पाएका थिएनन् । उनले कुराकानी गर्नुका साथै आफ्नो फिल्मको डायलग पनि सुनाएका थिए । सलिनसँगै रेअरले पनि सुटिङको बेलालाई सम्झिँदै फेरी आउन पाउँदा खुसी लागेको बताए ।

निर्माता पोखरेलले आश्रममा रहेका बुवाआमालाई एकछिनको खुसी पाउँदा आभारी रहेको बताए । उनीसँगै अर्का निर्माता चिजकुमारले पनि आउँदा दिनमा पनि आश्रमलाई सकेको सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । यसै गरी फिल्मका कार्यकारी निर्माता सर्जुले प्रिज्माको तर्फबाट ५३ इन्चको एलइडी टिभी गिफ्ट गर्न पाउँदा खुसी लागेको बताउनु भयो । फिल्मले पनि सामाजिक कथालाई मनोरन्जनात्मक शैलीमा प्रस्तुत गरेको छ । फिल्मनगरीले नै सम्भावना बोकेको नायक रूपमा हेरेको एक्टर सलिन फिल्ममा भ्ग्लरको भूमिकामा छन् । उनले डेब्यु फिल्म मार्फत नै आफ्नो स्टारडम बनाइसकेका छन् । 

यसमा सलिन र रेअरसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जङ्ग कुँवर, ईश्वर पौडेल, नानीकाजी डङ्गोल, राजेश बिसुराल, ईश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसमा विदेशी कलाकारहरू चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रूपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अङ्कित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा विक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

फिल्ममा कथा पनि सम्राट्कै रहेको छ भने यसलाई उनीसँगै सुरेश न्यौपाने, प्रतीक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेश नै रहेका छन् भने यसलाई सञ्जय लामाले खिचेका हुन् । फिल्ममा प्रवीण सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, बनिश शाहको सम्पादन, आशिष् पौडेलको कस्ट्युम डिजाइन, जटा शङ्कर गोसाईको आर्ट डिजाइन, निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेको छ । फिल्ममा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतीक पौडेल र कोविद बज्रको सङ्गीत रहेको छ ।