अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०३ | Colorodo: 16:18

“पोखरामा प्रमोद खरेल” सांगितिक कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ चैत २४ गते १०:०६ मा प्रकाशित

खचाखच दर्शकको माझमा लोकप्रिय गायक प्रमोद खरेल झुल्किनुभयो ‘म विना कसैकसैलाई मुश्किल छ पोखरामा ।’ दर्शकहरु उहाँको गायकीमा मज्जैसँग झुमे । २/ ४ वटा गीत गाईसकेपछि प्रमोद अलि मलिन बन्नुभयो ।

भित्ताको इलेक्ट्रिक स्क्रिनमा स्व. रवीन्द्र अधिकारीको तस्विर नाचिरहेको थियो । प्रमोदले शुरु गर्नुभयो, एकनारायण भण्डारीको गीत ‘याद गर्न पनि कोही कोही त चाहिने रहेछ ।’ अधिकारीको तस्विरसँग अपरिचित सायदै थिए होला । त्यसैले केहीबेर दर्शकको ध्यान प्रमोदको गीतभन्दा बढी रवीन्द्रको तस्विरमा खिचियो ।

जोडजोडले हुटिङ गरिरहेका दर्शकहरु पनि केहीबेर शालिन बसेर गीत एकटकले सुनिरहे । रवीन्द्र अधिकारीको अघिल्लो महिना ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर दुखद निधन भएको थियो । त्यसपछि गीतले भनेझैं रवीन्द्र अधिकारी अहिले पोखरेलीका लागि यादगार बनेर मस्तिष्कमा बाँचिरहनुभएको छ ।

बार्दली मिडिया प्रालिले आयोजना गरेको पोखरामा प्रमोद खरेल कार्यक्रममा प्रमोदले आफ्ना लोकप्रिय र चर्चित गीतहरु गाएर दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभयो । । ‘म विना कसै कसैलाई मुश्किल छ पोखरामा’ बोलको गजल गाएर चर्चामा आउनुभएका प्रमोद झापामा जन्मिएपनि पोखरा उहाँको सांगीतिक घर हो । प्रमोदलाई पोखरेली दर्शकसँग जोड्न सांगीतिक साँझ गरिएको बार्दलीका प्रबन्ध निर्देशक मन क्षेत्रीले जानकारी दिनुभयो । उक्त अवसरमा प्रमोदले २ दर्जन आफ्ना प्रस्तुतीहरु राख्नुभएको थियो ।

कार्यक्रममा प्रमोदसँगै मिना निरौलाले सांगीतिक प्रस्तुति र कलाकार मनोज गजुरेलले हास्यब्यंग्य प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया